चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले 'क्रिटिक्स फिल्म अवार्ड' वितरण गरेको छ।
शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा आयोजित समारोहबीच फिक्सनले 'क्रिटिक्स फिल्म अवार्ड' २०८१ र २०८२ संयुक्त रूपमा वितरण गरेको हो।
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए। अवार्ड वितरण गर्दै श्रेष्ठले योग्य चलचित्र, चलचित्रकर्मी र प्राविधिकहरू सम्मानित भएको बताए।
उनले हलमा सफल भएका चलचित्र मात्र उत्कृष्ट नहुने उल्लेख गर्दै प्रचारप्रसारको अभावलगायत विभिन्न कारणले केही राम्रो चलचित्रले दर्शक नपाउने अवस्था रहेको बताए। त्यसैले गुणस्तरीय सिर्जनालाई सम्मानित गर्न यस्ता अवार्डको महत्व रहेको उनको भनाइ थियो।
आफूलाई चलचित्र ‘सानो संसार’ राम्रो लागे पनि हलमा नचलेको भन्दै उनले भने, 'सबै राम्रा चलचित्र चलेका छैनन्। चलेन भनेर हरेश मान्नु पर्दैन। आज सानो संसारले क्रिटिक्स अवार्ड पायो।'
चलचित्र 'भूठान'बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले 'क्रिटिक्स फिल्म अवार्ड' विशेष महत्वको रहेको बताए।
'फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुनेथियो। यसरी बनाएको भए राम्रो हुनेथियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला,' हरिवंशले भने, 'मलाई आज यस्तो लागिरहेको छ कि, श्रीमतीले अवार्ड दिएको हो जस्तो लागिरहेको छ। किनकी श्रीमतीलाई चित्त बुझाउन गाह्रो हुन्छ। उहाँहरू (समीक्षक)लाई चित्त बुझाउन पनि गाह्रो छ। उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो। यो गरिमामय अवार्ड हो भन्ने लाग्छ।'
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले चलचित्रलाई अब सरकारले नजरअन्दाज गर्न नसक्ने बताए। सरकारका हरेक अंगले अब चलचित्रलाई सँगसँगै अगाडि बढाउने उनको भनाइ छ।
चलचित्रसँग देशको पर्यटन र अर्थतन्त्र नै कायापलट गर्ने क्षमता हुने भन्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय सुटिङको हब बनाउन सकिने बताए। पर्यटन बोर्डले पनि अब चलचित्रलाई भनेर छुट्टै बजेट छुट्याए अघि बढ्ने उनले प्रस्ट पारे।
फिक्सनका अध्यक्ष सामीप्यराज तिमल्सेनाले राम्रो चलचित्रले उद्योगलाई अगाडि बढाउने तर राम्रो समीक्षा संस्कृतिले त्यो यात्रालाई सही दिशातर्फ डोर्याउने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले समीक्षा र चलचित्रबीच 'लभ एन्ड हेट'को सम्बन्ध रहने गरेको बताए।
नेपालमा समीक्षा र चलचित्रकर्मीबीचको सम्बन्ध थोरबहुत तिक्ततापूर्ण रहेको उनको भनाइ छ। चलचित्रको समीक्षा गर्नु त्यसको व्यावसायिकताको सम्भावनालाई खुम्च्याउनु नरहेको उनले प्रस्ट पारे।
'समीक्षक व्यावसायिक चलचित्रको दुश्मन हुन् भन्ने भावना व्यप्त छ। तर, हामी विश्वास गर्छौं- समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो,' उनले अगाडि थपे, 'स्वस्थ समीक्षा कुनै सिर्जनामाथिको आक्रमण होइन, त्यो अझ उत्कृष्ट सिर्जनातर्फ डोर्याउने एउटा इमानदार संवाद हो।'
नेपाली चलचित्रलाई अझ सशक्त, विश्वसनीय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सर्जक र समीक्षक दुवैको भूमिका उतिकै महत्वपूर्ण हुने उनको धारणा छ।
यी हुन् 'क्रिटिक्स फिल्म अवार्ड २०८१' का विजेताहरूः–
१. उत्कृष्ट फिल्मः शाम्बाला
२. उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)
३. उत्कृष्ट अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो)
४. उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला)
५. उत्कृष्ट पटकथा÷लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
६. उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा)
७. उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
८. उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो)
९. स्पेसल मेन्सन (अभिनय)ः सुपला सापकोटा (बोक्सीको घर)
१०. स्पेसल मेन्सन (कला निर्देशन)ः रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
यी हुन् 'क्रिटिक्स फिल्म अवार्ड २०८२'का विजेताहरू :-
१. उत्कृष्ट फिल्मः ऊनको स्वीटर
२. उत्कृष्ट निर्देशकः नवीन चौहान ( ऊनको स्वीटर)
३. उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान)
४. उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती)
५. उत्कृष्ट पटकथाः नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)
६. उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान)
७. उत्कृष्ट सम्पादनः अञ्जय खड्का (भूठान)
८. उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)





