वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले व्यावसायिक रूपमा सफल भएका चलचित्र मात्र उत्कृष्ट नहुने बताएका छन्।
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)द्वारा शनिबार आयोजित 'क्रिटिक्स फिल्म अवार्ड' समारोहमा बोल्दै उनले प्रचारप्रसारको अभावलगायत विभिन्न कारणले कतिपय गुणस्तरीय चलचित्रले हलमा अपेक्षित दर्शक नपाउने अवस्था रहेको उल्लेख बताए।
उनले राम्रो चलचित्रले व्यावसायिक सफलता नपाउँदैमा त्यसको मूल्य कम नहुने भन्दै यस्ता सिर्जनालाई अवार्डमार्फत सम्मान गरिनु सकारात्मक भएको बताए।
आफूलाई 'सानो संसार' चलचित्र राम्रो लागे पनि हलमा अपेक्षित रूपमा चल्न नसकेको स्मरण गर्दै मदनकृष्णले भने, 'सबै राम्रा चलचित्र चलेका छैनन्। चलेन भनेर हरेस खानु पर्दैन। आज ‘सानो संसार’ले क्रिटिक्स अवार्ड पायो।'
उनले योग्य चलचित्र, कलाकार र प्राविधिकलाई सम्मान गर्ने यस्ता अवार्डले नेपाली चलचित्र उद्योगलाई थप गुणस्तरीय सिर्जनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
फिक्सनले शनिबार एकसाथ दुई वर्षको अवार्ड वितरण गरेको छ।