चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'लालीबजार' ले सिनेपाः बक्स अफिसमा ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको छ।
वैशाख २५ गते रिलिज फिल्मको उक्त कमाइ हुँदा ३ लाख १५ हजार ७२४ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, 'रोल नं. १' ले १ करोड ५५ लाख ४६ हजार ६६८ रूपैयाँ ग्रस कमाएको छ। यसको ५७ हजार १३२ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ। 'रोल नं. १' जेठ १५ गते रिलिज भएको थियो।
त्यस्तै, जेठ १५ मा रिलिज अर्को फिल्म 'कुम्भ' ले ४ लाख २५ हजार ८८५ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको १ हजार ८१५ वटा टिकट बिक्री भएका छन्।
गत शुक्रबार रिलिज 'आई एम जितबहादुर' को बक्स अफिस विवरण भने आगामी सोमबार सार्वजनिक हुनेछ।