विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली फिल्म 'एलिफेन्टस् इन द फग' अब स्वदेशी दर्शकमाझ आउने भएको छ।
नेपालीमा 'तिनीहरू' नाम रहेको फिल्म आगामी भदौ १९ (४ सेप्टेम्बर) देखि नेपालभर सार्वजनिक प्रदर्शनमा आउने भएको हो। बुधबार काठमाडौंमा आयोजित सेलिब्रेसन कार्यक्रममा निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
अविनाश विक्रम शाहको निर्देशनमा बनेको यो फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको थियो। यो कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा विश्व प्रिमियर भएको थियो। फिल्मले उक्त विधाअन्तर्गत जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहास रचेको थियो।
फिल्मको निर्माणमा नेपालसहित फ्रान्स, जर्मनीलगायत देशका निर्माण कम्पनीहरूले सहकार्य गरेका छन्।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरूङ, दुरा सञ्जय गुप्ता, अलिज घिमिरे, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ।

फिल्मको कथा तराईको जंगल आसपास बसोबास गर्ने किन्नर समुदायको जीवनमा आधारित छ।
फिल्मले लैंगिक तथा सामाजिक रूपमा सीमान्तकृत समुदायका जीवन, पहिचान, प्रेम, अस्तित्व र संघर्षका विविध पाटाहरूलाई प्रस्तुत गरेको बताइएको छ।