गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'लालीबजार'ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउने भएको छ।
५१ दिन सफलतापूर्वक प्रदर्शन भएको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत विभिन्न हलहरूमा पुग्ने भएका छन्।
यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये 'लालीबजार' व्यावसायिक रूपमा सर्वाधिक सफल फिल्म हो। घरेलु बक्स अफिसमा फिल्मले ९ करोड २८ लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ।
षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन यम थापाले गरेका हुन्। यसअघि षट्कोण आर्टस्ले 'टलकजंग भर्सेस टुल्के', 'जात्रा', 'जात्रै जात्रा', 'महापुरूष' र 'महाजात्रा'जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।
'लालीबजार' मा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारहरूको अभिनय छ।
फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।