हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'आई एम जितबहादुर' को कमाइ कमजोर देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार फिल्मको कमाइ कमजोर देखिएको हो।
विवरणअनुसार असार ५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० दिनमा सिनेपा बक्सअफिसमा ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कमाइ गरेको छ। असार १४ गतेसम्म उक्त कमाइ गर्दा फिल्मको ९ हजार ६२६ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
'आई एम जितबहादुर'मा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाललगायत कलाकारहरूको अभिनय छ।
फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँकै सानो नाट्य मञ्चमा साथीहरूसँग अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिने उसका लागि अभिनय केवल रूचि मात्र नभई जीवनकै सबैभन्दा ठूलो सपना बनेको हुन्छ। त्यही सपना पूरा गर्न उसले गर्ने संघर्ष र जीवनमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।
ड्रामा विधामा निर्माण भएको यस फिल्मको निर्देशन सुभेन्दु घोषले गरेका हुन्।
फिल्मका निर्माता जितु नेपाल हुन् भने सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन्। कार्यकारी निर्माताका रूपमा निश्चल कुँवर र निरज नेपालले काम गरेका छन्।
फिल्मको व्यापार कमजोर देखिएसँगै दोस्रो सातामा आइपुग्दा यसको शोमा भारी गिरावट देखिएको छ।