प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म 'कंगाल करोडपति'को प्रमुख भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्।
फिल्ममा अनुबन्धित भएपछि मुकुनले पटकथा र आफ्नो पात्र रोचक लागेकाले आफू ‘कंगाल करोडपति’ मा जोडिएको बताए।
'धेरै स्क्रिप्टहरू आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्यो,' उनले भने।
अभिनेता मुकुन अभिनित फिल्म 'रोल नम्बर १' हाल सिनेमाघरमा प्रदर्शनरत छ।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको 'कंगाल करोडपति'का निर्माता अनिलकुमार बुढाथोकी हुन्।
सह-निर्मातामा छिरिङ तामाङ रहेका छन् भने संगीता शर्मा कार्यकारी निर्माता तथा रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ। फिल्मका लेखक सुमन गजमेर हुन्। निर्माण टिमले पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।
निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा भएपछि कार्यशाला सञ्चालन गरी फिल्मको छायांकन सुरू गरिनेछ।
