व्यावसायिक सफल फिल्म 'खुस्मा' का निर्देशक अशोक थापा मगरको आगामी फिल्म 'जलाकी' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण टिमले दुई फरक भाव बोकेका पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको छ।
'जलाकी' मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीकका रूपमा चिनिने ढुंगाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार फिल्मले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरूङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सोनाम र उपासनासँगै शिल्पा मास्के, माओत्से गुरूङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरूङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिनेछन्।
यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
निर्माताका रूपमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टका गीत रहेका छन्। गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरले स्वर दिएका छन्।
निर्देशक अशोक थापा मगरको पहिलो फिल्म 'खुस्मा' व्यावसायिक रूपमा सफल हुनुका साथै त्यसमा समावेश 'रुकुम मैकोट' गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा अत्यन्त लोकप्रिय बनेको थियो। सोही सफलताको निरन्तरतास्वरूप उनले ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
'जलाकी' गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।
