निर्देशक सौरभ चौधरीको नयाँ फिल्म 'द राइज अफ साम्राज्य' मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
'अगस्त्यः च्याप्टर १' पछि सौरभ र सौगात दोस्रो पटक सहकार्य गर्न लागेका हुन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको केही दिनअघि थिम पोस्टरमार्फत औपचारिक घोषणा गरिएको थियो।
निर्देशक चौधरीका अनुसार सौगातलाई कथाको आवश्यकता अनुरूप अनुबन्ध गरिएको हो। उनले भने, 'हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौं। उहाँजस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो। अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौं।'
फिल्ममा सौगात २५ वर्षको युवकदेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रा चित्रण गर्ने चुनौतीपूर्ण भूमिकामा देखिनेछन्। निर्देशकका अनुसार यो पात्र उनका लागि अभिनयका दृष्टिले विशेष महत्वको हुनेछ।
फिल्मको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। सार्वजनिक थिम पोस्टरले फिल्म ऐतिहासिक परिवेशमा आधारित एपिक एक्सन ड्रामा हुने संकेत दिएको छ।
निर्देशक चौधरीले यसपटक अघिल्ला कामभन्दा ठूलो क्यानभासमा फिल्म निर्माण गर्ने तयारी गरेका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने दाबी समेत गरेको छ।
छायांकन आगामी भदौको पहिलो सातादेखि सुरू हुनेछ। ७० दिनको तालिका तय गरिएको छ, जसको अधिकांश भाग पूर्वी नेपालमा खिचिनेछ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।
मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डीसीएन वितरक रहेको निर्माण टिमले जनाएको छ।