चलचित्र विकास बोर्डले नेपालको पहिलो नेपाली फिल्म 'आमा'का चार कलाकारहरूको उपस्थितिमा 'ओल्ड इज गोल्ड' कार्यक्रम सुरू गरेको छ।
शुक्रबार 'आमा'का कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा विकास बोर्डमा कार्यक्रम सुरू गरिएको हो।
कलाकारहरूलाई हरिवंश आचार्य र बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले माला लगाएर स्वागत गरेका थिए। त्यसपछि चारै कलाकारहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमको सहजीकरण बोर्ड अध्यक्ष दिनेश डीसीले गरेका थिए। चलचित्र प्रदर्शनअघि उनले कलाकारहरूसँग 'आमा' निर्माण र प्रदर्शनताकाका अनुभव तथा नेपाली फिल्मको प्रारम्भिक यात्राबारे संवाद गरेका थिए।
कलाकारहरूले फिल्म निर्माण प्रक्रिया, त्यस समयको फिल्म वातावरण र आफ्ना स्मरणहरू दर्शकमाझ सुनाए। त्यसपछि उनीहरूको उपस्थितिमै 'आमा' फिल्म प्रदर्शन गरिएको थियो।
दशकौंअघि आफूहरूले अभिनय गरेको फिल्म पुनः ठूलो पर्दामा हेर्न कलाकारहरू उपस्थित हुँदा कार्यक्रम भावुक बनेको थियो। कार्यक्रममा नयाँ पुस्तासहित ठूलो संख्यामा दर्शक सहभागी भएका थिए। हलका सिट भरिएपछि केही दर्शकले उभिएरै फिल्म हेरेका थिए।
कार्यक्रममा अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली फिल्मको विशेष प्रदर्शन गरिने घोषणा गरे। उनका अनुसार विशेष प्रदर्शनबाट संकलन हुने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ।
बोर्डले पुराना तथा ऐतिहासिक नेपाली फिल्मलाई नयाँ पुस्तासम्म पुर्याउने, तिनमा योगदान दिएका कलाकार तथा प्राविधिकको सम्मान गर्ने र नेपाली फिल्म इतिहासको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित 'ओल्ड इज गोल्ड'लाई नियमित कार्यक्रमका रूपमा अगाडि बढाउने जनाएको छ।
साउन २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली फिल्मको इतिहासमा महत्वपूर्ण स्थान बनाएका १० फिल्म निःशुल्क देखाइने बोर्डले जनाएको छ। 'आमा'सँगै 'सिन्दुर' र 'परिवर्तन', 'मनको बाँध', 'के घर के डेरा', 'कुमारी', 'शान्तिदीप', 'हिजो आज भोलि', 'बदलिँदो आकाश' र 'जीवनरेखा' को विशेष प्रदर्शनी हुनेछ।


