ब्लकबस्टर फिल्म 'परान'का निर्देशक दीपकप्रसाद आचार्य (काकु)को आगामी फिल्म 'चिरञ्जीवी भवः'को छायांकन सकिएको छ।
जेठ १५ गतेदेखि सुरू भएको छायांकन ५१ दिनमा सकिएको हो।
'परान' गतवर्षको सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको थियो। त्यसैले निर्देशक आचार्यको दोस्रो निर्देशन 'चिरञ्जीवी भवः' प्रति विशेष चासो र अपेक्षा देखिन्छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको हो।
'हामीले मन खोलेर समय लगाएर फिल्मको छायांकन गरेका छौं। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौं,' निर्देशक आचार्यले भने, 'कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने फिल्म लिएर आउनेछौं।'
यो फिल्ममा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। साथै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमनज्योति न्यौपानेलगायत कलाकारहरूको पनि अभिनय छ।
कुमार कट्टेलले (जिग्री)को कथा रहेको फिल्ममा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन छ।
सोसल ड्रामा 'चिरञ्जीवी भवः'ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको बताइएको छ।
उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरूङको सम्पादन छ।
'चिरञ्जीवी भवः' आगामी माघ १ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ। यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।