फिल्म '१२ गाउँ २'को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले बुधबार फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर दर्शकमाझ ल्याएको हो।
टिजरमा विराज भट्ट र समीर भट्टलाई शक्तिशाली पात्रका रूपमा प्रस्तुत गरिएको छ। बन्दुक, गोली, भिडन्त र मारधाडका दृश्यले भरिएको टिजरले फिल्म एक्सनप्रधान रहेको स्पष्ट पार्छ।
भ्वाइसओभरसँगै सुरू हुने टिजरमा भ्वाइसओभरकै माध्यमबाट फिल्मका दुई प्रमुख पात्र (विराज र समीर) लाई चिनाइएको छ। टिजरले उनीहरूबीचको द्वन्द्वतर्फ समेत संकेत गर्छ।
टिजरमा विराज र समीर दुवै एक्सन अवतारमा देखिन्छन्। तीव्र भिडन्त र एक्सन दृश्यबीच दुई पात्रबीचको सम्बन्ध तथा संघर्षको कारणबारे भने टिजरले धेरै कुरा खुलाएको छैन।
बरू अन्तिमको भ्वाइसओभरले थप जिज्ञासा पैदा गर्छ। भ्वाइसओभरमा भनिन्छ, 'जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ।' यही भ्वाइसओभरसँगै टिजर सकिन्छ।
विराज भट्ट निर्देशित '१२ गाउँ २'मा विराज र समीरसँगै अनुपविक्रम शाही, खुशी कार्की, कृशु शाही (काफिया), वर्षा इटानी, सुनिल पोखरेल, प्रकाश शाह, कालु राना, सुधीर श्रेष्ठ, पुष्कर भट्टलगायत कलाकारको अभिनय छ।
विराज भट्ट प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा सरस्वती भट्ट तथा लेखक सन्तोष सरकार हुन्। डीओपी महेश पौडेल तथा सिनेमाटोग्राफर राम केसी र राजु लामा छन्। एक्सन स्टन्ट शिल्भा र शंकर महर्जनको रहेको फिल्मको सम्पादन बन्दे प्रसादले गरेका हुन्।
'१२ गाउँ २' असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ।