समाजले तिनीहरूको जीवन र पहिचानलाई कुहिरोभित्र देखिने मधुरो दृश्यजस्तै बनाएको हो भने बाँकीलाई कुहिरो नलागेको, उज्यालो प्रकाशले चम्किलो बनाएको छ। यही भावलाई 'तिनीहरू' अर्थात् 'एलिफेन्ट्स इन द फग' सिनेमाले समग्र र शक्तिशाली विम्बका रूपमा व्यक्त गर्छ।
यो सिनेमा समाजमा चम्किलो पहिचान भएकाहरूविरूद्ध मधुरो पहिचानका ट्रान्सजेन्डरहरूको अस्तित्वको लडाइँ हो। अर्को अर्थमा, यो समाजभित्रको विभेद, तिरस्कार र अस्वीकारको रेखाले छुट्याएर बनाएको अल्पसंख्यक र बहुसंख्यकबीच हुने सामाजिक-सांस्कृतिक व्यवहारको कथा पनि हो। त्यसैले 'एलिफेन्ट्स इन द फग' सामाजिक वर्गीकरणको एउटा उदाहरण मात्र नभएर उज्यालो र चम्किलो दाबी गर्नेहरूले निर्माण गरेको समाजको वास्तविक ऐना हो।
किनारामा पारिएका किन्नरहरूको उनै बहुमतवाला 'चम्किलो'हरूसँग– जो सामाजिक राजनीतिदेखि राज्यसत्तासम्म हालीमुहाली गर्छन्, उनीहरूसँग हुने भद्र तर शान्त विद्रोह सिनेमाको खास प्रस्तुति हो। साथै, आफ्नै अस्तित्व र चाहनाको उकुसमुकुस पनि।
जब समाज र राज्यले कुनै वर्ग वा समुदायको अस्तित्वप्रति उपेक्षाको भावना राख्छ, उनीहरू पहिचान जोगाउन वैकल्पिक सहाराको खोजीमा पुग्छन्। त्यसैको परिणतिका रूपमा 'तिनीहरू'ले हात्तीलाई आफ्नो बाँच्ने सहाराको एक सशक्त माध्यम बनाउँछन्, मेटाफोरिक रूपमा।
प्रचुर मात्रामा मेटाफोरको प्रयोग गरी तिनै ट्रान्सजेन्डरहरूको सामाजिक जीवन-दर्शनमा कलात्मक रंग भरेर 'एलिफेन्ट्स इन द फग'का खास चरित्रहरूलाई एकआपसमा बुनेका छन् उम्दा तर उदाउँदा लेखक तथा निर्देशक अविनाशविक्रम शाहले।
उनको शक्तिशाली सिनेमा चेतले आज हाम्रो समाजभित्रका विविध (अ)सामाजिक पाटामध्येको एक बाक्लो कुहिरोभित्रको ट्रान्स समुदायको सामाजिक परिदृश्यलाई कथा र पात्रहरूको जीवन्त अभिनयको सहारामा बाँकी दुनियाँलाई छर्लंग देखिने बनाइदिएको छ।
उज्यालो प्रकाश राम्ररी छिर्न नसकेको त्यही कुहिरोभित्र भेटिन्छन् पिरती, अप्सरा, जून, गुरूमाता, एम्जेजस्ता पात्रहरू, जसले तेस्रोलिंगी अर्थात् किन्नर समुदायको सभ्यतालाई जीवन्त स्वरूपमा 'एलिफेन्ट्स इन द फग'मा उभ्याएका छन्।
यहाँ बुझ्नुपर्ने के हो भने निर्देशक शाहका लागि ‘तिनीहरू’ कुहिरोभित्रको काग नभई हात्तीको अर्थमा उभ्याइएका हाम्रै छिमेकी अनि आफन्तहरू हुन्, जसले दृष्टिविहिन मानिसहरूले हात्तीलाई छामेको कथासँग आफूलाई नजिक राख्छन्।
सीमित सामाजिक घेराभित्र बाँच्न बाध्य पारिएका तेस्रो लिंगीहरूको सशक्तता उनीहरूको संगठित स्वरूप, बोली, व्यवहार, हाउभाउ, भाषा, संस्कार अनि संस्कृतिमा देखिन्छ। यिनै तत्वलाई यथार्थपरक रूपमा जसरी पिरती, गुरूमाता र अप्सराहरूले उभ्याएका छन्, जोकोही दर्शक सिनेमाका पात्रहरूसँगै भएको पत्तै पाउँदैनन्। यस्तो खुबी नेपाली सिनेमा जगत्ले मुश्किलै फेला पार्छ। यो दुर्लभ खुबीको श्रेय यसपटक निर्देशक शाहले पाएका छन्।
जब मानिस शक्तिहीन हुन्छ, दैवी शक्ति अरूबाट प्राप्त गर्न पाए हुन्थ्यो भन्ने मनोदशाबाट गुज्रन्छ। यही मान्यताका आधारमा पिरतीहरूले हात्तीलाई आफ्नो आत्मा सुम्पिएर हात्तीको ताकतलाई मेटाफोरका रूपमा उपयोग गर्दै शक्तिशालीहरूको सामाजिक वर्चस्वविरूद्ध शान्त रूपमा भिड्न तयार हुन्छन्। आखिर हात्तीको शक्तिशाली ताकतदेखि सबैलाई डर लाग्ने नै भयो। त्यसैले उपायविहीन भएर नै हात्तीको ताकतको सहारामा तिनीहरू आफूलाई सम्हाल्न पुग्छन्।
यो उपायमार्फत ट्रान्सहरूले आफ्नो पहिचान र अस्तित्वलाई लड्खडाउँदै भए पनि उभ्याउन सक्षम हुने दृश्यले समाजका सबै मानिसले सबै मानिसलाई मानवता देखाउँदैनन् भन्ने एउटा अपूर्ण समाजको सबुत पनि हो 'एलिफेन्ट्स इन द फग'।
सिनेमाले ट्रान्स पात्रहरूमार्फत मातृत्व र नेतृत्व (संरक्षकसहित) को परिभाषालाई पनि व्यापक बनाएको छ। असल मातृत्व र संरक्षकको खोजीमा पिरतीकी छोरी हुन आइपुगेकी अप्सराले सिनेमाको मुख्य अंशलाई डोर्याएकी छ।
अप्सरा एक समयकी विशाल हुन्छे तर परिवारबाट अल्पमतको माया-ममताको अभाव भोगेर नै पिरतीको छातीमा टाँसिन आइपुग्छे। जसरी अप्सराप्रति पिरतीको अगाध मातृत्व र खुला प्रेम देखिन्छ, त्यस्तो विशालको घर–परिवारमा भेटिँदैन। विशाल अप्सरामा रूपान्तरण भएपछि मात्र आफ्नो अनुकूलको पारिवारिक अनि सामाजिक अस्तित्व भेट्टाउँछे। यो विशालका लागि विशाल भएरै बाँच्न कठिन हुने सामाजिक-सांस्कृतिक सन्देश हो।
खासगरी यसले घरायसी र वरपरको समाजमा ट्रान्सजेन्डरहरूका लागि आफूअनुकूलको वातावरणको अभाव र खाँचोलाई स्पष्टसँग औंल्याएको छ।
यहाँनेर पिरतीसँग अन्य दुई आश्रित छोरीहरू पनि हुन्छन्। तर उनीहरू परिपक्व लाग्छन् भने अप्सरा आफ्नो फक्रँदो यौवनावस्थाका कारण असन्तुलित, अस्थिर, जिद्दी र घुर्की लगाउने स्वभावकी देखिन्छे।
किन्नरभन्दा बाहिरका आम टिनएजरहरूमा पनि यस्तो स्वभाव हुन्छ, तर हरसम्भव दबाउने गरिन्छ। अप्सराले आफूलाई त्यस मामिलामा खुला र स्वतन्त्र राख्छे। तर हाम्रा ‘प्रस्ट उज्यालो पट्टी’का विशाल अनि अप्सराहरूले घर-समाजको कथित संस्कारका कारण त्यो आँट गर्न सक्दैनन्।
अप्सराको भूमिकाले उनीजस्ता ट्रान्सजेन्डरहरूलाई खुला आकाशमुनि स्वतन्त्र बाँच्ने अधिकार दिइनुपर्छ भन्ने सन्देश दिएको छ। पिरतीका तीनवटै छोरीले जैविकीय र शारीरिक फरकपनका कारण मातृत्वमय अभावको भोगाइ बोकेका हुन्छन्। ट्रान्सहरूमा जब भावनात्मक रिक्तताको सुरूआत हुन्छ, त्यही चरणबाट आफ्नो स्वतन्त्र अस्तित्वको उपयोग गर्नबाट वञ्चित हुँदै आफ्नै घर-परिवारको चौघेराभित्र बहिष्करणको ठक्कर व्यहोर्न पुग्छन्। अन्ततः पिरतीहरूको खोजीमा आफ्नो बासस्थानबाट अपहेलित हुँदै बाहिरिनुपर्छ।
खासमा आम ट्रान्सहरूको लागि परिवार, समाज र राज्यको जैविक मापदण्डमा अनुत्तीर्ण भएरै अपहेलना भोग्नुपर्ने अवस्था स्वाभाविक व्यवहारजस्तो भइदिएको छ। त्यसैले मातृत्व केवल जन्माउने सन्तानसँग मात्र सीमित हुन्छ भन्ने मान्यता तिनीहरूले भत्काउँदै वैकल्पिक रूपमा पनि मातृत्व प्रदान गर्न र प्राप्त गर्न सकिने स्थापित तर समर्पित व्यवहार हो भनेर सिनेमाले देखाएको छ। ट्रान्सजेन्डर समुदायमा देखिने यस्तो समर्पित व्यवहार अनुकरणीय लाग्छ।
'तिनीहरू'को संगठन र नेतृत्व सिनेमाका महत्वपूर्ण पाटामध्ये एक हो। सिनेमाले ट्रान्सजेन्डरहरू अल्पमतमा हुनु भनेकै उनीहरूमा संगठित हुने संस्कार हुनु हो भन्ने देखाएको छ। सायद ठोरीका किन्नर समुदायका लागि आफ्नो अस्तित्व रक्षाका निम्ति एकअर्कामा निर्भर हुनु अनिवार्य देखिन्छ। आफ्नो पहिचानको सामाजिक वैधताका लागि गर्नुपर्ने संघर्षदेखि समुदायमा विचलन आउन नदिन पनि संगठित हुनु अनिवार्य सर्त भएको सिनेमाले बताउँछ, जुन स्वाभाविक लाग्छ।
आफ्नो समुदायको संगठन र संगठित व्यवहारका लागि गुरूमाताको भूमिकामा उमेशा पाण्डेको नेतृत्व उत्कृष्ट र लोभलाग्दो छ। गुरूमाता व्यक्ति मात्र नभएर ‘तिनीहरू’को संवैधानिक सर्वोच्च पदजस्तो देखिन्छ। गुरूमाताको निर्णय र निर्देशन ‘तिनीहरू’का लागि सर्वोपरि हुनेगर्छ। आफू सक्रिय हुँदाहुँदै आफ्नो लिगेसीको उत्तराधिकारी चयन भइसकेको दृश्यले उज्यालो दाबी गर्नेहरूले हाँकेको सत्ता-राजनीतिका खेलाडीहरूलाई गिज्याइरहेको अनुभूति हुन्छ।
जसरी सर्वोच्च पदका लागि होडबाजी, भ्रष्टमति, लालच र तिकडमबाजी हाबी हुने गर्छ, यता 'तिनीहरू'का लागि त्यस्ता व्यवहार वर्जित छन्। यो खासमा उनीहरूको सांगठनिक संस्कृतिले निर्माण गरेको सकारात्मक सामाजिक व्यवहार हो भन्न सकिन्छ। कतिसम्म भने आफ्ना चाहना र स्वतन्त्रताको त्याग, जसमा ब्रह्मचर्यको शर्त हुन्छ, यसले सत्ता-राजनीतिका खेलाडीहरूलाई पद र त्यागको ब्रह्मचर्य बन्न सक्छौ भनेर प्रश्न पनि तेर्स्याएको छ।
तर यहाँनेर पिरतीलाई विचलनको भावले सताइरहन्छ। एकातिर समुदायको सत्ता सम्हाल्न ब्रह्मचर्यको शपथ भइसकेको हुन्छ भने अर्कातिर आफ्नै स्वतन्त्रताको भरपूर उपयोग गर्ने चाहना पनि। यसखाले दोधारमा पिरतीको पीडा जति देखिन्छ, उत्तिकै उनी शालीन र परिवारमा व्यवस्थित पनि लाग्छिन्। दर्शकलाई भने कुन बाटो रोज्लिन् अथवा कसरी आफूलाई सम्हाल्छिन् भन्ने उकुसमुकुसका बीच त्यो भत्किन पुग्छ। त्यसपछि पनि आगामी सत्तासँग र त्यागले निम्त्याएको ब्रह्मचर्यसँग बिना कुनै गुनासो वा असन्तुष्टि निस्वार्थ भावले आफ्नो जिम्मेवारी सम्हालेरै अगाडि बढ्छिन्।
यहाँनेर खास बुझ्नुपर्ने के छ भने 'तिनीहरू'का चाहनालाई पनि आधारभूत अधिकारको क्षेत्रभित्रै समेटेर आफ्नो सत्ताले वैधता दिनुपर्छ भन्ने पिरतीको जिकिर हुनसक्छ। किनकि यो मानव निर्मित ब्रह्मचर्यसँग जोडिनुभन्दा अधिक प्राकृतिक हितसँग जोडिएको मानवीय विधि-पद्धति हो। त्यसैले पिरतीले आफ्ना आवश्यकता र चाहनाहरूलाई गोप्य राख्न पनि सक्दिनन्।
अर्कोतिर, पिरती आफ्नी छोरी अप्सरा हराउँदा खोजीदिन आग्रह गर्दा पनि न त छरछिमेकी, न त समाज कब्जा गरेका ठेकेदारहरू नै राजी हुन्छन्। कतिसम्म भने खोजीका लागि न्याय माग्न जाँदा प्रहरी प्रशासनबाट भोग्नुपरेको असहयोग र उल्टै महिला प्रहरीको समस्या समाधानमा उपयोग हुनुपरेको दृश्यले 'तिनीहरू'प्रति न्यूनतम सामाजिक अनि न्यायिक जिम्मेवारीसमेत नभएको स्पष्ट देखाउँछ।
यो हाम्रो जिम्मेवार संरचनामा चलिरहने लालची र भ्रष्टमतिको व्यवहारको प्रदर्शन हो। मूलप्रवाहीहरूको मूल समस्या नै यही हो, जुन एक्काइसौं शताब्दीमा तपाईं-हामी बाँचेको विद्यमान समाजका किनारकृत अथवा अल्पसंख्यकमाथि हुने यस किसिमको तीतो यथार्थलाई सिनेमाले थप स्पष्टसँग बुझाइदिएको छ।
सायद आफ्नो अधिकार र समस्याका निम्ति ‘तिनीहरू’ एक्लै लडिरहनुपर्छ भन्ने स्थापित सामाजिक मान्यताले नै उनीहरू अल्पसंख्यकको दर्जामा पुग्ने आधार बनेको हुनुपर्छ। त्यसैले पिरती पनि छोरीको खोजीमा एक्ली हुन पुग्छिन्। यस्तो अवस्था ट्रान्सहरूले जीवनमा गहिरोसँग आत्मसात् गरिरहनुपर्ने वास्तविकता हो। त्यसैले हार नमानी पिरतीले एम्जेदेखि गुरूङ दाइहरूसँग एक्लै लड्नु भनेकै समाजभित्रको कानुन, प्रशासन र सत्तासँगको शान्त विद्रोह हो।
सिनेमामा ट्रान्स पात्रहरूको अभिनयको तारिफ जति गरे पनि कमी हुन्छ। पिरती मात्र होइन, पिरतीको संरक्षणमा हुर्काएका अप्सरासहितका छोरीहरू हुन् अथवा गुरूमाता, सबैले उनीहरूले बाँचेको जीवनलाई जस्ताको तस्तै पर्दामा हाम्रा सामु देखाएका छन्। त्यसैले 'एलिफेन्ट्स इन द फग' समग्रमा ट्रान्सहरूको 'वे अफ लाइफ' पनि त हो।
पिरती बनेकी पुष्पा लामाले सिनेमामा पात्र भएर अभिनय त गरिन्, तर हामी दर्शकका लागि त्यो उनले बाँचेको वास्तविक जीवन हेर्ने अवसर पनि बनेको छ। जे छ, त्यही यथार्थपरक जीवनजस्तो। हरेक क्रियाकलाप अथवा व्यवहारमा उनले हिँडेको अनि बोलेको जसरी देखिन्छ, सुनिन्छ, त्यो अभिनयजस्तो लाग्दैन। कसैले होच्याएर बोलेमा अथवा गाली गरेमा आफ्नो भावभंगीमार्फत असन्तुष्टिको प्रत्युत्तर दिन्छिन्। त्यो आम ट्रान्सहरूको साझा व्यवहार पनि हो।
यस्तोमा अरू गाउँले जस्तो चर्को बोलीले शक्ति प्रदर्शन पनि गर्दैनन्। आफ्नो सामाजिक थलोमा छिमेकीहरूले आगो लगाइदिँदा जंगलको किनारबाटै हात्तीलाई साक्षी राखेर तिखो आवाजको विद्रोही तालीमार्फत भद्र रोष तथा असहमति प्रकट गर्छन्। विद्रोही चेत भए पनि उक्त चेतभित्र ‘तिनीहरू’ले कोमलताको व्यवहार देखाउँछन्। तिनको हत्केलाबाट निस्कने त्यो तालीको आवाज नभएर विद्रोही चेतको सुन्दर आवाजमार्फत आफ्ना असहमतिहरू प्रदर्शन गर्छन्।
आखिर मानिस आफ्नो तिरस्कारमा पनि आफूलाई स्व–नियन्त्रणमा राख्दै प्रतिहिंसालाई अस्वीकार गरेर समाजमा समायोजित हुनुपर्छ भनेर सिनेमामार्फत ट्रान्सहरूले उज्यालोले उजिल्याएका अराजकहरूलाई गतिलो शिक्षा दिएका छन्। सिनेमामा ध्वनि र आवाजबीचको संयोजन अर्को अब्बल पक्ष बन्न पुगेको छ। अझ नेपाली सिनेमामा ध्वनि कस्तो हुनुपर्छ भनेर जान्नका लागि 'एलिफेन्ट्स इन द फग'भन्दा अरू बिरलै होलान्।
मूलप्रवाही समाजसँग ट्रान्सहरूको कमजोर स्थितिको व्यावहारिक अनि सामाजिक नाता त हुन्छ, तर 'तिनीहरू'को सामाजिक महत्व कम र बढी मात्रामा मनोरञ्जन र अवहेलनाको साधन बनाइन्छ। यो सिनेमाले देखाउने हाम्रै समाजको प्रतिबिम्ब हो।
पिरतीको वाद्यवादक (अशान्त शर्मा) सँगको सम्बन्ध सकारात्मक देखिए पनि गन्तव्यहीन लाग्छ, किनकि पिरतीमाथि आइपरेका समस्या र विशेष गरी अन्तिममा बासस्थान जलेको दर्दनाक दृश्यमा साथ दिन ऊ उपस्थित हुँदैन। गाउँले, गुरूङ दाइ, प्रहरी प्रशासन, अस्पतालदेखि वाद्यवादकसँगको हरेक व्यवहारमा ‘तिनीहरू’ उपयोगका लागि स्वार्थका साधनजस्तै बनाइन्छन्। अन्ततः ती व्यवहारहरूले ‘तिनीहरू’को पहिचान स्वीकार्न र अस्तित्व बचाउन काम लाग्दैनन्। करिब सवा घण्टाको सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले अन्त्य गर्ने दृश्य यही हो। र अन्त्यमा, 'तिनीहरू' शब्द आफैंमा पर, छेउछाउतिरकालाई प्रयोग हुने भएकैले शीर्षक बनेकोमा सार्थक लाग्छ। ट्रान्सहरूको ‘वे अफ लाइफ’लाई प्रतिनिधित्व गर्ने गरी ‘तिनीहरू’ शब्दले न्याय गरेको छ। त्यसैले पनि ‘तिनीहरू’ आफैंमा एउटा मेटाफोरिक मूर्त शब्द बनेको छ।
तर यसको अर्थ अथवा परिभाषाभित्र 'तिनीहरू' आफैंलाई सीमितताभित्र बाँच्न बाध्य पारिएका छन्। यसबीच हामी आफूलाई 'हामीहरू' अथवा 'हाम्रो' भन्छौं। के यो 'तिनीहरू' र 'हामीहरू'बीच कोरिएको रेखा सधैंका लागि मेट्न आजको मानव समाजले सफलता प्राप्त गर्ला? हामीलाई यो एउटा जटिल प्रश्न लागे पनि यसभित्र हजारौं प्रतिप्रश्न अझ जटिल रूपमा लुकेका छन्। ती सबैको जवाफ उज्यालोपट्टि बाँचेका हामीहरू र हाम्रो भनिएको राज्यले दिनुपर्नेछ।
सिनेमाले छोडेका तिनै प्रश्नको जवाफमार्फत विभेद र तिरस्कारका मानसिक, सामाजिक, सांस्कृतिक अनि राजनीतिक रेखा मेटाउने आँट हामीहरूको काँधमा सिनेमा मार्फत आइपरेको छ। त्यसैले ‘तिनीहरू’लाई हामीहरूमा मिसाएर सधैंका लागि एक पूर्ण समाज निर्माण गर्नुपर्ने लुप्त सन्देश पनि 'एलिफेन्ट्स इन द फग'ले छोडेको छ।
अब हामीहरूले गहिरोसँग सोच्नुपर्ने छ र 'तिनीहरू'सँग असली मानवताको नाता गाँस्नुपर्ने जिम्मेवारी आएको छ।
अस्करको महान् यात्रामा 'तिनीहरू' अर्थात् 'एलिफेन्ट्स इन द फग' सिनेमालाई ऐतिहासिक सफलता प्राप्त होस्, शुभकामना।
लेखक स्वतन्त्र अनुसन्धानकर्ता हुन्। उनी मानवशास्त्र विषयमा रूचि राख्छन्। विभिन्न प्राज्ञिक जर्नलमा उनका लेखहरू प्रकाशित भएका छन्।