भारतीय अभिनेता यशको आगामी फिल्म 'टक्सिक' की मुख्य अभिनेत्री कियारा आडवाणीले सामाजिक सञ्जालमा फैलिएको खबरप्रति आक्रोश व्यक्त गरेकी छन्।
केही रिपोर्टहरूमा उनले अभिनेता यशसँगका रोमान्टिक तथा बोल्ड दृश्यहरू छोट्याउन वा हटाउन माग गरेको दाबी गरिएको थियो।
त्यसैगरी कियाराले यशसँग 'बोल्ड रोमान्टिक सिक्वेन्स' छायांकन गरेपछि त्यसको अन्तिम आउटपुट हेरेर असहज महसुस गरेको पनि दाबी गरिएको थियो। त्यसपछि ति दृश्यलाई 'ट्रिम' गर्न निर्मातासँग अनुरोध गरेको समेत खबरहरूमा उल्लेख गरिएको थियो।
तर कियाराले यस्ता पोस्टमा सत्यता नरहेको बताएकी हुन्। उनले यस्ता पोस्टहरूलाई पुनः सेयर गर्दै भनेकी छन्- विल्कुल बसवास।
गीतू मोहनदासको निर्देशन रहेको ‘टक्सिक’ मा यश दुई फरक पात्रमा देखिनेछन्। ग्याङस्टार ड्रामामा यश र कियारासहित नयनतारा, हुमा कुरैशी, तारा सुतारिया, रूक्मिणी वसन्तलगायत कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहनेछ।
यो फिल्मको रिलिज मिति पटक-पटक सारिँदै आएको छ। निर्माताले छिट्टै नयाँ अन्तिम रिलिज मिति घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ।