मलयालम सुपरस्टार मोहनलाल अभिनीत बहुप्रतीक्षित क्राइम थ्रिलर फिल्म 'दृश्यम ३' को ट्रेलर सार्वजनिक भएको छ।
यो फिल्म आगामी मे २१ (जेठ ७) मा अभिनेता मोहनलालको जन्मदिनको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।
२ मिनेट ५ सेकेन्ड लामो ट्रेलरमा जर्जकुट्टी (मोहनलाल) र उनको परिवार सामान्य जीवनमा फर्किएको देखाइएको छ। बाहिरबाट सबै कुरा सामान्य देखिए पनि केही पात्रहरू अझै पनि पुरानो घटनाको सत्यबारे शंकालु रहेको संकेत ट्रेलरले दिन्छ।
विशेषगरी जर्जकुट्टीको मानसिक अवस्थामाथि केन्द्रित हुँदै परिवारलाई बचाउन उनले चुकाएको मूल्य र भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ। रहस्य फेरि उजागर हुने संकेत ट्रेलरले दिन्छ।
जीतु जोसेफको लेखन तथा निर्देशन रहेको 'दृश्यम ३' मा मोहनलालसहित मीना, सिद्दिकी, आशा शरथ, मुरली गोपी, अन्सिबा हसन, एस्थर अनिललगायत कलाकारहरूको अभिनय छ।
'दृश्यम ३' भारतीय सिनेमाको प्रसिद्ध अपराध थ्रिलर फ्रेन्चाइजीको अर्को अध्याय हो। फिल्म एन्टोनी पेरुम्बावूरद्वारा निर्मित छ।