मनिषा कोइराला, अनिल कपूर र ज्याकी श्राफ अभिनीत चर्चित हिन्दी फिल्म '१९४२ः अ लभ स्टोरी' पुनः प्रदर्शनमा आउने भएको छ।
विदु विनोद चोपडा निर्देशित फिल्म अगस्ट २१ (भदौ ५)देखि भारतभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको हो।
फिल्म रिस्टोर गरिएको ८ के संस्करण र रिमास्टर गरिएको डल्बी ५.१ सराउन्ड साउन्डसहित ३२ वर्षपछि पुनः सिनेमाघरमा प्रदर्शन गर्न लागिएको छ। वितरण कम्पनी एनएच स्टुडियोजले बिहीबार प्रदर्शन मितिबारे औपचारिक जानकारी दिएको हो।
सन् १९९४ मा प्रदर्शन भएको यो फिल्म भारतीय सिनेमाको लोकप्रिय प्रेमकथामध्ये एक मानिन्छ।
यसको पुनःसंस्करण इटालीको ल’इम्याजिन रिट्रोभाटा र भारतको प्रसाद फिल्म ल्याबसँगको सहकार्यमा पुनर्स्थापना गरिएको छ। जसले फिल्मको दृश्य गुणस्तरलाई सुधार्दै मौलिक सिनेमाटिक शैलीलाई जोगाएको बताइएको छ।
यो फिल्म 'एक लडकी को देखा', 'कुछ ना कहो', 'रिमझिम रिमझिम' जस्ता चर्चित गीतका कारण पनि आजसम्म सम्झिने गरिन्छ।
आर.डी. बर्मनको संगीत, प्रभावशाली कथा र कलाकारहरूको अभिनयका कारण यो फिल्म बलिउडका चर्चित क्लासिकमध्ये एक मानिन्छ। यो फिल्मले ९ वटा फिल्मफेयर अवार्डसमेत जितेको थियो।
फिल्मलाई नयाँ पुस्ताले ठूलो पर्दामा उत्कृष्ट गुणस्तरमा अनुभव गर्न सकून् भन्ने उद्देश्यले पुनः प्रदर्शन गर्न लागिएको जनाइएको छ।
