बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रोपटक आमाबुवा बनेका छन्। दीपिकाले शनिबार दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्।
दीपिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा संयुक्त पोस्टमार्फत छोरी जन्मिएको जानकारी दिएकी हुन्। पोस्टमा नवजात शिशुको खुट्टाको तस्बिर राखिएको छ भने दीपिका, रणवीर र उनीहरूको पहिलो सन्तान दुआको नामसँगै १९ सेप्टेम्बर २०२६ मिति उल्लेख गरिएको छ।
दीपिका र रणवीरले सन् २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए। उनीहरूको पहिलो सन्तानका सन् २०२४ मा छोरीको जन्म भएको थियो। दोस्रो सन्तानको आगमनको खबर उनीहरूले यसै वर्ष अप्रिलमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
दोस्रो सन्तान जन्मिनुअघि दीपिका र रणवीरले मुम्बईस्थित सिद्धिविनायक मन्दिर पुगेर पूजाआजा गरेका थिए। त्यसअघि रणवीर लालबागचा राजा पण्डालमा पनि पुगेका थिए।
कामको कुरा गर्दा दीपिका शाहरुख खानसँग सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने 'किङ'मा देखिँदैछिन्। त्यस्तै, उनी अल्लु अर्जुनसँग एटलीको आगामी साइन्स–फिक्सन फिल्म 'राका'मा पनि काम गर्दैछिन्।
रणवीर पछिल्लो समय 'धुरन्धरः द रिभेन्ज'मा देखिएका थिए भने उनी आगामी फिल्म 'प्रलय'को तयारीमा छन्।