बलिउड अभिनेता आमिर खान नयाँ फिल्मका लागि क्रिकेट सिक्न व्यस्त छन्।
निर्देशक आशुतोष गोवारीकरको आगामी फिल्म 'ललकारा'मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्न लागेका आमिर त्यसकै तयारीमा जुटेका हुन्।
भारतीय संचारमाध्यम 'मिड-डे'का अनुसार आमिरले दक्षिण मुम्बईस्थित एक क्रिकेट क्लबमा प्रशिक्षण सुरू गरेका छन्। यो फिल्ममा आमिरसँगै विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवा पनि शीर्ष भूमिकामा रहनेछन्। उनीहरूले पनि क्रिकेटको अभ्यास गरिरहेका छन्।
कलाकारहरूलाई भारतीय क्रिकेटका दुई पूर्वखेलाडीले प्रशिक्षण दिइरहेका छन्। उनीहरू यसअघि कबिर खान निर्देशित फिल्म '८३'का कलाकारलाई पनि क्रिकेट प्रशिक्षण दिने टोलीमा आबद्ध थिए। सन् २०२१ मा प्रदर्शन भएको उक्त फिल्म भारतीय क्रिकेट टोलीले सन् १९८३ मा जितेको विश्वकपमा आधारित थियो।
'ललकारा' सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट शृंखलाको पृष्ठभूमिमा निर्माण हुन लागेको स्पोट्र्स ड्रामा हो।
क्रिकेट प्रशिक्षणसँगै कलाकारहरूले फिल्मको स्क्रिप्ट रिडिङ पनि गरिरहेका छन्। गत अक्टोबरको मध्यदेखि सुरू भएको रिडिङ सेसनमा आमिरले लेखक पियूष मिश्र र नीरज सिंहसँग पटकथाबारे छलफलसमेत गरिरहेका छन्।
फिल्मको छायांकन सन् २०२७ जनवरी ४ देखि सुरू गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो मिति आमिर र निर्देशक गोवारिकरका लागि विशेष पनि छ। उनीहरूको यसअघिको चर्चित फिल्म ‘लगान’को छायांकन पनि सन् २००० जनवरी ४ मै सुरू भएको थियो।
'ललकारा'मार्फत आमिर र गोवारिकर लामो समयपछि पुन: एकसाथ काम गर्न लागेक हुन्। यसअघि उनीहरूले 'लगान' र 'मंगल पाण्डे: द राइजिङ'मा सहकार्य गरेका थिए।