बलिउड अभिनेता टाइगर श्राफ अक्टोबरमा आफ्नो गाडीमाथि भएको गोली प्रहार घटनापछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका छन्। उनले शनिबार मुम्बईको गेटवे अफ इन्डियामा आयोजित 'ग्लोबल पिस अनर्स २०२६' कार्यक्रममा नृत्य प्रस्तुति दिएका हुन्।
टाइगरले आफ्नो चर्चित फिल्म 'अग्निपथ'को गीत 'देवा श्री गणेशा'मा प्रस्तुति दिएका थिए। परम्परागत पहिरनमा देखिएका उनको प्रस्तुतिका भिडिओ यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्।
गत अक्टोबरमा मुम्बईको जुहु क्षेत्रमा फुटबल मैदानबाट घर फर्किने क्रममा टाइगर सवार गाडीमाथि अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए।
मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको गाडीलाई लक्षित गरी गोली चलाएको बताइएको छ। घटनामा टाइगरलाई सामान्य चोट लागेको थियो भने गाडीको ऐनासमेत क्षतिग्रस्त भएको थियो।
उक्त घटनापछि टाइगर सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। त्यसैले शनिबारको उनको प्रस्तुति गोली प्रहारको घटनापछिको पहिलो सार्वजनिक मञ्च प्रस्तुति बनेको हो।
उक्त कार्यक्रममा बलिउड अभिनेता शाहरूख खान, रणवीर सिंह, अक्षय कुमार, विक्रान्त मेसी तथा क्रिकेटर सचिन तेन्दुलकर लगायतका चर्चित व्यक्तित्वको पनि उपस्थिति थियो।
कामको कुरा गर्दा टाइगर पछिल्लोपटक फिल्म 'बागी ४' मा देखिएका थिए।
उनी आगामी दिनमा जान्हवी कपूर र लक्ष्यसँग फिल्म 'लग जा गले' मा देखिने तयारीमा छन्।