दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभु आमा बनेकी छन्। निर्देशक राज निदिमोरूसँग वैवाहिक जीवनमा बाँधिएकी सामन्थाले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।
सामन्था र राजले छोराको नाम 'देव निदिमोरू' राखेका छन्। इन्स्टाग्राम अकाउन्टमार्फत सामन्थाले छोराको नाम सार्वजनिक गर्दै खुसी साटेकी छन्। उनले नवजात शिशुको हात र आफ्नो तथा राजको हातको तस्बिरसमेत साझा गरेकी छन्।
सामन्थाले तस्बिरसँगै छोराको आगमनले आफूहरूको जीवनमा अपार खुसी ल्याएको भाव व्यक्त गरेकी छन्। यो पोस्टमा उनका प्रशंसक तथा फिल्मकर्मीहरूले बधाई दिइरहेका छन्। सामन्था र राजले सन् २०२५ डिसेम्बरमा विवाह गरेका थिए।
सामन्था दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन्। उनले तमिल र तेलुगु फिल्मसँगै हिन्दी मनोरञ्जन क्षेत्रमा पनि आफ्नो पहिचान बनाएकी छन्।
सामन्था पछिल्लो समय वेब सिरिज 'सिटाडेल: हनी बन्नी' र फिल्म 'शुभम'मा देखिएकी थिइन्। यसै वर्ष उनको मुख्य भूमिका रहेको तेलुगू फिल्म 'मा इन्टी बंगाराम' पनि प्रदर्शनमा आएको थियो। यसमा उनी निर्माताका रूपमा समेत संलग्न थिइन्।
सामन्थाको आगामी प्रोजेक्टमा राज एन्ड डीके निर्देशित वेब सिरिज 'रक्त ब्रह्माण्ड: द ब्लडी किङडम' रहेको छ। यसमा उनी आदित्य रोय कपूरसँग देखिनेछिन्।