बलिउड अभिनेता सलमान खानले अभिनेत्री श्रद्धा कपूरसँग माफी मागेका छन्।
आफ्नो र श्रद्धाको फिल्म एउटै मितिमा प्रदर्शन हुने भएपछि सलमानले उनलाई फोन गरेर माफी मागेको बताएका हुन्।
सलमानको फिल्म 'मातृभूमिः मे वार रेस्ट इन पिस' र श्रद्धाको फिल्म 'ईथा' आगामी डिसेम्बर ४ (मंसिर १८)देखि प्रदर्शनमा आउँदैछन्। दुवै फिल्म एकै मितिमा हलमा आउने भएपछि बक्स अफिसमा प्रतिस्पर्धा हुने निश्चित छ। तर, प्रदर्शन मिति घोषणा गर्दासम्म श्रद्धाको फिल्म पनि सोही दिन रिलिज हुँदैछ भन्ने आफूलाई जानकारी नभएको सलमानले बताएका छन्।
हैदराबादमा आयोजित एबीपी लाइभ साउदर्न राइजिङ समिटमा कुराकानी गर्ने क्रममा सलमानले यस विषयमा बताएका हुन्। अभिनेत्री चित्रांगदा सिंहसमेत सहभागी उक्त कार्यक्रममा सलमानले आफूले श्रद्धालाई फोन गरेर माफी मागिसकेको बताए।
'डिसेम्बर ४ मा फिल्म प्रदर्शन गर्ने घोषणा गर्दा श्रद्धाको फिल्म पनि त्यही दिन आउँदैछ भन्ने मलाई थाहा थिएन। यसले मलाई साँच्चै दुःखी बनाएको छ,' सलमानले भने, 'पहिले नै थाहा पाएको भए म श्रद्धाको फिल्मसँग आफ्नो फिल्म प्रदर्शन गर्ने थिइनँ।'
कार्यक्रममा उनले भनेका थिए, 'मैले श्रद्धालाई फोन गरेर माफ गर भनेको छु।'
सलमानका अनुसार श्रद्धाले भने आफूलाई सहज बनाउँदै दुवै फिल्मका लागि हलमा पर्याप्त ठाउँ रहेको जबाफ दिएकी थिइन्। 'होइन, होइन सर, दुवै फिल्मका लागि पर्याप्त ठाउँ छ,' श्रद्धाको जवाफ उद्धृत गर्दै सलमानले भने।
सलमानले दर्शकलाई श्रद्धाको फिल्म पनि हेर्न आग्रह गरेका छन्।
किन परिवर्तन भयो 'मातृभूमि'को प्रदर्शन मिति?
कार्यक्रममा सलमानले आफ्नो फिल्मको प्रदर्शन मिति पटक-पटक परिवर्तन हुनुको कारण समेत खुलाएका थिए। उनका अनुसार संचारकर्मीका लागि फिल्मको विशेष प्रदर्शन गर्दा भिएफएक्स (भिजुअल इफेक्ट्स) मा केही कमजोरी देखिएको थियो। त्यसलाई सुधार नगरी फिल्म प्रदर्शन गर्न नचाहेकाले थप समय लागेको उनको भनाइ थियो।

सुरूमा नोभेम्बर २० मा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मलाई नोभेम्बर २७ मा ल्याउनेबारे पनि छलफल भएको थियो। तर, उक्त मितिमा निर्देशक सूरज बडजात्याको फिल्म 'ये प्रेम मोल लिया' प्रदर्शन हुने भएपछि सलमान त्यससँग फिल्म जुधाउन चाहेनन्। त्यसपछि सनी देओलको फिल्म र डिसेम्बर २४ मा शाहरूख खानको 'किङ' प्रदर्शन हुने भएकाले पनि मिति छनोटमा चुनौती आएको उनले बताएका थिए।
अन्ततः डिसेम्बर ४ लाई प्रदर्शन मिति तय गरिएको थियो। तर, त्यही दिन श्रद्धाको 'ईथा' पनि आउने जानकारी आफूलाई नभएको सलमानको भनाइ छ।

कस्ता छन् दुवै फिल्म?
अपूर्व लाखिया निर्देशित 'मातृभूमि: मे वार रेस्ट इन पिस' सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपबाट प्रेरित फिल्म हो। यसमा सलमानसँगै चित्रांगदा सिंहको मुख्य भूमिका छ। त्यस्तै नेपाली अभिनेता अनुपविक्रम शाहीको समेत फिल्ममा विशेष भूमिका छ।
त्यस्तै, लक्ष्मण उतेकर निर्देशित 'ईथा' मराठी लोककलाकार विठाबाई नारायणगाउँकरको जीवनमा आधारित बायोपिक फिल्म हो। यसमा श्रद्धासँगै रणदीप हुड्डा, मोहम्मद जिसान अय्युब र सिद्धार्थ जाधवको अभिनय छ।