पुस्तक समीक्षा
'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' को पाँचौँ खण्ड प्रकाशन भएको लगभग सात महिना भइसकेको छ। बेइजिङस्थित विदेशी भाषा प्रकाशनले सुरूमा यसलाई चिनियाँ र अंग्रेजी दुई भाषामा प्रकाशन गरेको थियो। अहिले अन्य विदेशी भाषामा अनुवाद भइसकेको छ।
'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' अर्थात् 'सी चिनफिङः चीनको शासन व्यवस्था' किताब चीनको समग्र नीति बुझ्नका लागि एउटा गहकिलो पाठ्य सामग्री हो। अघिल्ला चार खण्ड जस्तै पाँचौं खण्डमा पनि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका सम्बोधन, मन्तव्य, भाषण, लेख र सन्देशहरूलाई संकलन गरिएको छ। सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, महत्वपूर्ण समारोह, विशेष कार्यक्रम आदिमा दिएका विचारले समग्र चीनको रणनीति, अर्थतन्त्र, कूटनीति, रक्षा, राजनीति, विकास र मार्गनिर्देशनलाई बोकेका हुन्छन्। सी चिनफिङको कुनै पनि मन्तव्य तयार गर्नका लागि चीनका ख्यातिप्राप्त प्रोफेसर, वैज्ञानिक, कूटनीतिज्ञ, राजनीतिज्ञ, अर्थशास्त्री, विज्ञ र विशेषज्ञहरूको सामूहिक मेहनत र ज्ञान खर्चिइएको हुने गर्छ। त्यसकारण पनि यस्ता विचार महत्वपूर्ण दस्तावेजका रूपमा वर्तमान र भविष्यसम्मका लागि महत्वपूर्ण हुने गर्छन्।
'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' को पहिलो खण्ड सन् २०१४ मा प्रकाशन भएको थियो। यसको दोस्रो खण्ड सन् २०१७ मा र तेस्रो खण्ड सन् २०२० मा प्रकाशन भएका थिए। त्यसैगरी चौथो खण्ड सन् २०२२ मा प्रकाशन भएको थियो भने यो पाँचौं खण्ड सन् २०२५ को जुलाईमा प्रकाशन भएको हो।
पाँचौं खण्डमा सन् २०२२ को मे २७ देखि २०२४ को डिसेम्बर २० सम्म चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङका ९१ वटा सम्बोधन र लेखहरू समावेश छन्। यही अवधिमा खिचिएका ४१ तस्बिरहरू पनि यस पुस्तकमा समावेश छन्। यो पुस्तकमा १८ परिच्छेद रहेका छन् र ती परिच्छेदमा विषय अनुसारका सामग्री समेटिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं राष्ट्रिय महाधिवेशनले सी चिनफिङलाई महासचिवमा चयन गरेको हो। सीपीसीको १९ औं राष्ट्रिय महाधिवेशनदेखि सीपीसीलाई सी चिनफिङमा केन्द्रित गर्ने घोषणा गर्यो। यसको अर्थ के हुन्छ भने सीपीसीको केन्द्रीय नेतृत्व सी चिनफिङमा रहनेछ र पार्टीका हरेक गतिविधि सी चिनफिङलाई केन्द्रमा राखेर हुने गर्छ। त्यही भएर यस पुस्तकले पनि सी चिनफिङलाई केन्द्रमा राखेर चीनका घरेलु तथा अन्तर्राष्ट्रिय चासोका विषयलाई प्रस्तुत गरेको छ। चीनका चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिदृश्य र आवश्यक घरेलु सुधार अनि विकास कार्यहरूका बीचमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले घोषणा गरे अनुसार आधुनिक समाजवादी देश निर्माण गर्ने दिशामा ठोस कदम चालेको छ भन्ने कुरालाई जीवन्त रूपमा यस पुस्तकमा दस्तावेजीकरण गरिएको छ।
यस पुस्तकका समावेश सामग्रीले पाठक तथा चिन्तक र चीनप्रति चासो राख्नेहरूका लागि चीनको नयाँ नीति बुझ्न सहज बनाउँछ। विशेष गरी नयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवाद सम्बन्धी सी चिनफिङ विचारधारा बुझ्नका लागि सबभन्दा भरपर्दो र तथ्यांक सहितको सामग्री नै यही हो।
पछिल्लो समय चीनले प्राप्त गरेको प्रगति, पूर्वाधार विकासको छलाङ, गरिबी निवारणमा आश्चर्यजनक उपलब्धि, विश्व अर्थतन्त्रमा पुर्याएको योगदान तथा स्थिर र गुणस्तरीय आर्थिक वृद्धिदरले गर्दा चीनका बारेमा अन्तर्राष्ट्रिय समुदायमा निकै ठूलो चासो छ। पश्चिमा समाजका विद्वानहरू हिजोआज चीनका बारेमा गहन अध्ययन गर्न थालेका छन्। यस्तो परिस्थितिमा चीनले एक दसक अगाडि मात्र लागु गरेको नयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवाद सम्बन्धी सी चिनफिङ विचारधाराको पछिल्लो अवस्थाका बारेमा जानकारी राख्न र मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणमा सहकार्य गर्न सक्षम बनाउन ठूलो महत्त्व राख्ने हुनाले यो पुस्तकले अन्तर्राष्ट्रिय रूचि पैदा गराएको छ।
'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' को पाँचौं खण्डमा समाविष्ट सी चिनफिङका ९१ वटा सम्बोधन र लेखहरूले मूलतः तीनवटा पक्षलाई केन्द्रमा राखेको छ। ती तीन वटा पक्षहरूमा आधुनिक समाजवादी देश निर्माण, चिनियाँ आधुनिकीकरण र राष्ट्रिय सुरक्षा वृद्धि रहेका छन्।
चिनियाँ नेता सी चिनफिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहहरूमा सम्बोधन गर्दा बारम्बार दोहोर्याउने गरेको विषय हो 'मानवताको लागि साझा भविष्य भएको समुदाय'। पुस्तकले पनि यही कुरालाई जोड दिएको छ। सीको यही नाराले विश्वव्यापी चुनौतीहरूका बीचमा उच्च-गुणस्तरको विकासलाई प्रवर्द्धन गरेको छ।
पछिल्लो समय विश्वमा एउटा भ्रम फैलिएको छ। आधुनिकीकरण भनेको नै पश्चिमीकरण हो भन्ने भ्रमले नेपालमा पनि जरा गाडेको देखिन्छ। वास्तवमा आधुनिकीकरण र पश्चिमीकरणका बीचमा ठूलो भिन्नता रहेको छ। त्यही भएर चीनमा नयाँ नारा घन्किएको छ 'चिनियाँ शैलीको आधुनिकीकरण'। पश्चिमी शैलीको विकासबाट भिन्न आर्थिक र राजनीतिक विकास मोडलहरूमा केन्द्रित चिनियाँ आधुनिकीकरणको सैद्धान्तिक प्रणालीको व्याख्या चीनले प्रतिपादन गरेको नयाँ विचार हो।
यही विचारमा केन्द्रित रहेर चीनले विकास लक्ष्यहरू निर्धारण गरेको छ। पहिलो लक्ष्य रहेको छ सन् २०३५।
सन् २०३५ सम्म चीनले मध्यम स्तरको विकास लक्ष्य प्राप्त गर्नेछ। त्यसका लागि राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न मार्गदर्शक सिद्धान्तका रूपमा 'नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमा सी चिनफिङ विचार' आवश्यक छ।
चीनले विकासका उपलब्धिलाई आफूमा मात्र सीमित गरेको छैन। उसले आफ्ना विकासका उपलब्धि र अनुभव विश्वसामु बाँड्ने घोषणा पनि गरेको छ। चीनले विश्वव्यापी विकास र सहयोगका लागि बहुध्रुवीय संसार, बीआरआई पहल र समान, समावेशी विकासको वकालत गर्दै आएको छ। यसका लागि चीनले विभिन्न पहलहरू अगाडि सारेको छ। ती पहलहरूमाः विश्वव्यापी विकास पहल 'जीडीआई', विश्वव्यापी सुरक्षा पहल 'जीएसआई', विश्वव्यापी सुशासन पहल 'जीजीआई' र विश्वव्यापी सभ्यता पहल 'जीसीआई' रहेका छन्।
पुस्तकले केन्द्रीकृत नेतृत्वमार्फत निरन्तर आर्थिक विकास र सामाजिक स्थिरता सुनिश्चित गर्न केन्द्रित रहेको चिनियाँ कम्युनिस्ट पार्टीको शासन रणनीतिका लागि मार्गदर्शनका रूपमा काम गर्दछ।
समग्र राष्ट्रिय सुरक्षा, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र कानुनी शासन जस्ता चीनका मूलभूत विषयमा सी चिनफिङले दिएका मन्तव्य तथा लेखहरूलाई प्राथमिकताका साथ पुस्तकमा समावेश गरिएको छ। हङकङ र मकाउका लागि एक देश, दुई प्रणाली ढाँचालाई पुनर्पुष्टि गर्दै राष्ट्रिय सार्वभौमिकता कायम राख्न दृढ संकल्पमा जोड दिने देशभक्तिबाट ओतप्रोत सामग्री पनि यहाँ राखिएका छन्।
यदि कसैलाई चीनले कसरी काम गर्छ र यस्ता भयङ्खर उपलब्धि हात पार्छ भन्ने चासो छ भने यो पुस्तक निकै कामपयोगी छ।
चीनमा अध्यक्ष माओ चतोङ र तङ सियाओफिङपछि सी चिनफिङलाई विचार तथा सिद्धान्त प्रतिपादकका रूपमा लिइन्छ। चीनको वर्तमान शासन रणनीतिहरूमा मार्क्सवाद-लेनिनवादका आदर्शहरूलाई पालना गर्दै चिनियाँ विश्वविद्यालय तथा चिनियाँ कम्युनिस्ट पार्टीभित्र मार्क्सवाद र लेनिनवादलाई गहन अध्ययन तथा अध्यापन गराइन्छ। त्यसैगरी पछिल्लो समयमा 'नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमा सी चिनफिङ विचार'मा गहन अध्ययान र विश्लेषण गर्ने गरिन्छ। यस प्रकारको अध्ययनका लागि पनि यो पुस्तक एउटा महत्वपूर्ण सामग्री बन्दै आएको छ।
विदेशी पाठकका लागि चिनियाँ सामाजिक कार्यक्रमहरू जस्तै गरिबी निवारण, आधुनिक आवास व्यवस्था, चिनियाँ शैक्षिक प्रणाली लगायतका विषयमा चासो हुने गरेको छ। ती विषयमा चिनियाँ राष्ट्रपति र पार्टीका आधिकारिक धारणाहरू समेटिएको भएकाले यो पुस्तकलाई धेरै देशका पाठकले मन पराएका छन्। त्यसैगरी चिनियाँ कूटनीतिका बारेमा पनि यसमा थुप्रै सामग्री छन्। अफ्रिकामा अत्यधिक सफल भएको बीआरआई, चीनको वैदेशिक लगानी र सहयोग, अन्तर्राष्ट्रिय समुदायमा चीनले राखेका अडान, बहुध्रुवीय विश्वका लागि चीनले गर्दै आएको आह्वान, विश्वशान्ति र मानवता आदि विषयमा चीनले राख्दै आएको विचारलाई पुस्तकमा सम्लेषण गरिएको छ।
सन् १९७८ मा तङ स्याओफिङले सुरू गरेको सुधार र खुलापनलाई चीनले वर्तमान अवस्थामा कसरी विकास गर्दै आएको छ र यसको भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको जबाफ पनि यही पुस्तकले दिन्छ। पुस्तकको मियो चाहिँ 'चिनियाँ विशेषतासहितको समाजवाद' हो जसलाई सी विचारले दिशानिर्देश गरेको छ।
चीनले विश्वलाई विकास साझेदार गर्छ। चिनियाँ पुँजी, सीप, अनुभव, जनशक्ति, प्रविधि र ज्ञानलाई सधैँ बाँड्न तत्पर चीन विचार निर्यात गर्ने कुरामा त्यति जाँगर देखाउँदैन। चीनले विचार निर्यात नगरे पनि सी चिनफिङका विचार सहितका यी पुस्तकले विश्वव्यापी रुपमा चीनको सफ्टपावरको काम भने गरिरहेका छन्।
यही मेसोमा चीनका लागि सी चिनफिङको दृष्टिकोण र विश्वमा यसको बढ्दो भूमिकालाई साँच्चै चिनियाँ प्रभावका रूपमा बुझ्दा अत्युक्ति हुँदैन। लगभग पाँच हजार वर्षको इतिहास बोकेको चिनियाँ सभ्यतालाई पुनर्जागरण गराउने काम चिनियाँ नेता सी चिनफिङको समयमा तीव्र गतिमा भइरहेको छ। तब न सी चिनफिङले आफ्ना हरेक मन्तव्य र सम्बोधन तथा महत्वपूर्ण भाषणमा शास्त्रीय चिनियाँ भनाइ र लोकोक्तिहरुलाई उद्दरण गर्न कहिल्यै बिर्संदैनन्।
यो पुस्तक चीनमा मात्र नभएर विदेशमा पनि निकै लोकप्रिय मानिन्छ। विभिन्न देशका नेताहरूले यस पुस्तकको प्रशंसा गरेका छन्। कुनै बेला कम्बोडियाली प्रधानमन्त्री हुन सेनले 'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' पुस्तक किन्न कम्बोडियालीहरूलाई आग्रह गरेका थिए। थाई प्रधानमन्त्री प्रयुत चान-ओ-चाले आफ्नो मन्त्रिपरिषदका सदस्यहरूलाई यो पुस्तक अध्ययन गर्न भनेका थिए।
सधैं चीनको आलोचना गर्ने पश्चिमी मिडियाले पनि यो पुस्तकमार्फत चीनमा सी चिनफिङको नेतृत्व राम्रोसँग बुझ्न सकिने उपयोगी स्रोत भनेर प्रशंसा गरेको छ। त्यसैगरी फेसबुकका सिइओ मार्क जुकरबर्गले पुस्तक पढेको र आफ्नो कम्पनीका कर्मचारीहरूका लागि थप पुस्तक अर्डर गरेको समाचार पनि आएको थियो।
पुस्तकमा सी चिनफिङ विचार, सी चिनफिङको राजनीतिक दर्शन, अर्थशास्त्र, चीनको घरेलु राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, पूर्वाधार, प्रविधि, हरित क्रान्ति, शान्तिपूर्ण सह-अस्तित्व र चिनियाँ सुरक्षा लगायत विषयमा चिनियाँ चासोलाई प्रष्ट्याइएको छ।
'सी चिनफिङ: द गभर्नेन्स अफ चाइना' पुस्तकका पहिलो खण्डदेखि पाँचौँ खण्डसम्ममा अंग्रेजी, अरबी, फ्रान्सेली, जर्मन, जापानी, स्पेनी, पोर्चुगिज, रूसी, उइघुर, तिब्बती, कजाख, कोरियाली, किर्गिज, मङ्गोलियन, पोलिस, मानक चुआङ लगायतका दुई दर्जनभन्दा बढी भाषामा अनुवाद भइसकेका छन्। यसका पहिलो र दोस्रो खण्ड नेपाली भाषामा पनि अनुवाद गरेर नेपालको चीन अध्ययन केन्द्रले प्रकाशन गरिसकेको छ भने तेस्रो र चौथो खण्डको अनुवाद सकिएर प्रकाशनको तयारीमा रहेको छ।
(समावेश सबै फोटो यही किताबबाट लिइएको हो।)