सामान्यतया, आत्मकथा कुनै व्यक्तिको विशिष्ट परिस्थितिहरू र उसका भोगाइलाई केन्द्रबिन्दुमा राखी लेखिन्छ। जति नै सफल र उदाहरणीय व्यक्ति भए पनि आखिर ऊ अरबौँ जीवित र मृत व्यक्तिहरूमध्ये एक न हो।
हरेकको जीवनमा सफलता, चोट र अन्य उतारचढावका धेरै वा थोरै स्मरणीय कहानीहरू हुन्छन् नै र तीमध्ये अधिकांश नलेखीकनै मेटिन्छन् उसको जीवनको अन्त्य र थोरै पछिसम्म रहने उसका केही यादहरूको विलयसँगै।
साथै, ज्ञान प्राप्तिको उद्देश्यबाट हेर्दा पनि व्यक्तिको जीवनको विशिष्टीकृत भोगाइबाट भन्दा वैज्ञानिक खोज अनुसन्धानका साहित्य वा उपन्यासहरूबाट बढी सामान्यीकरण गर्न मिल्ने ज्ञान प्राप्त हुन्छ जस्तो लाग्छ। यिनै लगायतका कारणले गर्दा केही सीमित व्यक्तिहरूले लेख्ने आफ्ना जीवनका कथा–गाथाका किताब पढ्न अन्य विधाका किताबभन्दा कम रुचि लाग्छ मलाई।
त्यसैले होला, अरुन्धति रोय नेपाल आएको बेला उत्साहित हुँदै थापाथलीको एकता बुक्स पुगेर उनको हस्ताक्षरित यस पुस्तक ‘मदर मेरी कम्स टु मी’ लाई खरिदपछि महिनौँसम्म दराजमा सजाएँ मैले, सो पिस जसरी। केही फुर्सद र अन्य पढिहाल्ने पुस्तक आफ्नो अघि नभएको मौकामा केही पाना पढ्न थालेँ।
दश पाना पनि पढ्न लागेन मलाई मेरा केही भ्रमहरू तोडिन। यो साधारण आत्मकथा हो भन्ने भ्रम, अरुन्धति उत्कृष्ट लेखिका त हुन् तर उनको जीवन सामान्य नै त होला भन्ने भ्रम। यो पुस्तक धेरै हदसम्म कुनै सुन्दर उपन्यास पढेझैँ लाग्ने खालको छ।
आफ्नो जीवनयात्रा र त्यसमा आफ्नो आमाको भूमिका, आमासँगको सम्बन्धका उतारचढाव, आफ्नो व्यक्तिगत तथा सार्वजनिक जीवनका अनेकौँ पाटा र केही राजनीतिक धारणा अनि गतिविधिहरूका स्मरणवरिपरि यस पुस्तक रचित छ। उनका उपन्यासहरूमाझैँ कुनै चलचित्र हेरेझैँ गहिरो दृश्यावलोकन गराउने र पाठकलाई आनन्दित तुल्याउने काव्यिक शैली छ उनको लेखाइमा।
पुस्तकको अत्यन्त सबल लागेको पक्ष यसको सत्यप्रतिको अविचलित प्रतिबद्धता हो। घटित वास्तविकताको भौतिक तथा मानसिक आयामलाई जस्ताको तस्तै प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ, चाहे त्यो घटना जति नै क्रूर, कठोर वा घिनलाग्दो नै किन नहोस्। त्यो सत्यमार्फत कतिपय नैतिक, सामाजिक वा राजनीतिक मूल्यका ढोङका उच्च पर्खाल तोडी भित्रको कुरूप मैलोलाई साक्षात्कार गराउँछिन् अरुन्धति।
यिनै कारणहरूले गर्दा अरुन्धतिलाई बारम्बार उनी जानाजानी विवादास्पद हुन खोजेको भन्ने आरोप पनि लाग्ने गरेको छ।
आमा, मेरी रोयको मृत्युपछि उनीसँगको सम्बन्धलाई आफैँले बुझ्न पनि लेखेको यस पुस्तकमा अरुन्धतिले आमालाई कुनै प्रेम र त्यागको प्रतिमाको रूपमा प्रस्तुत गरेकी छैनन्। त्यस्तो प्रस्तुति उनको जीवनको भोगाइ र सायद त्यसैबाट विकसित उनको सामाजिक–राजनीतिक मान्यता दुवैको विपरीत छ।
मेरीका अनेकौँ अमानवीय देखिने कमजोरीहरूलाई पनि खुला रूपमा प्रस्तुत गरिएको छ पुस्तकमा। जस्तो, मेरीले अरुन्धति गर्भमै हुँदा अनेक पटक गर्भत्याग गर्न खोजेकी हुन्छिन् र यो कुरा छोरीलाई भन्छिन् पनि। अत्यन्तै दमनकारी र आक्रामक स्वभावकी मेरीले क्रोधित भएको बेला बालक मनको कोमलताको ख्याल नगरी चसक्क बिझ्ने खालका गालीहरू र भौतिक हमला पनि बर्साउँछिन् अरुन्धति र उनको दाइप्रति।
यिनै कारणहरूले गर्दा बाल्यकालीन मानसिक सद्मा पर्न गएको देखिन्छ अरुन्धतिलाई। सोही लगायतका कारणले उनी १७ वर्षको कलिलो उमेरमा घर छाडेर जान्छिन्, आफ्नै बाहुबलमा जीवनयापन गर्छु भन्ने प्रतिबद्धतासहित। वर्षौँसम्म घर नफर्किँदा पनि मेरीले खासै वास्ता गर्दिनन् र पछि पनि ‘यतिका वर्ष कसरी कहाँ बस्यौ’ भनेर कहिल्यै सोध्दिनन्।
कतिपय आलोचकहरूले यी विषयहरू मेरीको मृत्युपश्चात् अहिले लेखिनुलाई असंवेदनशील पनि भनेका छन्। किनभने, यसको बचाउ गर्ने वा प्रतिक्रिया दिनलाई मेरी छैनन्। यो तर्क ठीक हो आफ्नो ठाउँमा। यद्यपि, समग्रतामा हेर्दा अरुन्धतिले प्रस्तुत गरेको मेरीले आफ्ना सम्पूर्ण कमजोरीहरूका बाबजुद आफ्नो जीवनको बचाउ अरूलाई त छाडौँ, स्वयं अरुन्धतिलाई पनि गर्न आवश्यक देखिन्न। सायद यही नै अरुन्धतिको लेखाइको स्वर्णिम पाटो हो र उनको जीवनको पनि।
उनको लेखाइमा झल्किने इमानदारी र मानवीय दृष्टिकोणले मेरीका क्रूर व्यवहारलाई पनि एक दरिलो सन्दर्भ दिएका छन्। मेरीले आफ्नो हिंस्रक प्रवृत्तिको पिताबाट मुक्ति पाउन केही नसोची मिक्की रोयसँग विवाह गर्न राजी हुन्छिन्। मिक्की रक्सीको नशामा लिप्त, कुनै महत्त्वाकाङ्क्षा नभएको अल्छी हुन्छन्, जसलाई मेरीले ‘नथिङ म्यान’ को उपमा दिन्छिन् र ३० वर्षकै उमेरमा छोडपत्र पनि।
यो परिवेशमा पहिलो छोरा ९ महिनाको हुँदा उनी फेरि गर्भावस्थामा छिन् भन्ने थाहा पाउँदा उनलाई परेको पीडाका बीच गर्भपतन गर्ने प्रयासको समर्थन गर्छिन् अरुन्धति। गर्भपतनका अस्त्रहरूको असफलतामात्र आफ्नो जीवनको कारण भएको कुरालाई हास्यरससहित प्रस्तुत गर्छिन् उनी।
साथै, मेरी आस्थमाकी रोगी हुन्छिन् र अरुन्धति ३/४ वर्षको हुँदा देखिनै उनको आमाको कुनै पनि समय मृत्यु हुन सक्ने सम्भावना छ भन्ने कुरा सामान्य बुझाइझैँ हुन्छ। यो लगायतका अन्य धेरै कठिनाइलाई पार पाउँदै मेरी रोयले लगभग एक्लै आफ्नै दममा केरलाको कोटायममा उत्कृष्ट विद्यालय सञ्चालन गर्ने, महिलाको समान अधिकारको लागि आजीवन लड्दै सर्वोच्च अदालतमा क्रिस्चियन महिलाले आफ्नो बुवाको सम्पत्तिमा समान अंश पाउनुपर्ने मुद्दा लडेर जित्ने लगायत सामाजिक सुधारकका कामहरू गरी आफ्नो राष्ट्रिय छवि बनाउँछिन्।
मानसिक रूपमा सबल, जिद्दी र साहसी आमाकी छोरी अरुन्धति आफूले देखेको सामाजिक अन्यायका विरुद्ध बोल्न तथा राजनीतिक, सामाजिक र सांस्कृतिक शक्तिविरुद्ध संघर्ष गर्न मजबुत र मुखर भई प्रस्तुत हुन्छिन्। फिल्मको स्क्रिप्ट लेखनबाट सुरु भएको उनको लेखन करियरमा पहिलो उपन्यास ‘द गड अफ स्मल थिंग्स’को प्रकाशन र बुकर पुरस्कार विजयले उनलाई अन्तर्राष्ट्रिय ख्यातिको शिखरमा पुर्याउँछ।
किताबमा लेखनको उनको प्रक्रिया, प्रकाशनको चरण, प्रकाशनको दौरानको अन्तर्राष्ट्रिय यात्रा, बुकर कार्यक्रम लगायतको वर्णनहरू पनि निकै उत्साहजनक र प्रेरणादायी हिसाबले गरिएको छ। अनेक पटक उनी आफैँप्रति आलोचनात्मक हुन्छिन्। जस्तो, बुकरको समारोहमा अनावश्यक विवादास्पद अभिव्यक्ति नदिएको भए हुन्थ्यो भन्छिन्। तथापि, बुकर विजय र आर्जित ख्यातिलाई उनी सुनको पिँजडासँग तुलना गर्छिन् र त्यसको जालोबाट आफू उम्किन सकेको र आफ्नो जीवन र छनोटहरू आफ्नै सर्तमा गर्न पाएकोमा गर्व छ उनलाई।
ख्यातिसँगै आएको उनको प्रभावलाई उनी राजनीतिक–सामाजिक मुद्दामा आफ्ना धारणा राख्ने प्लाटफर्मको रूपमा प्रयोग गर्छिन् र सुरु हुन्छ उनको देशका विभिन्न भागको यात्रासँगै अल्पसंख्यक, पिछडिएका वर्ग, समुदाय, जातिको पक्ष र शक्तिको विपक्षमा गैरआख्यान लेखनको सिलसिला।
बुकर विजयमा प्राप्त वाहवाहीभन्दा धेरै तिता गाली र घृणाको सिकार हुनुपर्छ उनले शक्तिलाई टकराव दिई बोल्दा। विशेषगरी भारतमा बढ्दो असहिष्णु हिन्दुत्वको प्रभाव र यसको रापमा अल्पसंख्यकहरूविरुद्धको अमानवीय व्यवहार उनको लेखाइका प्रमुख विषयहरूमध्ये हुन्। यसै क्रममा केही हप्ता नक्सलवादी माओवादीहरूको निमन्त्रणामा उनी छत्तीसगढको जंगलमा माओवादी योद्धाहरूको बीचमा बिताउँछिन्। त्यस समयको अनुभव समेटेर उनले वाकिङ विथ द कमरेड्स भन्ने पुस्तक प्रकाशित गरेकी छिन्।
उनको व्यक्तिगत जीवन पनि कम उतारचढावयुक्त छैन। दुई विवाह र दुवै डिभोर्स, एक गर्भपतन, चुरोट र ह्यासिसको नशा, आर्किटेक्चरमा डिग्री हासिल गरेर फिल्म लेखनतिरको यात्रा, फिल्म लेखनमा राम्रै कमाइ भइरहेको बखत फेरि त्यसलाई त्याग गर्ने निर्णय लगायत बाहिरबाट हेर्दा अस्थिरता जस्तो देखिने कहानीहरू मिठाससहित कोरिएको छ पुस्तकमा।
उनका हर छनोट र निर्णयमा मेरी रोयको छाया रहेको उनैले स्वीकार्छिन्। मेरीप्रतिको असाधारण प्रेमभावलाई उनी पुस्तकमा यसरी वर्णन गर्छिन्— ‘मैले आमालाई माया नगर्ने भएर छोडेको होइन, उनलाई माया गरिरहन सकियोस् भनेर छोडेको हुँ।’
साथै, उनका प्रायः लेखाइमा झैँ यस पुस्तकमा पनि सामाजिक असमानता र अन्यायप्रतिको उनको विरोधका भाव कतै दृश्य र कतै वाक्यहरूको बीचमा अदृश्य रूपमा मुखर भई थप ऊर्जावान बनाएको छ लेखाइलाई।