'म चैतन्य र चेतना दुवै हुँ!
किनकी म अस्तित्वको एउटा प्रक्रिया हुँ ! -मौन आवाज
बेनाम नदी बग्ने, निर्जन जंगलका प्रत्येक बोटबिरूवा अनि रूखका हाँगाहाँगाबाट, पातपातबाट, जराजराबाट, माटोभित्रको माटो सूक्ष्म अणु बनेर चन्द्रागिरिको दिव्य काखमा, मौन आवाज घन्किन्छ दिक्कालसम्म साहित्यको विराट भूगोलमा।
मलाई आज, गर्वबोध भएको छ म पनि चन्द्रागिरिकै काखमा आश्रय लिएकी छु। म गर्वका साथ भन्छु 'म मौन आवाजको समयमा बाँचेकी छु। चन्द्रागिरि निवासी भएर।'
म्यासेन्जरमा म्यासेज आयो, 'तपाईं पनि चन्द्रागिरिमा बस्नुहुन्छ हैन?'
मैले 'हो'मा उत्तर दिएँ।
फेरि लेखियो, 'आज त मौन आवाजको कविता विमोचन हुने दिन हैन त! तपाईं पनि त जानुहुन्छ होला नि!'
मैले पुनः हो भन्ने उत्तर दिएँ।
समकालीन समयमा मौन आवाजको कविता शक्तिशाली छ।
उनी निकै राम्रो कविता लेख्छन् है! मैले हो मा हो मिलाएँ किनकि भर्खरै मौन आवाजका ७१ वटा कविताहरूको संग्रह बेनाम नदी बग्ने निर्जन जंगल ले मेरो मस्तिष्क रन्थनिएको थियो।
फेरि अर्को कविको म्यासेज आयो, 'तपाईं पनि चन्द्रागिरिमै होइन? जानुहुन्छ होला नि आज मौन आवाजको कार्यक्रममा ?' मैले हो भने।
उनले भने आज भूपि शेरचन भएका भए, मौन आवाजलाई अङ्कमाल गरेर, काँधमा धाप मार्दै भन्थे होलान् 'स्याबास् मौन आवाज यस्तै कविको प्रतीक्षामा थिएँ म युगदेखि।'
मेरो यो सन्देश मौन आवाजलाई सुनाइदिनु होला। म उनको कविताको फ्यान हुँ।'
म गर्वले भरिएकी छु मौन आवाजलाई पढ्न पाउँदा। भूपिलाई भौतिक रूपमा भेट्न नसके पनि कविताबाट भेटेकी छु। म धन्य छु, आजको समयमा उभिएका छन् मौन आवाज भूपि बनेर।
बेनाम नदी बग्ने निर्जन जंगलमा समयको बुलन्द आवाज छ।
अव्यवस्थित, असन्तुलित समाज र समयको आक्रोशमा पनि अनुरोध र अनुशासनको अनुगुञ्जन छ। यहाँ देशको वास्तविक अवस्था छ। समाजको चित्र शाश्वत छ। सम्बन्धका अनेक आयाम छन्। अन्यायको स्वर छ। यहाँ चिन्ता छ। चिन्तन छ, चिन्मयको उज्यालो मार्ग छ।
मन्त्र जस्ता छन् मौनका कविता। शुभारम्भको आह्वानसँगै कविता संग्रह अगाडि बढेको छ। तयारी कविताले नयाँ बाटो खोल्नुपर्ने आह्वान गर्छ। कवि भन्छन् अब निस्किनु पर्छ यहाँबाट,
हिँड्नुपर्छ बनाएर आफ्नो बाटो,
पुग्नुपर्छ आफ्नो ठाउँमा'
नवीन यात्रा स्वयंले तयार गर्नुपर्छ। अरूले बनाइदिएको बाटो पूर्ण रूपमा सुरक्षित नहुनसक्छ! शान्ति, सहयोग र सहअस्तित्वको सुमधुर नाद मरिसकेको पनि हुन्छ! अरूले कोरेर हिँडेका परम्परित रेखाहरूमा प्रेम मेटिसकेको पनि हुन सक्छन्। कविको भन्छन् यथास्थितिबाट अब बाहिर निस्किनुपर्छ। पूर्वजन्मको आफ्नो कथा आफैले पढेर आत्ममीमांसा गर्नुपर्छ र कवि पूर्वजन्मको कथा शीर्षकमा भन्छन् ...
म एउटा आदेशको प्रतीक्षामा थिएँ!
मेरो आँखामा आक्रोश
र मस्तिष्कमा उत्तेजना थियो!
पूर्वजन्ममा म एउटा लडाकू थिएँ,
एउटा डरलाग्दो अनुहार थिएँ,
मलाई तिम्रो हत्या गर्ने आदेश थियो
तिम्रो विचार
र तिम्रो घर परिवार नष्ट गर्ने आदेश थियो।
म त्यस्तै थिएँ मलाई त्यसरी नै निर्माण गरिएको थियो
म एउटा आँखा
एउटा कान
एउटा खुट्टा
एउटा हात,
र आधा टाउको थिएँ ! ( पृष्ठ २० )
आफ्नो विवेक बेचेर अरूको आदेश मात्र मान्ने प्रवृतिप्रति मीठो व्यंग्य गर्छन् कवि।
परिवर्तनको नाममा मानवता र विवेक पोलेर हिँडेको समयको ऐना देखाएका छन्।
असन्तोष, अन्याय र अत्याचारको आँधीमा विचेत भएको मस्तिष्कमाथि गरिएको डरलाग्दो राजनीतिलाई स्मरण गराउँछन् कवि पातालको कथा सुनाएर ...
अहिले पातालमा
पोर्न स्टारहरूको गुप्ताङ्गबाट घाम उदाउँछ।
कर्पोरेट कार्यलयहरूबाट समय हिँड्छ।
दुतावासहरूको निर्देशनमा हावा चल्छ (पृष्ठ- २६ )।
वर्तमान समयको दोग्लापनलाई कविले राम्रोसँग समीक्षा गरेका छन्। बेथितिको बेढङ्गीपनबाट चिरपरिचित छन्। सांस्कृतिक सभ्यतामाथि आधुनिक सभ्यता हावी हुँदा स्वर्गको भ्रम पालेर बसेका हामीलाई कवि कठालो समातेर देखाउँछन् पालालको डरलाग्दो संसार। पहिचान र मौलिकता मैलिएर म्लान भएको चित्र तैरिन्छ कविताका हरफहरूमा।
मौन आवाजका कवितामा समय सङ्गीतबद्ध स्वर छ। मान्छेको मनको चित्र छ। देशको कथा छ। व्यथा छ। आत्मसमीक्षाको आरसी छ। चेतनाको चिन्मय चौतारी छ। विवेकको विशाल विसौनी छ। समाज, सम्बन्ध, राजनीति, विचार र सोचलाई चिरफार गरेर पुनःनिर्माणमा अगि बढ्नुपर्ने अव्यक्त भाव छ।
मौनका आवाजका कवितामा असन्तोषको आगो मात्र छैन, सत्यको दयनीय अनुहार निरीह चिहाएको छ। बर्सौंदेखि समाजमा घटित संस्कारहरू आङका सम्पूर्ण लुगा फुकालेर विवस्त्र भएर आँखा अगाडि आएर नाच्नथाल्छन्। एक सच्चा नेपालीको हृदयमा, समय रून्छ धरधरी। हामीले भोग्दै आएको लामो समयको झिरले सचेतनाको आँखा घोच्दै नयाँ क्षितिजतिर लम्कन विवश पार्छन् मौन आवाज। सभ्यताको लास काँधमा बोकेर मलामीहरू जुलुस निस्किएको समयका साक्षी छौं हामी।
यहाँ क्रान्तिको कथा मात्र छैन प्रतिक्रान्तिको चेतनाको तेजिलो ज्योति छ। कवि भन्छन्...
गाउँ छोडेर सहर पस्नु,
कलेज पढ्नु,
बा आमा बिर्सनु
साथीभाइ-मेला पर्व,
जीवन संस्कृति भुल्दैभुल्दै जानु
र विश्व भुमण्डलीकरणको कुरा गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
माटो निधारमा लगाएर नारा लगाउनु
तर खेतबारी बाँझै राखेर
राष्ट्रवादको कुरा गर्नु,
त्यो अलिअलि नराम्रो कुरा हो
मुठ्ठी उठाउनु
लाल सलाम चिच्याउनु
कमरेड कमरेड खेल्नु
सबै राम्रै कुरा हो क्रान्तिकारी साथीहरू !
तर आगोमा जलेर आगो भएँ भन्नू
पानीमा डुबेर खरानी भएँ भन्नू
ज्यादै नराम्रो कुरा हो ( पृष्ठ ३० )
मन्त्र जस्ता शक्तिशाली कवितामा मौन आवाजको मौलिकपन छ। प्रगतिवादी चेतना छ। आध्यात्मिक दृष्टि छ। मौनका कविताले पाठकको हृदयमा कम्पन्न उत्पन्न गर्छ। आफ्नो वरिपरिको वातावरणमा थुप्रिएको फोहोरको दुर्गन्धबाट आजित भएर कवि चिन्ता मात्र प्रकट गर्दैनन् चिन्तनको चिन्मय ढोका खोल्छन्।
हामीले मान्दै आएको परम्पराप्रति पनि कवि प्रश्न उठाउँछन्। संस्कृतिलाई विहङ्गमदृष्टिले हेर्नु पर्ने तर्क राख्छन्। विचार र विवेकको द्वारबाट संस्कृति खोल्नुपर्ने विचार राख्छन् ...
बाजे एक आसावादी हुनुहुन्थ्यो।
बाजे एक आदिवासी हुनुहुन्थ्यो
बाजे माछा मार्न खोलामा गइरहनु हुन्थ्यो
र भ्यागुता लिएर आउनुहुन्थ्यो
आफ्नो छाप्रोमा आगो लागिसकेपछि
बाजेले बोक्नु भएको थियो रे हातमा ढुङ्गा
र व्यवस्थातिर ताकेर हान्दै गर्दा
स्वयं दिवङ्गत हुनु भएको थियो रे ...! ( पृष्ठ ३३)
कवि चिन्तनको चौतारीमा बसेर चेतनाको दिप बाल्छन्। अस्तित्वको आवश्यकतामा उठाएको त्यही ढुङ्गा आज कुल देवता बनेर पूजा कोठामा सजिएकोमा तीव्र रोष प्रकट गर्छन्। कवि दासहरूको कुनै देश हुँदैन भन्दै दासहरूको अवस्थालाई पृथक किसिमले परिभाषित गर्दै, दासहरूको मनस्थितिलाई व्यापक रूममा व्याख्या गरिदिन्छन्। घाम तापिरहेको बुद्धिजीवी को दैनिकीमा कटाक्ष गर्दै अगाडि बढ्दै एकादेशको शासकसँग परिचित गराउँछन्। म सबैथोक निल्न सक्छु भनेर आम मान्छेको भोकलाई कम नआँक्न चेतावनी दिँदै गाउँको बाटो खोज्दै हिँड्छन् अध्यात्मको विशाल मैदानमा मृत- चरा आफ्नै अन्तस्करणमा खोज्न...
न कुनै परिचय
न अस्तित्वको कुनै ठेगाना
दुर्घटित सपनाबाट ब्युँझिएको बेला
मैले त्यो मृतचरा देखेको थिएँ!
आँखा चिम्लेर आफैँलाई खोजेको बेला
मैले त्यो मृतचरा देखेको थिएँ !
आँखाबाट आँसु खस्न लागेको बेला
मैले त्यो मृतचरा देखेको थिएँ (पृष्ठ ५०)
हाम्रो चेतना नै त्यो मृतचरा हो। अब समय आएको छ चेतनाको आलोक छर्न। आफैले आफूलाई समीक्षा गर्दै सन्तुलनको यात्रामा निमग्न हुन। हराएको बच्चालाई पनि बोलाउँछन् कवि आध्यात्मिक चिन्तनको आभाबाट। जब चिन्मयको शक्तिले कवि आमाको हृदयभित्र प्रवेश गरेर मूल्यांकन गर्छन् बा र आमाको जीवन।
आमामाथि आफ्नो जातिबाट भएको अन्यायको मूल्याङ्कन गर्दै, बाहरूले गर्दै आएको आमाप्रतिको व्यवहारमा क्षमाशील हुन्छन्। अस्तित्व चेतनाको घमाइलो आँगनमा निफ्रिक्री उभिएर बोलाउँछन् सान्नानीहरूलाई र भन्छन् यो विरहको गीत गाउने बेला होइन। जब हृदय रूपान्तरित हुन्छ तब कवि आफूलाई म चैतन्य र चेतना दुवै हुँ भन्दै अमूर्त कुराहरूलाई मूर्त रूपमा देख्नथाल्छन् र भन्छन्...
मलाई पूराको आधा र आधाको पूरा
आंशिक ज्ञान छ
टुक्रालाई टुक्र्याएर एउटा
र एउटालाई जोडेर टुक्रा कसरी पार्न सकिन्छ
मलाई थाहा छ (पृष्ठ ५९ ) कवि भौतिक संसारबाट नै चाहर्छन् अभौतिक संसार। चिन्मयको आँखा उघ्रिएपछि देख्छन् अमूर्त कुरा। टुक्रामा पनि सिंगो र सिंगोमा पनि टुक्रा। मध्यरातमा एउटा गोप्य चिठी आइपुगेको छ यो सहरमा। भन्दै उत्खनन गर्छन् अस्तित्वको।
ईश्वर पुज्दै हिँड्दैनन् कवि उनलाई थाहा छ ईश्वरको हत्याको कथा। फेरि ईश्वरको हत्या भएको छ भत्किएका अनेक विश्वासमा। एकएक क्षण ईश्वरको हत्या भएको समयको सत्य प्रकट भएको बोधले निर्भय भएका छन् कवि। ईश्वरको हत्यापछि सम्राट भएका कवि भन्छन्...
म योद्धा हुँ,
मैले सबै युद्ध जितिसकेँ
भावनाका युद्ध
विचारका युद्ध
संवेदना र संचेतनाका युद्ध,
प्रेम र घृणाका युद्ध !
अभाव दुःखका युद्ध!
म विजेता हुँ
मैले सबै शून्यताहरू जितेको छु ! (पृष्ठ ७०)
कवि साँच्चै सम्राट भएका छन् जसले स्वयंलाई जितेका छन्। जसले दुःखलाई नै साम्राज्य बनाएर हिँडेको छ। उसको गुनासो सकिन्छ। गुनासो रहित जीवन मुक्त जीवनको रङ हो। पराजयलाई जित्नु। आँसुको नदीलाई आफ्नो ठान्नु। पीडाका पहाडमा नित्य उक्लिनु। दुखिरहने आत्मा र असङ्ख्य घाउलाई प्रेम गर्नुको अवस्था मोक्षको अवस्था हो। आफूलाई जितिसकेका कवि भन्छन् म प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली ! दिन्छु। विमुक्त र चैतन्यको भावमा भन्छन्, 'तिमी कुनैपनि पल\ कुनैपनि क्षण नआएपछि
मैले हरेक क्षण \ हरेक पललाई प्रेम गर्न थालेँ ! (पृष्ठ ७४ )
जब सङ्कीर्णताको जालो तोडेर कवि समयको बोध गर्दै प्रेमको उचाइमा पुग्छ, प्रेमको व्यापकतालाई गहिराइमा पुगेर आत्मसाथ गर्छ तब प्रकाशित हुन्छ बोधी सत्य।
आइमाईहरू बारम्बार किन नष्ट हुन्छन्? भनेर कवि सूक्ष्म पाटाहरूलाई केलाउँदै भन्छन्...
हरियो घाँस पशुले खाएर नष्ट भए झैँ
कसरी आइमाईहरू नष्ट हुन्छन् ?
समानताको पर्खालबाट लडाएर
नष्ट पारिएका आइमाईहरू
सनातन परम्पराले किचेर
नष्ट पारिएका आइमाईहरू
समाज/ संस्कृति र संस्कारको बार्दलीबाट खसाएर
नष्ट पारिएका आइमाईहरू
यौन, युद्ध र प्रेमको नाममा नष्ट पारिएका आइमाईहरू
नष्ट पारिएका ती सबै आइमाईहरूको लासमाथि उभिएर
म कहिलेकाहीँ सोच्छु आइमाईहरू नष्ट हुँदा के के नष्ट हुन्छन् पृष्ठ ( १०७ )?
निराकार भएर नयाँ ईश्वर बनेका कविको सोचाइ पृथक किसिमको छ। आम मान्छेको सोचाइ जहाँ टुङ्गिन्छ, त्यहीँबाट मौन आवाजको सोचाइ आरम्भ हुन्छ। मौन आवाजका कवितामा निर्भीकता छ। शब्द र बिम्बहरूको चयन पनि पृथक छ। बेजोड छ। कतिलाई लाग्न सक्छ यी शब्दहरू नलेखेको भए पनि त हुन्थ्यो ! तर पढ्दै जाँदा शब्दले अनेक अर्थ बोल्छ।
मौन आवाजका कवितामा भएको मौलिकता र प्रगतिशीलताका कारण पाठकलाई आकर्षित पार्छ। सरलताभित्रको व्यापकता नै मौनका कविताका विशेषता रहेका छन्। मौन ईश्वरको भाषा हो बाँकी सबै अनुवाद हो भन्ने रूमीको भनाइलाई मौन आवाजको काव्यशक्तिले चरितार्थ गरेको छ। सहर, शान्ति, सद्भाव, सहकार्य, सहअस्तित्व, संवेदना र सन्तुलनको सिद्धान्तलाई आत्मसाथ गर्न उत्प्रेरित गरेको छ। प्रकृति, प्रेम, प्रयोग, प्रयास, पीडा, पिर, पश्चातापको गहिरो उभार छ।
मौन आवाजका कविताले चिन्ता, चिन्तन र चेतनाको डमरू बजाएर पाठकको मस्तिष्कमा सन्तुलन र रूपान्तरणको नयाँ सूर्य प्रकट गर्छ। सन्तुलित समाज, सन्तुलित प्रकृति र शान्त मानव जीवनमा सबैलाई सहभागी हुन आह्वान गर्दै मौनका काव्यका शक्तिशाली शब्दहरू पाठकको मन र मस्तिष्कमा झन्झनाहट उत्पन्न गर्दै ताण्डव गर्छन्। विवस्त्र विवेकको विद्रूप समयमा मौनका कवितामा उत्पन्न भएको उछालमा आफ्नै छाया देखिन्छ।
भुईं मान्छेको जीवन भुईंमा के कसरी घिस्रिँदैछ भन्ने सत्यबाट कवि टाढा छैनन्। मलाई यस्तो लाग्यो मौन आवाजका कवितामा स्वयम्भूको आँखा मुस्कुराउँछन्।
स्वयम्भूका आधा खुला र आधा बन्द आँखाले अनुरोध गर्छ तिमी शान्ति र सन्तुलित समाज चाहन्छौ भने तिम्रा आधा आँखाले बाहिरी जगतलाई हेर आधा आँखाले अन्तर जगतलाई हेर। कवि आत्मज्ञानको उपल्लो तहमा पुगेर कविता कोर्छन्। महाकविको पागल कवितामा झैँ अमूर्तलाई छुन्छन्, मूर्तलाई महसुस गर्छन्।
अन्तिमा मौन आवाजका कविता किन पढ्ने? समयको आवाज सुन्न। प्रतिरोधी चेतनाको श्रुतिमधुर संगीतको शक्तिलाई प्रकट गर्न। ज्ञानभन्दा परको ज्ञानलाई बोध गर्न। समाजका सूक्षमातिसूक्ष्म तत्वहरूमाथि परेको मानवीय दुष्प्रभावहरू, अज्ञान, अटेर, अन्धकार र अवरोधले उत्पन्न गरेको दुष्परिणाममाथि सचेत हुनुपर्ने आवाजलाई सुन्न।
मौनको शक्तिलाई स्वीकार्न। साथै घुम्ने मेचमाथि बसेको अन्धोमान्छेलाई बेनाम नदी बग्ने निर्जन जंगलमा ल्याएर आत्मसमीक्षा गर्दै आत्ममीमांसाको कलाले पूर्ण मानव बनाउन मौन आवाजका कविता पढ्नै पर्छ।
समयको गति सँगै समालोचनाका विभिन्न सिद्धान्तको कसीमा यी कविताहरूलाई हेरिने नै छ।
जोखिने नै छ। सीमाहरू पनि कोरिने छन् तर आज सीमाको कुनै सीमा देख्दिनँ मात्र भाषा सम्पादनमा थोरै त्रुटिहरू देखिएको छ त्यो पनि चन्द्रमामा दाग देखिए झैँ ...