कविता विचार र भावनालाई सौम्य र सन्तुलित हिसाबले अभिव्यक्त गर्ने माध्यम हो।
देखिएका पनि र छोपिएका पनि वा भनौँ आधा खोलिएका झ्यालजस्ता कविता म स्वाद मानेर रसपान गर्छु।
चर्को विचार लेख्दा सस्तो नारा हुन्छ, अतिशय भावुकता लेख्दा विचार मर्छ। कवि जोगिएर हिँड्नुपर्ने चुनौती मलाई जहिल्यै यहीँनिर लाग्छ। कला र विचार दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् कवितामा। कवि कविता मात्रै लेख्छ कि कविताजस्तै बाँच्छ भन्ने कुराले पनि अर्थ राख्छ।
कविता लेखनको प्रकृति र प्रवृत्ति सधैँ उस्तै रहँदैन। जसरी समय सधैँ एउटै रहँदैन। एक जुग थियो, कविता प्रायः आदर्श, नैतिकता, वीरता र भक्तिका विषयवस्तु वरपर घुम्थे। आजका कवितामा कविहरू आफू र आफ्नै अस्तित्व खोज्छन्। त्यहाँ हुन सक्छ प्रवास अनुभव, सांस्कृतिक घुलमिल, पर्यावरण संरक्षण र राजनीतिले सम्बोधन गर्न नसकेका सीमान्तकृत मान्छेका सपना, संघर्ष, देशभक्ति, प्रेम आदि इत्यादि। अहिले त झन् कविता डिजिटल युगमा प्रवेश गरिसक्यो। जेनजी कविहरूको सोच, शैली, प्रस्तुति त झन् नयाँ छ। तिनले आफ्नै समयको बुझाइ र भोगाइ लेख्छन्। छोटो तर शक्तिशाली तरिकाले।
मकालु बुक्सले प्रकाशनमा ल्याएको शरद पराशर मरहट्टाको ताजा कविता कृति ‘यता कि उता’ भर्खरै पढेर सकें।
आवरण चित्र सरल छ तर अर्थपूर्ण छ। प्रथम पाइला टेकेको माटो र पिठोको खोजिमा हिँडेको बाटो दुवैतिरको मायाले जेलिएको दुविधायुक्त मनोविज्ञान त्यहाँ प्रतिबिम्बित भएको छ। रङ संयोजनको तौरतरिका मिलाउन पाएको भए आवरण शायद अझै आकर्षक देखिने थियो।
विभिन्न कालखण्डमा लेखिएका तर छानेर संग्रहमा राखिएका यी कविताहरूमाथि आत्मीय भूमिका लेख्दै प्रा. डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन्, कविता कविता जस्तै हुनु वा कवितामा कवितात्मकता हुनु अनिवार्य सर्त हो।
कवि मरहट्टाले त्यो सर्त निभाएका छन्। त्यसैगरी कवि ऋषि बस्ताकोटीले कृति र कृतिकारको संक्षिप्त परिचय दिँदै भनेका छन्, शरद पराशर गहिरो भावमा, आफ्नै शिल्पमा, विषय विविधतायुक्त कविता लेख्ने कवि त हुँदै हुन्, माटो, बाली र किसान पनि बुझेका एक कृषिविज्ञ हुन्।
कविता संग्रह 'यता कि उता' लाई मूल रूपमा यी दृष्टिकोणबाट हेर्न सकिन्छ।
पहिलो हो प्रवासी मनोविज्ञान।
खुसी पनि तेरो
रोजाइ पनि तेरो
उताको माटो या यताको पिठो
होला, अग्ला बन्धु बान्धवहरू
अथवा एक्लोपन
जे मन लाग्छ रोज्
तर मलाई भन्
तँ यता बस्छस् कि उता?
पुर्खाको थलो उतै छ। पिता, माता आफन्तजन उतै छन्। समाज, संस्कृति र पर्व उतै छन्। सम्झना उतैको धेरै छ। फेरि सन्तान यता छन्। जागिर यतै छ। जिम्मेवारी यता पनि छ। जन्मभूमि र मातापिताको मायाले उता बोलाउँछ। सन्तानमाथिको कर्तव्यबोधले यतैतिर खुट्टा बाँध्छ। कविको मात्रै होइन, हामी प्रवासमा रहेका अधिकांश नेपालीको परिस्थिति यस्तै-यस्तै हो। यसर्थ ‘यता कि उता’ शीर्षकको यो कविता आम प्रवासी नेपालीको मनभित्र बस्न सफल कविता हो।
दोस्रो कोण हो सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधि आवाज बोल्ने कविता। एउटा त्यस्तै कविता हेरौँ। कविताको नाम हो रामलखनहरू।
चुनावी आश्वासनका सपनाहरू
पजेरोको रफ्तारसँगै गुडेको बेला
शान्ति सुरक्षाका पहराहरू
एम्बुसको ध्वनिसँगै उडेको बेला
सहरहरू मौन
बस्तीहरू स्तब्ध
सबै चुपचाप रहेको बेला
युगका बलिष्ठ मानसपुत्रहरू
धर्तीको बाँझो फोरिरहन्छन्
रामलखनहरू अझै पनि खेत जोतिरहन्छन्।
गरिब, किसान, महिला, मजदुर र दलित मुक्तिका कुरा गरेर भोट बटुल्नेहरू चुनाव जितेर गएपछि जनता बिर्सेर पजेरोमुखी हुन पुगेको व्यक्तिगतनाफामुखी राजनीतिलाई कवि मरहट्टाले राम्रैसँग ऐना देखाइदिएका छन्।
तेस्रो हो प्रकृति र पर्यावरण संरक्षणको विषय समेटिएका कविता। त्यस्तै विषयमध्यको एक कविता हो ‘अविरल नारायणी’।
ऊ सम्भवतः ऊर्जाशक्तिको नाम हो
पूजा, आराधनाको नाम हो
र त बाँच्नेहरूका लागि
गति हुनुको अर्थमा
ऊ जाँगरहरूको पर्याय बनिरहन्छ
नारायणी अविरल बगिरहन्छ।
यस कवितामा कविले नदीलाई प्रकृति, शक्ति र गतिको त्रिवेणीका रूपमा हेर्ने कोसिस गरेका छन्।
चौथो हो राजनीति र द्वन्द्वले निम्त्याएका परिणामहरू। मलामी देश शीर्षकको कवितामा कविले यसरी बोलेका छन्।
निरन्तर बग्ने हिमनदीहरू
शनै शनै रक्तनलीमा अनुवाद हुँदै गर्दा
आकाशमा बेफुर्सदी बाजहरू
अशोकस्तम्भको क्षितिजमा उडिरहँदा
बारूद उड्नुको पटाक्षेपसँगै
सधैँ सधैँ श्रद्धाञ्जलीहरू पोख्दै
रोइरहेको छ मेरो देश।
राजनीतिक द्वन्द्वको चपेटामा परेर हरेक दिनजसो मृत्युवरण गर्न बाध्य नेपाली र तिनको मृत्युमा निरूपाय मलामी बनेर उभिएको देश हामीले देखेरै आएका हौँ। त्यो त्रासदी भोगेरै आएका हौँ। २०५८ सालमा लेखिएको कविताले देश र जनताको हालतलाई कारूणिक तवरले उजागर गरेको छ।
जस्तो कविको व्यक्तित्व छ, त्यस्तै सौम्य छन् कविताहरू। सरल, पाठकमैत्री र सम्प्रेषणीय हुनु मरहट्टाका कविताका विशेषता हुन्। बलिया पक्ष हुन्। माथि उल्लेखित विषयबाहेक जन्मको देश र कर्मको देशमा रहँदाका सम्झना, भोगाइ, भिन्नताहरू समेटिएका कविता छन्। जीवनदर्शन, प्रेम, सकारात्मक सोच, आत्मबोध र समाजबोधका पैँतालीस थान कविता ‘यता कि उता’ पुस्तकमा संग्रहित छन्। मलाई त लाग्छ, यस संग्रहमा सुनजस्ता कविता छन्। अब सुनको क्यारेट कति हो त भनेर भन्नका निम्ति पाठकका पनि आ-आफ्नै कसी लगाउने आधार हुन सक्छन्।