पुस्तक समीक्षा
राजीव उपाध्यायको भर्खरै प्रकाशित पुस्तक ‘जायन्ट्स एट द गेट्स: नेपाल इन अ वर्ल्ड अफ रिअर्डर’ पढ्दै गर्दा पाँचौँ अध्याय ‘कम हेल अर हाई वाटर’ मा पुगेपछि म एकछिन रोकिएँ।
कारण थियो—रसुवाको हालैको त्रासदी।
यसको संयोग के छ भने, २६ अगस्टको त्यो घटना हुनुभन्दा केही दिनअघि मात्र फाइन प्रिन्टले यो पुस्तक सार्वजनिक गरेको थियो। ३१३ पेज र १२ वटा अध्याय रहेको पुस्तकको पाँचौँ अध्याय ‘कम हेल अर हाई वाटर’ मा उपाध्यायले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको र भोग्न सक्ने जोखिमबारे लेखेका छन्।
उनले रसुवाको घटना भविष्यवाणी गरेका होइनन्; उनले त्यसको पछाडि रहेका संरचनात्मक जोखिमलाई देखाएका थिए। केही दिनपछि रसुवाले त्यही जोखिमलाई आफ्नै कठोर भाषामा देखाइदियो।
उपाध्याय हिमाललाई ‘थर्ड पोल’ का रूपमा हेर्छन्। हिमालको हिमनदी र पानी दक्षिण एसियाको कृषि, ऊर्जा, खानेपानी र करोडौँ मानिसको जीवनसँग जोडिएको छ।
तर लेखकको नजर प्रकृतिमै रोकिँदैन। उनी विश्व व्यवस्थातिर फर्किन्छन्। हरेक वर्ष हुने जलवायु सम्मेलनहरूमा देशहरू प्रतिबद्धता व्यक्त गर्छन्, तर शक्तिशाली राष्ट्रका स्वार्थले ती प्रतिबद्धतालाई कमजोर बनाइरहेको उनको तर्क छ।
नेपालको विडम्बना झन् ठूलो छ। विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको हिस्सा अत्यन्त सानो छ, तर जलवायु परिवर्तनको असर भने अनुपातभन्दा धेरै ठूलो छ। उपाध्यायले प्रयोग गरेको ‘नन–स्मोकर नेसन’ को मेटाफरले यही भन्छ—धुवाँ कम गर्ने देशले धुवाँको असर बढी भोगिरहेको छ।
यहीँबाट ‘जायन्ट्स एट द गेट्स’ परम्परागत भारत–चीन केन्द्रित भू–राजनीतिक बहसभन्दा फराकिलो हुन्छ। जलवायु परिवर्तन यसको एउटा महत्वपूर्ण विषय हो, तर पुस्तकको मूल केन्द्र त्यतिमै सीमित छैन। यसको प्रश्न बदलिँदो विश्व शक्ति–सम्बन्धमा नेपालले आफ्नो स्थान कसरी बनाउने भन्ने हो।
पुस्तक पढिसकेपछि यसको सबैभन्दा स्पष्ट टेकअवे पनि यही हो—यो नेपाललाई एउटा प्रिज्म बनाएर विश्व राजनीतिलाई पढ्ने प्रयास हो। उपाध्याय नेपालबाट विश्वलाई हेर्छन्; तर त्यही दृष्टिबाट विश्वका ठूला परिवर्तनहरू नेपालभित्र कसरी प्रवेश गरिरहेका छन् भन्ने पनि देखाउँछन्।
यसमा जेन–जीपछि नेपालमा देखिएको नयाँ सोच र नयाँ आकांक्षालाई पनि जोडेर हेर्न सकिन्छ। नयाँ पुस्ताले पुरानो तरिकाले मात्र सोच्न चाहँदैन। उसले प्रश्न गर्छ, जबाफ खोज्छ र विश्वसँग अझ नजिक भएर जोडिन चाहन्छ। यहीँ लेखकले नेपालको पुरानो ‘बफर’ सोचलाई पनि चुनौती दिन्छन्।
पुस्तकमा आएको अर्को महत्वपूर्ण कुरा हो—‘एसियन रेनेसान्स’। विश्व शक्ति पश्चिमबाट पूर्वतर्फ सर्दै गएको बहस नयाँ होइन। एसियाले अब आफ्नो स्टोरी आफै भन्न खोजिरहेको छ।
यही सन्दर्भमा एडवर्ड सइदको ‘ओरिएन्टालिज्म’ सम्झन सकिन्छ। सइदले एउटा महत्वपूर्ण प्रश्न उठाएका थिए—पूर्वको कथा कसले लेख्छ? पश्चिमले पूर्वलाई कसरी हेर्छ र संसारसामु कसरी देखाउँछ?
यो कुरा किताबमा मात्र होइन, मिडिया र सिनेमामा पनि देखिन्छ। लामो समयसम्म पूर्वलाई पश्चिमी मिडिया, किताब र फिल्महरूले आफ्नै नजरबाट देखाए। कहिले रहस्यमय, कहिले गरिब, कहिले अस्थिर, त कहिले पछाडि परेको ठाउँका रूपमा। यस्तो चित्रण पटक–पटक दोहोरिँदा पूर्वबारे संसारको एउटा निश्चित धारणा बन्न पुग्यो।
सइदको कुरा सरल छ—अरूले तपाईंको बारेमा कथा लेख्नु र तपाईंले आफ्नो कथा आफैँ भन्नु फरक कुरा हो। कथा कसले लेख्छ, कसले देखाउँछ र कसको आवाज सुनिन्छ भन्ने कुरा पनि पावरसँग जोडिएको हुन्छ।
यही ठाउँमा ‘जायन्ट्स एट द गेट्स’ जोडिन्छ। एसियाको यो पुनर्जागरण नेपालका लागि टाढाको कुरा होइन। यसको असर हाम्रो डिप्लोमेसी, इकोनोमी, युवा पुस्ताको सोच र विश्वसँग नेपालको सम्बन्धमा पनि देखिन थालेको छ।
अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्नेहरूका लागि किशोर महबुबानी र पराग खन्नाजस्ता लेखकहरूले एशियाको बदलिँदो भूमिका लामो समयदेखि उठाउँदै आएका छन्। महबुबानीले चीनको उदय र एशियाको पुनरागमनलाई विश्व शक्ति–सन्तुलनमा आएको ठूलो परिवर्तनका रूपमा हेर्छन्।
पराग खन्नाले यो परिवर्तनलाई ट्रेड, क्यापिटल, इन्फ्रास्ट्रक्चर, टेक्नोलोजी र कनेक्टिभिटीबाट हेर्छन्। सडक, रेल, पोर्ट, व्यापार र डिजिटल नेटवर्कले एशियालाई नयाँ ढंगले जोडिरहेका छन्।
राजीव उपाध्यायको विशेषता के हो भने उनले यही ठूलो बहसलाई नेपालतिर फर्काएका छन्। छिमेकीहरू शक्तिशाली बन्दै जाँदा नेपालले उनीहरूबीच ब्यालेन्स मात्र गर्ने हो, कि बदलिँदो एशियाबाट आफ्नै अवसर पनि खोज्ने हो?
यस अर्थमा उपाध्यायको पुस्तक नेपाली आँखाबाट एशियाली पुनर्जागरणलाई पढ्ने प्रयास हो।
उपाध्यायले पुस्तकको शीर्षकमै एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्छन्—‘अर्डर’ होइन, ‘रिअर्डर’। अर्थात्, विश्व व्यवस्था सकिएर नयाँ व्यवस्था सुरु भएको मात्र होइन; पुरानो व्यवस्था फेरि मिलिरहेको छ, शक्ति–सम्बन्धहरू बदलिरहेका छन् र नयाँ समीकरणहरू बनिरहेका छन्।
पुस्तक पढ्दै जाँदा, आजको विश्व राजनीतिमा चासो राख्ने पाठकका रूपमा मलाई अर्को शब्द पनि सम्झना आउँछ—‘रप्चर’। ‘रप्चर’ भनेको पुरानो निरन्तरतामा आएको ठूलो धक्का वा भाँचिएको अवस्था भनेर बुझ्न सकिन्छ।
उपाध्यायले यी दुई शब्दलाई सँगै राखेर बहस गरेका होइनन्। तर पुस्तक पढ्दै जाँदा, पाठकका रूपमा यी दुईबीचको सम्बन्ध देखिन्छ। अहिले विश्वमा धेरै कुरा एकैपटक बदलिरहेका छन्। अमेरिका–चीन प्रतिस्पर्धा, रुस–युक्रेन युद्ध, कोभिडपछि बदलिएको विश्व, टेक्नोलोजीको तीव्र विकास, क्लाइमेट चेन्ज र एशियाको बढ्दो प्रभाव—यी सबैले पुरानो विश्व व्यवस्थालाई हल्लाइरहेका छन्।
यही ठाउँमा ‘रिअर्डर’ शब्द अझ अर्थपूर्ण लाग्छ।
सन् २०२६ को डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि आजको अवस्थालाई सामान्य परिवर्तनका रूपमा मात्र हेरेनन्। उनले यसलाई ‘रप्चर’ का रूपमा व्याख्या गरे।
पाठकका रूपमा मलाई यहाँ एउटा सरल सम्बन्ध देखिन्छ। कार्नीको ‘रप्चर’ले के टुट्दैछ भन्ने देखाउँछ भने उपाध्यायको ‘रिअर्डर’ले त्यसपछि के बन्दैछ भन्ने प्रश्न गर्छ।
शक्ति अब कहाँ सर्दैछ? नयाँ सम्बन्ध र नयाँ समीकरण कसरी बन्दैछन्? अनि ‘जायन्ट्स एट द गेट्स’ पढ्दै जाँदा यही प्रश्नहरू बारम्बार अगाडि आउँछन्। पुस्तकले नेपाललाई बदलिँदो विश्वबाट अलग राखेर हेर्दैन। बरु, विश्वमा भइरहेको यो ठूलो परिवर्तनभित्र नेपालले आफ्नो ठाउँ कसरी खोज्ने भन्ने कुरा बुझ्न खोज्छ।
उपाध्याय यो प्रश्नलाई बाहिरबाट हेर्ने पर्यवेक्षकका रूपमा मात्र उठाउँदैनन्। उनको लामो पत्रकारिता र नीतिगत अनुभव नै उनको भ्यान्टेज पोइन्ट हो। पत्रकारिताबाट सुरु भएको उनको यात्रा विश्व बैंकसम्म पुग्छ, जहाँ काठमाडौंमा बाह्य मामिला विशेषज्ञका रूपमा काम गर्दा उनले नेपालको राजनीति, अर्थतन्त्र, विकास, राज्यका संस्था र अन्तर्राष्ट्रिय सम्बन्धलाई नजिकबाट न्याभिगेट गर्ने मौका पाए।
उनको पहिलो पुस्तक क्याबल्स एन्ड कार्टेल्समा प्रिज्म मुख्यतः नेपालभित्र थियो—राजनीति, पैसा, शक्ति र राज्य सञ्चालनका भित्री तहलाई हेर्ने। जायन्ट्स एट द गेट्समा त्यही प्रिज्म फराकिलो हुन्छ। क्यानभास नेपालबाट बाहिर जान्छ, बदलिँदो विश्वलाई म्यापिङ गर्छ र फेरि नेपालमै फर्किन्छ।
त्यसैले पुस्तकका १२ वटा अध्यायलाई अलग–अलग विषयका रूपमा मात्र पढ्दा यसको मूल कुरा छुट्न सक्छ। हिमाल, कनेक्टिभिटी, आप्रवासन, ऊर्जा, जलवायु, एसियाको उदय, दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था, निक्सन शकदेखि कोभिडपछिको बदलिँदो विश्व र जेन–जीपछिको नेपालको नयाँ आकांक्षा, अनि राज्यको क्षमता—यी सबै विषय अन्ततः एउटै प्रश्नमा आएर जोडिन्छन्:
विश्व बदलिँदै गर्दा नेपालले आफ्नो ठाउँ कसरी बनाउने?
यो पुस्तकको अर्को ठूलो शक्ति यसको तथ्य, तथ्याङ्क र सन्दर्भको गहिराइ हो। उपाध्यायले न्युक्लियर स्टोरेजदेखि विश्व अर्थतन्त्र, व्यापार, ऊर्जा र विकाससम्मका तथ्याङ्कलाई बलियो आधारसहित प्रस्तुत गरेका छन्। यी तथ्यहरू जानकारीका लागि मात्र होइनन्; तिनले पुस्तकको मूल तर्कलाई विश्वसनीय बनाउँछन्।
लेखकको लामो लेखन अनुभव पनि पुस्तकमा स्पष्ट देखिन्छ। पत्रकारका रूपमा घटनालाई नजिकबाट हेरेको अनुभव र नीतिगत क्षेत्रमा काम गरेको ज्ञानले पुस्तकलाई जटिल भू–राजनीतिक बहसमा सीमित हुन दिएको छैन। उनले ग्रीक दर्शन, साहित्य, इतिहास र विश्व राजनीतिका प्रसङ्ग जोडेर कठिन विषयलाई सहज भाषामा प्रस्तुत गरेका छन्। त्यसैले पुस्तकमा अनुसन्धानको गहिराइसँगै कथाकारको प्रवाह पनि छ।
पुस्तकको सुरूआत ‘अफ पोल्स, पिभट्स एन्ड प्राग्माटिज्म’बाट हुन्छ। यहीँ लेखकले नेपाललाई भारत र चीनबीचको ‘बफर स्टेट’ भनेर हेर्ने पुरानो सोचलाई प्रश्न गर्छन्। ‘पिभट’ यहाँ कूटनीतिक शब्द मात्र होइन। यसको सीधा अर्थ हो—नेपालले कुनै एउटा शक्ति–केन्द्रको पक्ष लिएर बस्ने होइन। आफ्नो हित हेरेर भारत, चीन, अमेरिका र अरू शक्तिसँग सम्बन्ध अघि बढाउने हो।
जहाँ फाइदा हुन्छ, त्यहाँ सहकार्य गर्ने। परिस्थिति बदलिँदा आफ्नो प्राथमिकता पनि बदल्ने। र सकेसम्म विकल्पहरू खुला राख्ने।
पुस्तकको पहिलो अध्याय, ‘द सम अफ अपोजिट्स’, बाटै उपाध्यायले नेपालको मुख्य समस्या समात्छन्। नेपाललाई विकास, लगानी र बाह्य बजार चाहिन्छ। तर त्यही बाह्य निर्भरताले प्रभाव पनि बढाउन सक्छ। त्यसैले विकास र परराष्ट्र नीति अलग कुरा होइनन् भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ।
दोस्रो अध्याय, ‘ब्रिजेज टु नोवेयर’, मा उनी कनेक्टिभिटीको अर्को पक्ष देखाउँछन्। सडक, रेल, पुल र करिडोर विकासका आधार हुन्, तर यिनले निर्भरता पनि बढाउन सक्छन्। त्यसैले कनेक्टिभिटीको मूल्य केवल कति लगानी आयो वा कति किलोमिटर सडक बन्यो भनेर होइन, त्यसले नेपालको रणनीतिक स्वतन्त्रतामा के असर गर्छ भनेर हेर्नुपर्छ।
‘अ कन्सर्ट अफ सिभिलाइजेसन्स’ मा बहस अझ फराकिलो हुन्छ। एशियाको राइजलाई उनी चीनको उदय वा भारतको प्रभाव बढेको घटनामा मात्र सीमित गर्दैनन्। इतिहास, संस्कृति, ज्ञान, टेक्नोलोजी र नयाँ सोचले पनि एशियाको नयाँ शक्ति बनाउँदै छन् भन्ने देखाउँछन्।
‘सेकेन्ड चान्स’ पढ्दा नेपालको गुमेका अवसर सम्झना आउँछन्। बदलिँदो विश्वले नेपाललाई नयाँ अवसर दिएको छ, तर अवसर आफैँ उपलब्धि बन्दैन। त्यसका लागि सही समयमा निर्णय गर्ने क्षमता, राम्रो नीति र बलिया संस्था चाहिन्छ।
‘अ युजेबल पास्ट’ मा इतिहासलाई नयाँ ढंगले हेर्न खोजिएको छ। नेपालको विगतका कूटनीतिक अनुभव र सम्बन्धबाट आज के सिक्न सकिन्छ? लेखक इतिहासलाई केवल सम्झनाको विषय होइन, अहिलेको नीति बनाउन उपयोग गर्नुपर्ने स्रोतका रूपमा हेर्छन्।
‘फ्ल्याटेनिङ द कर्भ’ ले विश्व संकट र नेपालको सम्बन्ध देखाउँछ। कोभिडपछि यो कुरा झन् स्पष्ट भयो—विश्वमा आएको संकट नेपालभित्र पनि आइपुग्छ। पर्यटन, रोजगारी, रेमिट्यान्स, व्यापार र सप्लाइ चेन सबै एकअर्कासँग जोडिएका छन्।
‘न्येत मिन्स न्येत’ मा लेखकको दृष्टि अझ व्यावहारिक हुन्छ। ठूला देशका आफ्नै सुरक्षा र रणनीतिक स्वार्थ हुन्छन्। उनीहरूले नेपालको हितलाई सधैँ पहिलो प्राथमिकता दिन्छन् भन्ने अपेक्षा गर्न सकिँदैन। त्यसैले नेपालले अरूको प्रतिबद्धतामा मात्र भर नपरी आफ्ना विकल्प आफैँ बनाउनुपर्छ।
‘मोविङ द ग्रास’ ले प्रभाव सधैँ देखिने गरी आउँदैन भन्ने सम्झाउँछ। लगानी, पूर्वाधार, टेक्नोलोजी, बजार र आर्थिक सम्बन्धबाट पनि प्रभाव बढ्न सक्छ। त्यसैले नेपालको कूटनीति घटना भएपछि प्रतिक्रिया दिने मात्र होइन, प्रभाव कसरी बन्दैछ भनेर पहिले नै बुझ्ने हुनुपर्छ।
एघारौँ अध्यायमा बहस फेरि नेपालमै फर्किन्छ—राज्यको क्षमतामा। बाह्य अवसर जतिसुकै ठूलो भए पनि त्यसलाई राष्ट्रिय फाइदामा बदल्न बलिया संस्था, स्थिर नीति र राम्रो शासन चाहिन्छ। कमजोर राज्य क्षमताका कारण नेपालले धेरै अवसर गुमाएको तर्क यहाँ बलियो देखिन्छ।
अध्याय १२, ‘अवर प्लेस इन द सन’, मा उपाध्याय फेरि नेपालको पुरानै प्रश्नमा फर्किन्छन्। व्यवस्था बदलियो, संविधान बदलियो, सरकार फेरिए। तर देशको राज्य क्षमता र आर्थिक अवस्था भने किन अपेक्षाअनुसार बदलिन सकेन?
यो भाग पढ्दा मलाई ड्यारोन एसेमोग्लु र जेम्स ए. रोबिन्सनको ‘ह्वाइ नेसन्स फेल’ सम्झना आयो। यो उपाध्यायको रेफरेन्स होइन। उनले आफ्नो तर्क बनाउन यो किताबलाई आधार बनाएका पनि होइनन्। तर पाठकका रूपमा दुवै बहसलाई सँगै सम्झन सकिन्छ, किनकि दुवैले देशको विकासमा संस्था र राज्य क्षमताको महत्वतर्फ ध्यान दिन्छन्।
उपाध्यायले नेपालको आफ्नै अनुभवबाट कुरा गर्छन्। संविधान मात्र बनाएर पुग्दैन। त्यसलाई लागू गर्ने संस्था बलिया हुनुपर्छ, राजनीतिक संस्कार जिम्मेवार हुनुपर्छ र सरकार जवाफदेही हुनुपर्छ। यी कुरा कमजोर भए संविधानले दिएको अधिकार कागजमै सीमित हुन सक्छ।
यही कारणले ‘अवर प्लेस इन द सन’ पुस्तकको निष्कर्षजस्तो लाग्छ।
लेखकको कुरा सीधा छ—नेपाललाई अर्को व्यवस्था मात्र होइन, काम गर्ने राज्य चाहिएको छ। सेप्टेम्बर २०२५ पछि जेन–जीमा देखिएको असन्तोषलाई पनि यही कुरासँग जोडेर हेर्न सकिन्छ।
जेन–जीको प्रश्न सरकारमा को आयो भन्ने मात्र होइन। राज्यले काम गर्छ कि गर्दैन? जनतालाई सेवा दिन्छ कि दिँदैन? युवाले देशमै आफ्नो भविष्य देख्न सक्छन् कि सक्दैनन्?
‘जायन्ट्स एट द गेट्स’को सिनोप्सिसलाई फ्रान्सिस फुकुयामा र स्यामुअल हन्टिङ्टनका बहसमा रिलेट गर्नु उपयोगी हुन्छ। फुकुयामाको द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान र हन्टिङ्टनको द क्ल्यास अफ सिभिलाइजेसन्स एन्ड द रिमेकिङ अफ वर्ल्ड अर्डर शीतयुद्धपछिको विश्वलाई बुझ्ने दुई चर्चित दृष्टिकोण हुन्।
शीतयुद्ध सकिएपछि फुकुयामाले उदार लोकतन्त्रको विजयलाई इतिहासको अन्तिम ठूलो वैचारिक चरणका रूपमा हेरे। हन्टिङ्टनले भने त्यसपछिका द्वन्द्वलाई सभ्यता, संस्कृति र पहिचानका आधारमा हेरे। उनीहरूका निष्कर्ष फरक थिए, तर प्रश्न एउटै थियो—शीतयुद्धपछि विश्व कता जाँदैछ?
‘जायन्ट्स एट द गेट्स’मा उपाध्यायले यही प्रश्नलाई आजको सन्दर्भमा उठाएका छन्। उनी विश्व कहाँ पुगिसक्यो भनेर अन्तिम निष्कर्ष दिँदैनन्; अहिले के बदलिँदैछ भनेर देखाउँछन्। अमेरिका र चीनबीचको प्रतिस्पर्धा बढिरहेको छ, भारतको भूमिका विस्तार हुँदैछ, एशिया आर्थिक र रणनीतिक रूपमा बलियो बन्दैछ, र नयाँ प्रविधिले शक्ति प्रयोग गर्ने तरिका बदलिरहेको छ। यी सबैले पुरानो विश्व व्यवस्थालाई पुनःव्यवस्थित गरिरहेका छन्।
यही कारण उपाध्यायको ध्यान नेपालतर्फ फर्किन्छ। नेपाललाई जाइन्ट भारत र चीनको बीचमा रहेको ‘सानो देश’ भनेर मात्र हेर्ने पुरानो दृष्टिकोण अब पर्याप्त छैन।
पुस्तकको अन्त्यतिर उपाध्यायले जर्ज अर्वेललाई सम्झिन्छन्।
सन् १९४९ मा प्रकाशित अर्वेलको ‘नाइन्टिन एटी–फोर’ को पहिलो वाक्य छ—'अप्रिलको एउटा उज्यालो तर चिसो दिन थियो, र घडीहरूले तेह्र बजाइरहेका थिए।'
दिन सामान्य छ, तर समय सामान्य छैन। ‘तेह्र’ बज्नु नै अर्वेलको संसारमा केही आधारभूत रूपमा बदलिइसकेको संकेत हो।
जर्ज अर्वेलको संसारमा शक्ति शासन र दमनमा मात्र सीमित छैन; भाषा, सूचना, स्मृति र सत्यको अर्थ नियन्त्रण गर्नु पनि शक्तिको महत्वपूर्ण रूप हो। ‘बिग ब्रदर’, ‘न्युस्पिक’ र ‘डबलथिङ्क’ मार्फत सत्ताले मानिसको भाषा, सोच र वास्तविकताबोधमाथि नियन्त्रण कायम गरेको छ!
उपाध्यायको ‘जायन्ट्स एट द गेट्स’ डिस्टोपियन कन्टेन्ट होइन। यो कुनै अँध्यारो भविष्यको कल्पना गर्ने पुस्तक पनि होइन। बरू, हामी अहिले बाँचिरहेको विश्व किन यति छिटो बदलिँदैछ र त्यसको बीचमा नेपालले आफूलाई कसरी हेर्नुपर्छ भन्ने प्रश्नबाट पुस्तक अघि बढ्छ।