कवि श्रवण मुकारूङको नयाँ कविता संग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ।
गत वर्ष 'सलह' उपन्यास ल्याएका मुकारूङले 'बिसे नगर्चीको बयान' प्रकाशनको १६ वर्षपछि नयाँ कविता संग्रह बजारमा ल्याएका हुन्।
चार दशकदेखि साहित्य तथा कलाका विभिन्न विधामा सक्रिय मुकारूङका पछिल्लो डेढ दशकमा लेखिएका कविता संग्रहमा समेटिएका छन्। यो उनको चौथो कविता संग्रह हो। पब्लिकेसन नेपालयले प्रकाशन गरेको संग्रहमा उनका राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनासहितका कविता समेटिएका छन्।
'मेरो साहित्यिक यात्राको मूल बाटो कविता नै हो। कवितामै मेरो जीवन संघर्ष जोडिएको छ। 'आवाज नआइपुग्ने मेघको उज्यालो'मा 'बिसे नगर्चीको बयान'पछिका कविता पढ्न सक्नुहुनेछ। मेरा अनुभव र अभ्यासले अझ परिष्कृत कविता यसमा पढ्न पाइन्छ,' मुकारूङले भने।
नेपालयका सम्पादक विमल आचार्यले मुकारूङलाई अग्रज र अनुज पुस्ताका कविहरूबीचको सेतुका रूपमा सक्रिय कवि भन्दै उनको सिर्जनामा राजनीति, समाज र संस्कृतिलाई साहित्यिक-कलात्मक कलेवरमा प्रस्तुत गर्ने क्षमता रहेको बताए।
मुकारूङ पछिल्लो पाँच वर्षदेखि नेपालयको 'ई-कविता'अन्तर्गतको शनिवासरीय साप्ताहिक कविता शृंखलाका संयोजक छन्। पछिल्लो पाँच महिनादेखि नेपालयको आरशालामा आयोजना हुँदै आएको 'काव्य-श्रवण' मासिक कार्यक्रम पनि उनले संयोजन गर्दै आएका छन्।
कवितासँगै गीत विधामा समेत स्थापित मुकारूङको गत वर्ष नेपालयबाटै प्रकाशित उपन्यास 'सलह'ले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।
२१२ पृष्ठको 'आवाज नआइपुग्ने मेघको उज्यालो'को मूल्य ६२५ रूपैयाँ तोकिएको छ।
पुस्तक देशभरका प्रमुख पुस्तक पसलका साथै नेपाल प्रज्ञा-प्रतिष्ठानमा असोज १८ गतेसम्म जारी बृहत् पुस्तक प्रदर्शनीमा नेपालयको स्टलबाट विशेष छुटमा खरिद गर्न सकिनेछ। पुस्तक थुप्रैडटकम र अमेजनमार्फत पनि विश्वभरबाट खरिद गर्न सकिने जनाइएको छ।