पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी-२०८३ सुरू भएको छ।
कमलादीस्थित प्रतिष्ठान परिसरमा उपकुलपति अविनाश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरेका हुन्। उद्घाटनमा श्रेष्ठले पुस्तकको माध्यमबाट ज्ञान उत्पादन र प्रसारको क्रम अझै महत्वपूर्ण रहेको बताए।
'समाजको विकास र ज्ञान उत्पादनमा पुस्तकको अस्तित्व अझै जीवित छ,' उनले भने, 'प्रज्ञाको यस पुस्तक प्रदर्शनीले ज्ञानको प्रसार गर्न सघाउँछ।'
असोज १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक ४० प्रतिशतसम्म सहुलियत मूल्यमा बिक्री गरिने प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त नीजि प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाले पनि कक्ष राखी आफ्ना पुस्तक प्रदर्शन तथा बिक्री–वितरण गरिरहेका छन्। साझा प्रकाशन, राष्ट्रिय अभिलेखालय, ललितकला, नेपालय, इन्डिगो इन्कलगायत प्रकाशन गृहको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनीमा भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्यलगायतका पुस्तक राखिएका छन्।
सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराएको छ।