गायिका अञ्जु पन्तकी छोरी परितोषिकाले चाँडै फिल्ममा डेब्यु गर्ने भएकी छन्।
गायक पशुपति शर्मा जोडिएको फिल्ममा परितोषिका पनि अनुबन्धित भैसकेकी हुन्।
परितोषिकाले यसअघि केही म्युजिक भिडिओ र नाटकमा अभिनय गरिसकेकी छन्। उनले यसअघि अभिनय कोर्स समेत सिकेकी थिइन्।
रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममार्फत उनले सिनेमा यात्रा सुरू गर्न लागेका हुन्।
निर्माण पक्षले फिल्मको नाम भने हालसम्म खुलाएको छैन। परितोषिका फिल्ममा जोडिएको कुरा पनि निर्माताले सार्वजनिक गरेका छैनन्।
स्रोतका अनुसार परितोषिकाले केही साताअघि फिल्म साइन गरेकी हुन्।
फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। यो गायक पशुपति शर्माको पनि डेब्यु फिल्म हुनेछ। पशुपतिले सुरूमा अभिनय प्रस्ताव स्वीकार गर्न हिच्किचाएको भए पनि कथा र निर्माण टिमसँगको छलफलपछि आफू सहमत भएको बताएका थिए।
फिल्ममा परितोषिकाको जोडी पशुपतिसँग बाँधिनेछ वा अन्य कलाकारसँग भन्नेबारे खुलाइएको छैन।
फिल्ममा अन्य दुई अभिनेता समेत रहनेछन्।
फिल्मबारे विस्तृत विवरण निर्माण पक्षले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। यसै साता फिल्म र टिमबारे जानकारी दिने निर्माणपक्षले जनाएको छ।