यो वर्षको प्रतीक्षित फिल्ममध्ये एक मानिएको 'झरीपछिको इन्द्रेणी' पुस ४ गते रिलिज भएको थियो। रिलिजअघि राम्रो चर्चा भए पनि यसको व्यापार भने अपेक्षित हुन सकेन।
फिल्मले केही हलमा शनिबार प्रदर्शनको ५१ दिन मनायो। यो अवधिमा फिल्मले कुल १ करोड २९ लाख रूपैयाँ मात्र ग्रस कमाइ गर्न सक्यो। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फिल्मले सिनेपाः बक्सअफिसमा १ करोड २९ लाख ५५ हजार ११९ रूपैयाँ कमाएको हो। उक्त कमाइ हुँदा फिल्मको ४० हजार ८९९ वटा टिकट बिक्री भएको उल्लेख छ।
यो कमाइ विशेषतः यस वर्ष प्रदर्शनमा आएका र ५१ दिन मनाएका अन्य फिल्मसँग तुलना गर्दा निकै कम देखिन्छ।
उदाहरणका लागि 'ऊनको स्वीटर' ५१ दिनको अवधिमा १० करोडभन्दा बढी व्यापार गर्न सफल भयो भने 'जेरी अन टप' ले १२ करोड र 'परान' ले १७ करोड ७५ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेको थियो।
५१ दिनको लामो प्रदर्शनको बावजुद 'झरीपछिको इन्द्रेणी' ले व्यापारमा अपेक्षित सफलता नपाएको हो।
फिल्मका निर्देशक अर्जुन घिमिरे (पाँडे) ले व्यापारिक हिसाबमा सोचेजस्तो नभए पनि घाटामा नरहेको बताए। व्यापारमा आफूहरू केही तल रहे पनि दर्शकको माया र इज्जत कमाएको उनको भनाइ छ।
५१ दिनको अवसरमा आयोजित कार्यक्रममा उनले भनेका थिए, 'हामीले घाटा व्यहोर्नुपरेन। र, हेर्नुहुने जतिले राम्रो तारिफ गर्नुभयो। एउटा सचेतनामूलक फिल्मलाई दर्शकले ५१ औं दिनसम्म साथ दिनु नै हाम्रो ठूलो उपलब्धि हो।'