'मिरूना मगर खोइ?'
'कबड्डी ४'मा शीर्ष भूमिकामा रहेकी अभिनेत्री मिरूना मगर 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'को टिजरमा देखिइनन्। टिजर सार्वजनिक भएपछि युट्युबको कमेन्टमा दर्शकले सोध्न थाले,- 'मिरूना मगर खोइ?'
निर्माण टिमले मिरूनालाई नदेखाई टिजर सार्वजनिक गरेको थियो। त्यसअघि सार्वजनिक पोस्टरमा पनि उनी देखिएकी थिइनन्। त्यसैले 'कबड्डी' सिरिजको पाँचौं भागमा मिरूनाको उपस्थितिलाई लिएर दर्शकमा कौतुहलता थियो। 'कबड्डी ५' मा मिरूनाको अभिनय छ कि छैन भन्ने जिज्ञासा पनि दर्शकमा देखिन्थ्यो।
अब भने दर्शकको त्यो जिज्ञासा मेटिएको छ।
निर्माण टिमले सोमबार सार्वजनिक गरेको फिल्मको गीत 'थाक खोला'मा मिरूनालाई देखाइएको छ। गीतको भिडिओमा उनी दयाहाङ राईसँग देखिएकी छन्। गीत सार्वजनिक भएपछि मिरूनालाई देख्न पाउँदा दर्शकले कमेन्टमार्फत खुसीसमेत व्यक्त गरेका छन्।
तर फिल्ममा उनको भूमिका कति छ? कथाको कुन मोडमा उनको पात्र जोडिन्छ? यस्ता जिज्ञासा भने कायमै छन्।
रामबाबु गुरूङ निर्देशित 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।