गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो निर्देशनमा बनेको फिल्म 'वसन्त' ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेपछि आफूले साइन गरेर बसेका दुई फिल्मका निर्मातालाई एउटै सन्देश पठाएको बताएका छन्।
बिहीबार फिल्म 'परालको आगो' को ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै प्रकाशले त्यसबेलाको मनस्थिति साझा गरेका हुन्।
फिल्म 'वसन्त' २०८१ सालको चैतमा रिलिज भएको थियो। त्यसको पूर्वसन्ध्यामा प्रकाश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेको भन्दै सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा परेका थिए। त्यसपश्चात रिलिज भएको 'वसन्त' ले पनि अपेक्षाअनुसार व्यापार गर्न नसकेपछि आफूले साइन गरिसकेका फ्लोरमा जान बाँकी रहेका दुई फिल्मका निर्मातासँग खुलेर कुरा गरेको प्रकाशले बताए।
उनका अनुसार 'परालको आगो' का निर्माता सुशील पोखरेल र 'माइतीघर' का निर्माता रोहित अधिकारीलाई प्रकाशले एउटै सन्देश पठाएका थिए।
प्रकाशले भने, 'मैले दुईवटा फिल्म साइन गरेर बसेको थिएँ, तर फ्लोरमा जान बाँकी थियो। त्यसबेला मैले दुवै जनालाई एउटै म्यासेज पठाएको थिए- अहिले सबै कुरा यस्तो भयो, तपाईँहरू मलाई लिएर कत्तिको कन्फिडेन्ट हुनुहुन्छ? यदि हुनुहुन्न भने पुनर्विचार गर्न अनुरोध गर्छु है। एकपटक सोच्नुस् त्यसपछि, पनि म काम गर्न तयार नै छु।'
उनले उक्त सन्देश दुवै निर्मातालाई 'फरवार्ड' गरेको भन्दै त्यसबेला आफू निकै दबाबमा रहेको संकेत गरे।
ती दुईमध्ये 'माइतीघर' गत दसैंमा प्रदर्शनमा आइसकेको छ।
'परालको आगो' यही वैशाख ११ गते रिलिज हुने तयारीमा छ।
आयोजित ट्रेलर रिलिज कार्यक्रममा यसका निर्माता/निर्देशकले प्रकाशले फिल्ममा राम्रो काम गरेको बताए।
लक्ष्मण सुनारको निर्देशनमा बनेको 'परालको आगो' मा प्रकाशसहित सौगात मल्ल, सुहाना थापा, सृजना अधिकारीलगायत कलाकारहरूको मुख्य अभिनय छ।