दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरिरहेको फिल्म 'छ माया छपक्कै २' को छायांकन अन्तिम चरणमा छ।
निर्माण स्रोतका अनुसार ५० दिनको सेड्युलसहित छायांकनमा निस्किएको फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन सम्पन्न भइसकेको हो।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको 'छ माया छपक्कै २' दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन्।
छायांकन अन्तिम चरणमा पुग्दासम्म निर्माण पक्षले सबै कलाकारहरूबारे आधिकारिक जानकारी भने दिएको छैन। हालसम्म कलाकारका रूपमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको नाम मात्र सार्वजनिक छ।
यद्यपि, यो फिल्ममा थप चर्चित कलाकारहरूले पनि अभिनय गरिरहेका छन्।
स्रोतका अनुसार फिल्ममा कार्म, रिहान गिरी र रविन्द्र झालगायत कलाकारहरूको पनि अभिनय हेर्न पाइनेछ। कार्म र रविन्द्र दुवै स्थापित कलाकारहरू हुन भने रिहानले 'होस्टेल ३' बाट फिल्ममा डेब्यु गरेका थिए।
रिहानले 'छ माया छपक्कै २' को छायांकनस्थलमा खिचिएको भिडिओसमेत आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरिसकेका छन्।
यद्यपि, निर्माण पक्षले यी कलाकारहरूको सहभागिताबारे औपचारिक घोषणा भने गरेको छैन।
दीपक-दीपाको टिमले यसअघि 'छक्का पञ्जा ५' मा पनि केही कलाकारको नाम प्रदर्शन मिति नजिकिँदै जाँदा मात्रै सार्वजनिक गरेको थियो।
सार्वजनिक गरिएका तीन कलाकारबाहेक थप कलाकारहरूको सहभागिताले 'छ माया छपक्कै २' मा कलाकारको लाइनअप रोचक बनेको देखिन्छ।
यो सात वर्षअघि प्रदर्शन भएको सुपरहिट फिल्म 'छ माया छपक्कै' को सिक्वेल हो। दीपक र केकी अघिल्लो भागमा शीर्ष भूमिकामा थिए भने सनिशा दोस्रो भागमा प्रवेश गरेकी हुन्। अघिल्लो भागका अन्य दुई शीर्ष कलाकार केदार घिमिरे र जितु नेपाल भने 'छ माया छपक्कै २' मा देखिने छैनन्।
यो फिल्मले सामाजिक-राजनीतिक विषयमा रहेर कथा भन्नेछ।
रोहित अधिकारी निर्माता रहेको 'छ माया छपक्कै २' प्रदर्शन मिति यसअघि घोषणा भइसकेको छ। फिल्म आगामी दसैंको अवसर पारेर फूलपातीमा प्रदर्शन हुने तय छ।
