दीपक आचार्य (काकु) निर्देशित फिल्म 'परान' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। शेखर गोल्छा र रञ्जित आचार्यको निर्माणमा बनेको फिल्मले शनिबार यो उपलब्धि पूरा गरेको हो।
काठमाडौंसहित देशभर गरेर दुई दर्जन बढी हलमा फिल्मले प्रदर्शनको ५१ औं दिन पूरा गरेको निर्माणपक्षले जनाएको छ।
सुरूआती दिनमा यो फिल्ममा दर्शक उपस्थिति न्यून थियो। यद्यपि, नीर शाहको शीर्ष अभिनय रहेको यो फिल्म जति दर्शकले हेरे, यसले बलियो 'वर्ड अफ माउथ' को साथ पायो। चौथो दिनबाट गति लिँदै सफलतातर्फ अगाडि बढेको 'परान' अन्ततः यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो। त्यतिमात्रै होइन्, यसले अहिलेसम्मकै चौथो धेरै कमाउने नेपाली फिल्मको रेकर्ड समेत बनाएको छ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले बक्स अफिसमा गत बिहीबारसम्म १७ करोड ५५ लाखभन्दा माथिको ग्रस कमाइ गरेको छ। त्यसयताको कमाइसहितको विवरण सोमबार मात्रै सार्वजनिक हुनेछ। फिल्मको खासगरी भावनात्मक कथावस्तु, मनछुने संवाद, कलाकारको अभिनय र संगीत लगायतका पक्षले दर्शकको मन जितेको देखिन्छ।
निर्माण पक्षका अनुसार ५१ औं दिनसम्म आइपुग्दा पनि प्राप्त शोमा दर्शकको उपस्थिति उत्साहजनक छ। यस अवसरमा निर्माण टिमले काठमाडौं टोखामा रहेको अनाथ आश्रममा न्यानो कपडा वितरण गर्दैछ। बाँकी सेलिब्रेसन आगामी साता गरिने जनाइएको छ।
'परान' कात्तिक १४ गतेदेखि प्रर्दशनमा आएको थियो। फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराईली, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ।
फिल्मले ५१ औं दिनको सफलता मनाएकोमा निर्देशक दीपक आचार्य (काकु)ले खुसी साटे। सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'दर्शकहरूको माया नै हाम्रो लागि सबभन्दा ठूला पुरस्कार हो।'
उनले अगाडि भने, 'दर्शकहरूप्रति अत्यन्तै आभारी छु। र, ऋणी पनि छु। दर्शकहरूले दिनुभएको मायाको ऋण राम्रा फिल्म दिएर तिर्ने प्रण गर्छु।'
डेब्यु निर्देशनमै सफलता पाएका दीपक आचार्यसँग फिल्मको ५१ औं दिनको सफलतामा सेतोपाटीले गरेको छोटो कुराकानी-:
पहिलो निर्देशकीय फिल्म 'परान' ले ५१ औं दिन मनाउँदा कस्तो लागिरहेको छ?
यो अत्यन्तै गर्वको क्षण हो। फिल्मले एउटा मात्रै हलमा होइन, धेरै हलमा ५१ औं दिन मनाउन सफल भएको हो। फेरि अहिले यति धेरै फिल्महरू हलमा प्रदर्शन भइरहेका छन्। हललाई शो व्यवस्थापन गर्न पनि निकै गाह्रो भइरहेको अवस्था छ। तर त्यो हुँदाहुँदै पनि हामी गौरवमय ५१ औं दिनमा पुगेका छौं। यो मेरो जीवनकै सबभन्दा खुसीका क्षणहरूमध्ये एक हो।
'परान' वर्षकै सबभन्दा धेरै कमाउने फिल्म बनेको छ। त्यस्तै, अहिलेसम्मकै चौथो धेरै कमाउने नेपाली फिल्म पनि बनेको रहेछ। यो खालको कल्पना थियो?
कन्टेन्टका हिसाबले हाम्रो लगानी सुरक्षित हुन्छ, फिल्मले केही न केही कमाउँछ भन्ने विश्वास त थियो। तर यो स्तरको माया पाउँछ, यसरी अनेक रेकर्डहरू बनाउँछ भन्ने चाहिँ कल्पना गरेको थिइनँ।

फिल्म यति रूचाइनुको मुख्य कारण के लाग्छ?
नेपालीपनको कथा नै मुख्य कारण हो। जब दर्शकले कथामा आफूलाई भेट्नुहुन्छ, तब त्यो झन् धेरै रिलेटेबल हुन्छ र मन पराउनुहुन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ। आयातित कथाभन्दा पनि नेपाली माटोका कथा, जनजीवनमा देखिएको, भोगिएको कथालाई प्रस्तुत गरिएको हुनाले दर्शकले मन पराउनुभयो।
दर्शकबाट फिल्मलाई लिएर धेरै खालका प्रतिक्रिया आएको छ। त्यसमध्ये तपाईंलाई सबभन्दा छोएको प्रतिक्रिया के थियो?
एउटा-दुईवटा मात्र होइन, अनगिन्ती प्रतिक्रियाहरू छन्। कतिपय दर्शकले बुवासँग धेरै वर्षदेखि झगडा भएर छुट्टिएर बसेको थिएँ, फिल्म हेरेपछि हलबाटै रूँदै बुवालाई फोन गरेर भेट्न गएँ भन्नुभएको छ। त्यस्तै, विदेश जाने योजना बनाइरहेका दर्शकले यो फिल्म हेरेपछि अब यहीँ केही गर्न चाहन्छु, परिवार छोडेर जान्न भन्ने प्रतिक्रिया दिनुभयो। विदेशमा बसेर फिल्म हेर्नेहरूले पनि नेपाल आएर बुवाआमालाई भेट्न मन लाग्यो भन्ने खालको प्रतिक्रिया दिनुभयो।
यस्ता प्रतिक्रिया पाउँदा फिल्म एउटा मानसिकता परिवर्तन गर्ने सशक्त माध्यम बनेको अनुभूति गराएको छ। आफ्नो फिल्मले समाज रूपान्तरणमा सानो भए पनि योगदान दिएको छ कि भन्ने कुराले मलाई विशेष खुसी दिएको छ।
कतिपय दर्शकले स्क्रिप्टभन्दा लामो स्टाटस र कमेन्टहरू लेख्नुभएको छ। त्यति धेरै मेहनत गरेर लेखिएका शब्दहरूको बयान गर्न शब्द नै कम पर्छ।
पहिलो फिल्म नै सुपरहिट भएपछि दोस्रो फिल्मबारे केही तयारी गर्नुभएको छ?
त्यो त गर्नुपर्छ। अझ बढी जिम्मेवार, अझ बढी सशक्त भएर आउनुपर्छ। तर अहिले चाहिँ पहिले ५१ औं दिनको सेलिब्रेसन गरौं भनेर प्रेसर नलिइ बसेको छु। यसलाई ‘कुलिङ पिरियडजस्तो’ भनौं न। सेलिब्रेसनपछि चाहिँ अर्को प्रोजेक्टमा लाग्ने योजना हो। मनमा कथा, कन्सेप्ट अलरेडी सेट छ।
आगामी फिल्ममा परान भन्दा फरक स्वाद दिनुहुन्छ कि यस्तै शैली निरन्तरता हुन्छ?
म चाहिँ अलिकति बढी आफ्ना परिवार, समाज र गाउँभित्रका कथा भन्न रूचाउँछु। सायद आगामी फिल्ममा त्यस्तै कथामा हुनेछ। दर्शकहरूले आगामी दिनमा पनि ‘परान’ जस्तै आफूलाई पाउने फिल्म पाउनुहुनेछ। मानवीय संवेदना अर्थात रूने, हास्ने जे सुकै गरेपनि इमानदार तरिकाले कथा भनिरहँदा स्वाभाविक रूपमा उत्पन्न हुने अनुभूति हो। त्यही नै फिल्म सफल भएको मापन पनि हो।
त्यही हिसाबले फिल्म बनाउने कोसिस गर्नेछु।
तपाई टेलिभिजनको पर्दाबाट आउनुभएको। फेरि सिरियल निर्देशन वा अभिनयमा फर्किने योजना के छ?
टेलिभिजनको पर्दाबाट कलाकारिता यात्रा सुरू गरेको हुनाले आफ्नो धरातल, आफ्नो जुन पहिचान छ त्यो बिर्सिनुहुँदैन। तर सिरियलमा समय व्यवस्थापन एकदमै गाह्रो हुन्छ। हप्तैपिच्छे नयाँ एपिसोड ल्याउनु चुनौतीपूर्ण हुन्छ। यही समय व्यवस्थापन कसरी गर्ने भन्ने कुरा चुनौती छ। यद्यपि, टिभीमा पनि निरन्तर काम गर्नु पर्छ भन्ने सोच मनमा छ।
५१ औैं दिनको अवसरमा दर्शकलाई के भन्नुहुन्छ?
सबभन्दा सशक्त शक्ति भनेको दर्शकहरू हुनुहुँदोरहेछ। 'परान' लाई यो स्तरको सफलता दिलाउने मुख्य श्रेय नै दर्शकहरूलाई जान्छ। एक जना दर्शकले फिल्म हेरेपछि स्वतस्फूर्त रूपमा अरू १० जनालाई रिकमेन्ड गर्नुभयो। राम्रो फिल्म हेरेपछि दिल र दिमागले साथ दिऔं भन्ने भावना उहाँहरूमा देखियो। उहाँहरूले दिल र दिमाग दुवै प्रयोग गरेर हलसम्म अरू दर्शकहरू पनि पुर्याइदिनुभयो। उहाँहरूप्रति अत्यन्तै आभारी छु। र, ऋणी पनि छु। आउँदा दिनमा पनि उहाँहरूलाई निराश नबनाउने फिल्म ल्याउने बाचा गर्छु। दर्शकहरूले दिनुभएको मायाको ऋण राम्रा फिल्म दिएर तिर्ने प्रण गर्छु।
यो पनिः 'परान' बनाउने 'काकु'