दसैं नेपाली फिल्म रिलिजका लागि महत्वपूर्ण समय बनिसकेको छ।
विगतका वर्षमा दसैंमा रिलिज भएका फिल्म, तिनले गरेको व्यापार र हरेक वर्ष दसैंमा आफ्नो फिल्म प्रदर्शनका लागि हुने होडबाजीले पनि यसको पुष्टि गर्छ। त्यसैले हरेक वर्ष दसैंमा फिल्म प्रदर्शन गर्न फिल्मकर्मीबीच हानथाप हुने गर्छ।
दर्शकको फुर्सद र दसैंमा हलमा बढ्ने चापलाई लक्षित गर्दै फिल्महरू दसैंको अवसरमा रिलिज हुने गरेका छन्। यसपटक पनि केही ठूला तथा प्रतीक्षित मानिएका फिल्म दसैंको अवसरमा प्रदर्शनको तयारीमा छन्।
यदि कुनै नयाँ फिल्म थपिएनन् भने दसैंमा रिलिज हुने फिल्मको अन्तिम लाइनअप अब टुंगो लागेको छ।
यस पटकको दसैंमा विशेषगरी फूलपातीको अवसरमा नेपाली फिल्मको प्रतिस्पर्धा सबभन्दा रोचक बन्ने देखिन्छ। फूलपातीको अवसरमा मात्रै तीन ठूला तथा प्रतीक्षित फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। संयोग कस्तो पनि परेको छ भने तीनै फिल्म सिक्वेल हुन्।
असोज ३० गते विराज भट्ट-समीर भट्ट अभिनीत फिल्म '१२ गाउँ २' र पल शाह, मलिका महत लगायतको अभिनय रहेको 'आबाट आमा २' रिलिज हुँदैछन्। त्यसको भोलिपल्ट अर्थात् असोज ३१ गतेदेखि दीपकराज गिरी-दीपाश्री निरौलाको 'छ माया छपक्कै २' प्रदर्शनमा आउनेछ।
यी तीनै फिल्म सुपरहिट फिल्मका सिक्वेल भएकाले पनि रिलिजअघि नै थप चासो र चर्चा छ। तीन फिल्म छोटो अन्तरालमा प्रदर्शनमा आउँदा दसैंको बक्स अफिसमा प्रतिस्पर्धा रोचक हुने देखिन्छ। तीन वटै फिल्मप्रति दर्शकको चासो पनि सुरूदेखि नै देखिँदै आएको छ।
प्रचारमा पनि ताते निर्माण टिम
रिलिज मिति नजिकिँदै गएसँगै निर्माण टिम पनि प्रचारमा जुटेका छन्। गीत, टिजर तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्ने क्रमसँगै तीनवटै फिल्मका निर्माण टिम प्रचारप्रसारमा सक्रिय देखिएका हुन्।
विराज भट्ट निर्देशित '१२ गाउँ २' र चन्द्र पन्त निर्देशित 'आबाट आमा २' को टिजर सार्वजनिक भइसकेको छ।
यस्तै, दीपेन्द्र लामाले निर्देशन गरेको 'छ माया छपक्कै २' ले शीर्ष गीत सार्वजनिक गरिसकेको छ। आउँदा दिनमा अन्य प्रचार सामग्री सार्वजनिक गर्ने तयारीमा टिम जुटेको छ।
फूलपातीमा मात्रै सीमित छैन दसैंको फिल्मी भिडन्त
दसैंको फिल्मी भिडन्त फूलपातीमा मात्रै सीमित छैन। दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गते अर्को प्रतीक्षित फिल्म 'कबड्डी ५' रिलिज हुँदैछ।
दयाहाङ राई, विजय बराल, विपिन कार्कीलगायत कलाकारको अभिनय रहेको यो फिल्मले पनि दसैंको नेपाली फिल्मी माहोललाई थप रोचक बनाउने देखिन्छ।
रामबाबु गुरूङ निर्देशित यो फिल्मको यसअघि नै टिजर सार्वजनिक भइसकेको छ।

अनमोलको फिल्म पनि दसैंमा आउने तयारीमा थियो, पछि सर्यो
यसअघि अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत 'बाटुलो जून' पनि दसैंको अवसरमा प्रदर्शनमा आउने भनिएको थियो। अन्ततः भुवन केसी निर्देशित यो फिल्म दसैंबाट पछि सरेको छ।
निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म अब कात्तिक २६ गते अर्थात् भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने घोषणा गरेको हो।
दसैंअघि कुन-कुन फिल्म आउँदैछन्?
दसैंको मुख्य रिलिजअघि पनि नेपाली फिल्मको लाइनअप बाक्लै छ। असोज १६ गते 'चमेलीको पोइ' र 'चंगुल' गरी दुई नेपाली फिल्म रिलिज हुँदैछन्।
एभरेस्ट सूर्य बोहरा निर्देशित 'चमेलीको पोइ' मा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ।
त्यस्तै, राम गौतम निर्देशित 'चंगुल' मा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राम गौतमलगायत कलाकारको अभिनय छ। त्यसैगरी, असोज २३ गते 'टनेल २६' र 'अक्षरा' प्रदर्शनमा आउँदैछन्।
नेपाल, भुटान र भारतको सहकार्यमा बनेको डिजास्टर-हरर फिल्म 'टनेल २६' लाई डीडी किन्लेले निर्देशन गरेका हुन्। फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ।
त्यस्तै, विनयराज पौडेल निर्देशित 'अक्षरा' मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेतलगायत कलाकारको अभिनय छ।