गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा ४ जना संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको छ।
ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार आयोजित कार्यक्रममा ४ जनालाई सम्मान गरिएको हो।
नगद १ लाख १ रूपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान २०८२ बाट गायिका मीरा राणा सम्मानित भइन्।
उनी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाइ विजेन्द्र मिश्रले ग्रहण गरेका थिए। प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रूपैयाँसहित सम्मानित गरीएको छ।
त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रूपैयाँसहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रूपैयाँसहित प्रदान गरियो।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, नगरपालिकाकी उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्फबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै त्यसप्रति खुसी व्यक्त गरिन्। गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सांगीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानीय सरकारलाई सुझाए।
नगर प्रमुख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरू प्रस्तुत गरेका थिए भने स्थानीय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो।
प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।