नेपाली खेल जगतसँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले यो साता गृहनगरका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ। ब्यान्ड पोखरास्थित रंगशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१ गते शुक्रबार प्रस्तुत हुन लागेको हो।
ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ। नेपथ्यले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई लोकरक सुनाएको थियो। 
झन्डै साढे तीन दशकको यात्रामा ब्यान्डले फरक पुस्ताका तन्नेरीहरूलाई संगीतका माध्यमबाट मनोरन्जन प्रदान गर्नुका साथै सामाजिक दायित्व निर्वाह पनि गर्दै आएको छ। ब्यान्ड यसपटक 'नेपथ्य फर स्पोट्र्स' मूल नारासाथ प्रस्तुत हुन लागेको हो।
क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम 'पोखरा एभेन्जर्स' को जर्सी सार्वजनिक गर्ने कार्यक्रमलाई सहयोग पुर्याउने ब्यान्डको उद्देश्य छ। नेपथ्यको प्रस्तुतिले संगीतप्रेमीको उल्लेख्य हिस्सालाई खेलकुद प्रतियोगितासँग जोड्ने विश्वास ब्यान्डले लिएको छ।
'पोखरा एभेन्जर्स' टिमको जर्सी खरिद गर्ने दर्शकले शुक्रबार बेलुकी कन्सर्टमा सित्तैमा प्रवेश पाउनेछन्। पहिल्यै जर्सी किन्न चाहने ९अर्ली बर्ड० दर्शकका निम्ति सहुलियत मूल्यमा एक हजार थान जर्सी बिहीबार बेलुकी ६ बजेबाट बिक्रीका निम्ति सार्वजनिक गरिएकामा शुक्रबार बिहान ७ नबज्दै अर्थात् १३ घण्टामै 'सोल्ड आउट' भएको छ। 
'पोखरा एभेन्जर्स र नेपथ्यप्रति नगरवासीले देखाएको यो माया अनि उत्साहले हाम्रो हौसला बढेको छ,' टिमका अध्यक्ष सुबोध त्रिपाठी भन्छन्, 'क्रिकेट समर्थक र सङ्गीतप्रेमी दुवैका लागि यो गर्वको विषय हो।'
अब कन्सर्टकै दिन अर्थात् शुक्रबार बिहान ११ बजे दुई हजार थान जर्सीको वितरण रङ्गशाला गेटबाटै खुला गर्ने योजना छ। जर्सी बिक्रीबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने आयोजकले जानकारी दिएको छ।
ब्यान्ड यसरी फरक किसिमले प्रस्तुत हुन लागेकामा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरूङले प्रशन्नता व्यक्त गरेका छन्।
'देशमा संकट र जनतामा उकुसमुकुस छाएको बेला खेलकर्मी र कलाकर्मी मिलेर थोरै भए पनि सकारात्मकता सञ्चार गर्न पाउनु ठूलो उपलब्धि हो,' उनी भन्छन्, 'यस किसिमको अवस्था सिर्जना गरिदिएकामा खेलाडी र समस्त पोखरेली दर्शकप्रति हार्दिक आभार प्रकट गर्छु।'
खुला आकाशमुनि आयोजना हुने यस पटकको कन्सर्टमा ब्यान्डको संगीतलाई उत्तिकै गुणस्तरसाथ प्रस्तुत गर्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयले दिएको छ। 
'यस शोका लागि व्यावसायिकताका साथसाथै सामाजिक दायित्वलाई पनि प्राथमिकतामा राखेका छौँ,' नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठ भन्छन्, 'ब्यान्डले प्रयोग गर्दै आएको उच्चतम प्राविधिक एवं व्यवस्थापकीय प्रबन्धले यस पालि पनि निरन्तरता पाउनेछ।'
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।
सधैझैं यस कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै जर्सी खरिद गर्ने सक्नेछन्।