गायक विक्रम धमलाले आफ्नो नयाँ सांगीतिक कोसेली 'दर्शन ढुंगा' सार्वजनिक गरेका छन्। दैनिक जीवनका तनावलाई बिर्सेर अर्थपूर्ण ढंगले जीवन जिउनुपर्छ भन्ने भाव गीतले बोल्छ।
प्रदीप लम्सालका शब्द रहेको यस गीतमा विक्रमश्री बाँस्तोलाले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन्।
रमाइलो परिवेश समेटिएको म्युजिक भिडियोमा गायक धमला स्वयं र मोडल उमा कार्कीको अभिनय छ। अरूण न्यौपानेले छायांकन गरेको भिडिओलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका हुन्।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय धमलाले आफ्नै शब्द तथा संगीत रहेको 'मुस्कानभित्र रोदन मेरो' बोलको गीतबाट सांगीतिक यात्रा थालेका थिए। उनका 'महसुस' र 'आहत' गरी दुई एकल एल्बम प्रकाशित छन्। उनका 'साँच्चै के हो माया', 'महसुस', 'मादलु', 'भोजपुरदेखि', 'फूलको गमला', 'शुभ तिहार' लगायतका गीत सार्वजनिक छन्।
आफ्नो पेसागत व्यस्तताका कारण नयाँ गीत ल्याउन केही अन्तराल भएको बताउँदै गायक धमलाले भने, 'संगीतको भोक अति नै छ, तर पारिवारिक र पेसागत कामका कारण सोचेजस्तो छिटो गीत ल्याउन सकिरहेको छैन। अब भने सकेसम्म गीत–संगीतमा उपस्थिति जनाइरहने प्रयासमा छु।'