चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले पुसमा आफूले प्रस्तुति दिने सांगीतिक कार्यक्रमको लाइनअप सार्वजनिक गरेकी छिन्।
बुधबार रूपन्देहीको तिलोत्तमा महोत्सवमा पुगेकी उनले सामाजिक सञ्जाल पोस्टमार्फत पुस महिनामा विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिने तालिका सार्वजनिक गरेकी हुन्।
तालिकाअनुसार उनी पुस ४ गते चिसापानी, ५ गते कास्कीको भदौरे, ९ गते गल्छी हुँदै १० गते उदयपुरको बेल्टारमा गुञ्जिनेछिन्।
त्यसपछि ११ गते बुटवल मेलामा प्रस्तुति दिने उनले १२ गते कोहलपुर, १३ गते सौराहा र १४ गते तनहुँमा आफ्नो प्रस्तुति दिने उल्लेख गरेकी छन्। त्यस्तै, पुस १५ गते पर्वतको कुश्मा, १६ गते भैरहवा, १८ गते तुल्सीपुर र १९ गते अत्तरियामा सांगीतिक कार्यक्रम तय भएको जानकारी दिएकी छिन्।
पुस महिनाको सुरूआत दर्शक-श्रोताको मायाले उत्साहजनक बनेको उनले बताएकी छिन्। सबैको साथ र समर्थनकै कारण यो सम्भव भएको उल्लेख गरेकी छिन्। मेला-महोत्सवमा उनले आफ्ना चर्चित गीतमा प्रस्तुति दिनेछिन्।
पछिल्लो समय स्वदेशमा मेला-महोत्सवको लहर छ। शान्तिश्री रेकर्डिङ र स्टेज दुवैमा खोजिने गायिका हुन्। उनले यही साता केही लोकदोहोरीसँगै फिल्म 'परालको आगो' र 'पेन्सन पट्टाको' गीत समेत रेकर्ड गराएकी छिन्।