गायिका ज्योति मगरले आफ्नो नाम जोडेर गलत सूचना फैलाइएको भन्दै आपत्ति जनाएकी छन्।
कपिलवस्तुको चन्द्रौटा महोत्सवको विवादसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना फैलाइएको भन्दै ज्योतिले त्यसको खण्डन गरेकी हुन्।
ज्योतिले उक्त दिन आफू कपिलवस्तुमा नभई दाङको घोराहीमा रहेको समेत बताएकी छन्। ज्योतिले बुधबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उक्त खण्डन गरेकी हुन्।
चन्द्रौटा महोत्सवमा सोमबार र्यापर 'जी-बब' को प्रस्तुतिका क्रममा कार्यक्रमको माहोल बिग्रिएको थियो।
महोत्सवमा दर्शकहरूले कुर्सीहरू तोडफोड गर्नुका साथै स्टेजमा ढुंगामुढा समेत प्रहार गरेका थिए। दर्शकहरूको भिड रहेको महोत्सवमा 'जी-बब' ले गाउँदै गर्दा स्पिकरमा समस्या आएपछि दर्शकहरू आक्रोशित हुँदै तोडफोडमा उत्रिएका थिए।
सोही भिडिओलाई ज्योति मगरको नामसँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो।
यो पनिः चन्द्रौटा महोत्सवमा 'जी-बब' को प्रस्तुति बीचमै रोकिएपछि तोडफोड, भएको के हो?