पुस १३ गतेदेखि सुरू भएको कपिलवस्तु चन्द्रौटा महोत्सवको सोमबार अन्तिम दिन थियो। यस दिन चर्चित र्यापर 'जी-बब' को प्रस्तुति राखिएको थियो।
उनी स्टेज चढेर केही समय आफ्नो प्रस्तुति दिए। तर उनको प्रस्तुति बीचमै रोकियो। महोत्सवस्थलमा दर्शकहरू चिच्याउन थाले। कुर्सी तोडफोड गरे। स्टेजतर्फ ढुंगा प्रहार गरे।
ब्यानर समेत च्यातिएको भिडिओ यति बेला सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन्।
महोत्सवमा भएको के हो?
महोत्सवका सांगीतिक कार्यक्रम उद्घोषक दीपु मगरका अनुसार 'जी-बब' साँझ ६ः५५ बजे स्टेज चढेका थिए।
'उहाँले केही समय प्रस्तुति दिएपछि स्टेजको एक साइडमा राखिएको स्पिकरमा समस्या देखियो,' उनले भने।
जी-बबले स्टेजबाट दर्शकलाई अर्को साइडतर्फ बोलाए। स्पिकर मिलाउन एकछिन धैर्य गर्न आग्रह गरे पनि दर्शकहरू आक्रोशित भए।
'दर्शकहरू स्टेज अगाडि राखिएको सुरक्षा ब्यारिकेड भन्दा अगाडि आउनुभयो। त्यस क्रममा अन्य स्पिकरको तार कनेक्सन समेत छुट्टिएपछि सम्पूर्ण साउण्ड सिस्टम बन्द भयो,' दीपुले भने, 'स्पिकर बनाउने काम हुँदै थियो। तर दर्शकको हुल अगाडि आइसकेपछि स्पिकर बनाएर कार्यक्रम अगाडि बढाउन सम्भव नै भएन।'
स्थिति सम्हाल्न नसकिने भएपछि जि–बबलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित रूपमा स्टेजबाट बाहिर निकालिएको थियो। उनी मंगलबार बिहान भैरहवा हुँदै काठमाडौं फर्किसकेका छन्।
टिकट दोब्बर बनाइएको आरोप
चन्द्रौटा उद्योग वाणिज्य संघले यो महोत्सवको आयोजना गरेको थियो।
संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे आफूहरूको अपेक्षाभन्दा धेरै दर्शकको आगमन भएको र प्राविधिक समस्या हुँदा स्थिति बिग्रिएको बताउँछन्। उनका अनुसार २/३ हजार दर्शकको आगमन होला भन्ने आयोजकको अपेक्षा थियो।
'तर ८/१० हजार दर्शक आउनुभयो। बीचमा प्राविधिक समस्या हुँदा दर्शक भड्किनुभयो,' पाण्डेले भने, 'तर कुनै ठूलो क्षति भने हुन पाएन।'
महोत्सव औपचारिक समापनपछि 'जी-बब' को प्रस्तुति राखिएको थियो। महोत्सवमा अन्य दिन १ सय रूपैयाँ टिकट शुल्क राखिएकोमा सोमबार जीबबको प्रस्तुतिलाई आयोजकले टिकट दर २ सय रूपैयाँ बनाएकाले पनि दर्शक आक्रोशित भएको कतिपयले बताएका छन्।
यसबारे कुरा गर्दै संघका अध्यक्ष पाण्डेले भने, 'महोत्सव समापन भएपछि छुट्टै कन्सर्टका हिसाबले उनको प्रस्तुति राखिएको थियो। अघिल्लो दिन सूचना समेत गरेका थियौं। टिकटको मूल्यका कारण स्थिति बिग्रिएको होइन। दर्शकको भिड र प्राविधिक समस्या आउँदा समस्या भएको हो।'
घटनामा २५/३० वटा कुर्ची तोडफोड भए पनि अन्य क्षति हुन नपाएको उनले बताए।