सांगीतिक जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत 'उडी पुतली' युट्युबमा सार्वजनिक भएको छ।
यो गीतमा शब्द तथा संगीत लक्ष्मणकै छ भने गायनमा उनलाई कल्पनाले साथ दिएकी छन्। गीतको भिडिओमा सागर लम्साल 'बले' र आश्मा विश्वकर्माले नृत्य गरेका छन्।
अमृत लगुनले गीतमा र्याप आवाज दिएका छन्। संगीत संयोजक सहस शाक्य हुन्।
कार्टुन्ज क्रुका सरोज अधिकारीले निर्देशन गरेको भिडिओ डान्सिङ ट्रयाक शैलीमा बनेको छ। लोकगीतलाई हिपहप संगीतसँग जोडेर लक्ष्मणले कम्पोजमा नयाँ स्वाद पस्किएका छन्।
लक्ष्मण कल्पना युट्युब च्यानलबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो।
यो सांगीतिक जोडी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेको छ। उनीहरूले यो गीतको कम्पोज अमेरिकामै गरेका हुन्।
पाल्पा रामपुर घर भएका पौडेल नेपाली लोकदोहोरी गायनको चर्चित नाम हो। सांगीतिक यात्राको सिलसिलामा उनले चर्चित गायिका कल्पनासँग विवाह गरे। 'हो माया ढाँटे मरिजाम', 'दुःखीको घरपर्यो रामपुर फाँटैमा' उनका चर्चित गीत हुन्।
पौडेलले ‘आँधिखोला उर्लेर आयो, आउने थिइँन मायाले बोलायो’ रिमिक्स गीतमार्फत लोकदोहोरीमा उनले र्यापको सुरुवात गरे। 'बेनीको बजार जता माया उतै छ नजर' रिमिक्स गीत त झनै सुपरहिट मानिन्छ।