हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन्।
आजभन्दा करिब २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको पटेँली लघु सांगीतिक कार्यक्रम हो। जसले नेपाली सांगीतिक परम्परालाई संरक्षण र प्रवद्र्धन गर्दै आएको छ।
नेपालीभाषी स्रोतामाझ स्थापित नाम बनेका दुर्गा खरेल विशेषतः 'बोलाउँ भने तिमीलाई बात लाग्ने डर' गीतबाट लोकप्रिय छन्। उनका दाजु बद्री खरेलसँगको 'बद्री–दुर्गा' सांगीतिक जोडी पनि चर्चित छ। पलेँटीमा दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडीहरू प्रस्तुत गर्नेछन्।
कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ–शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जनेछन्।
संगीतकार गोपाल योञ्जनको सामिप्यमा हुर्किएका दुर्गाले सानै उमेरदेखि अम्बर गुरूङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जन लगायतका अनेकौं स्वनामधन्य सर्जकका सृजनाको रसास्वादन गर्न पाए। गीतकार नरदेन रूम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जु¥यो। उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए। जसमा गीत सङ्गीतका सर्जकहरू अम्बर गुरूङ, गोपाल योञ्जन, बलु बराइली, एम.बी. सुन्दास, नरदेन रूम्बा, फटिकधर ब्राम्हण आदिका रचनाहरू समेटिएका छन्।
यसपालीको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्– 'स्वरांकित हुन नपाएका पुराना साङ्गीतिक रचनाहरूलाई सम्बर्धन गर्नु पनि पलेँटीको उद्देश्य हो। त्यही भएर यसपालीको पलेँटीमा दुर्गा खरेलको स्मृतिमार्फत् दार्जिलिङका पुराना सृजनालाई समेट्ने प्रयास गरेका छौं।'
पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेको सम्झना गर्दै दुर्गा खरेल भन्छन्– 'यसभन्दा पहिले दुईचोटि हामी आफ्नो संगीतमा विभिन्न गीतकारका गीतहरू लिएर उपस्थित भएका थियौं। यसपटक भने मेरो वैयक्तिक सम्झनामा रहेका दार्जिलिंगे संगीतकारका गीतहरु लिएर पलेँटीमा प्रस्तुत हुँदैछु। यो कार्यक्रम मेरो जीवनका अत्यन्तै महत्वपूर्ण कार्यभित्र पर्छन्। पहिले झैँ यसपल्ट पनि दर्शक, श्रोताको माया पाउनेमा पूर्ण विश्वास छ।'
मन्द मुस्कानमा देखिएका दुर्गाको दृष्टि हार्मोनियमका पर्दामाथि परिरहेको देखिन्छ।
पलेँटी कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार र शनिबार अर्थात २७ र २८ तारिखमा आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने यस कार्यक्रमको टिकट पलेँटीको अनलाइनबाट प्राप्त गर्न सकिनेछ।
'आर'शालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न पे पर भ्यूको व्यवस्था समेत गरिएको छ।
