हिउँले ढाकिएको शान्त सहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानडा शृंखला सुरू गरेको छ। यहाँस्थित 'सदबरी कम्युनिटी एरेना' मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक प्रस्तुत गरेको हो।
ओन्तारियो राज्यको व्यापारिक केन्द्र टोरोन्टोबाट करिब चार सय किलोमिटर टाढा पर्ने यस सहरमा केही वर्षअघिसम्म नेपालीको उपस्थिति न्यून थियो। हाल भने यहाँ नेपालीको संख्या करिब दुई हजार पुगेको छ।
कन्सर्टमा टाढाटाढाबाट आएका दर्शकहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो। तीमध्ये सन्ध्या खनाल पनि थिइन्, जो १४ घण्टा टाढा थन्डर बे बाट गाडीमा यात्रा गरी कन्सर्ट हेर्न आएकी थिइन्।
'नेपथ्यको अघिल्लो क्यानाडा यात्रामा सहभागी हुन नपाएपछि यसपटक नछुटाउन निकै अघिदेखि तयारी गरेकी थिएँ,' केयरगिभरका रूपमा कार्यरत सन्ध्याले कन्सर्ट हेरिसकेपछि भनिन्, 'यति टाढा बसे पनि नेपालमै पुगेजस्तो अनुभूति भयो। यो मेरो जीवनकै महत्वपूर्ण अनुभव बनेको छ।'
कन्सर्टमा गायक अमृत गुरूङले ब्यान्डका लोकप्रिय गीतदेखि राष्ट्रिय भावना बोकेका गीतसम्म सुनाएका थिए। मुलुकको सुन्दरता बयान गर्ने गीतहरू गाइरहँदा उनले दर्शकलाई नेपाल जाँदा पदयात्रा गर्न प्रोत्साहन पनि गरे।
कन्सर्टमा नेपाली साथीहरूसँग आएका फ्रान्सेली मूलका जाभिए गोत्सिए बुसेले भाषा नबुझे पनि गीतमार्फत नेपाली भावना महसुस गर्न सकेको प्रतिक्रिया दिए। 'वरपरका नेपाली दर्शकले प्रत्येक गीतका शब्द कण्ठस्थ गरी सँगै गाइरहेको देख्दा अचम्म लाग्यो,' उनले भने। मञ्च र दर्शकबीचको आत्मीयताले आफूलाई गैरनेपाली भएको अनुभूति नभएको पनि उनले बताए।
कार्यक्रममा सहभागी अधिकांश दर्शक अध्ययनका लागि क्यानडा पुगेका विद्यार्थी थिए। उनीहरूलाई सम्बोधन गर्दै गायक अमृतले नेपालमा अहिले पनि धेरै बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित रहेको स्मरण गराए। उनले आफ्ना गाउँठाउँमा त्यस्ता केटाकेटी छन् भने उनीहरूलाई पाठशालाको दैलो टेकाउने गरी सक्दो सहयोग गरिदिन अनुरोध पनि गरे।
क्यानडा पुगेर अध्ययन गरिरहेकी प्रयाना राईले कन्सर्टलाई सांगीतिक मात्र नभई नेपालीपन जगाउने अवसरका रूपमा लिइन्।
उता आफूजस्तै तीन क्यानाडेली साथी लिएर कन्सर्ट हेर्न आएकी स्थानीय सामाजिक अभियन्ता रोजी बउलिउले भने यो प्रस्तुति हेरेपछि आफूमा नेपाली समुदायप्रति बेग्लै धारणा विकास भएको सुनाइन्।
'यसअघि पनि यहाँका नेपाली कार्यक्रममा उपस्थित हुँदै आएकी हुँ,' सदबरीमा स्थानीय तवरका महोत्सवहरू आयोजना पनि गर्दै आएकी रोजीले भनिन्, 'मेरो विचारमा अब सदबरीको वार्षिक सांस्कृतिक क्यालेन्डरमै नेपाली गतिविधिलाई प्राथमिकतासाथ समावेश गराउन सकिन्छ।'
अवकाशप्राप्त बेलायती सेना तेन्जिङ लिम्बु २० वर्षअघि टोरन्टोबाट बसाइँ सरेर सदबरी आउँदा स्थानीयमा नेपालीको पहिचानसमेत नरहेको सुनाउँदै अब भने सहरकै उल्लेख्य समुदायका रूपमा विकास हुन थालेको बताए। 'यस सहरमा आजसम्म भएका नेपाली कार्यक्रमहरूमै यो सबैभन्दा भव्य र सभ्य बन्न पुगेको छ,' लिम्बुको प्रतिक्रिया थियो, 'यस कार्यक्रमले नेपालीको आयोजनालाई सहरवासीबीच नयाँ उचाइ र स्तर दिएको छ।'

मञ्चमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
'कलाकार टोली आएका भिडियो र तस्बिर सार्वजनिक नहुन्जेल सम्म नेपथ्यले सदबरीजस्तो कमै बसोबास क्षेत्रमा कन्सर्ट गर्ला भनेर अन्तिमसम्मै मानिसहरु पत्याइरहेका थिएनन्,' आयोजक कमिटिका नदिश बस्नेत भन्छन्, 'हाम्रो सपना मात्र पुरा भएको छैन सदबरीको निम्ति गौरव पनि जोडिएको महशुस भइरहेको छ।'
यसरी यस वर्षको क्यानाडा शृंखलाबद्ध यात्राको पहिलो प्रस्तुति सफलतापूर्वक सम्पन्न भएसँगै नेपथ्यमा आबद्ध सांगीतिक, प्राविधिक र व्यवस्थापकको सिंगो टोली दोसो कन्सर्टको तयारीमा जुटिसकेको छ।
दोसो प्रस्तुति मुलुककै मुख्य व्यापारिक केन्द्र टोरन्टोमा हुनेछ। त्यहाँस्थित ‘क्विन एलिजाबेथ थिएटर’ मा अप्रिल १३ सोमबारका लागि कार्यक्रम तय भएको छ। मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ।
२५ सय दर्शक अटाउने यस हलमा शो हुनुभन्दा तीन साताअगावै टिकट 'सोल्डआउट' भइसकेको जनाइएको छ।
टोरन्टोपछि ब्यान्ड ओन्तारियो राज्यकै अर्को सहर लन्डन प्रस्थान गर्नेछ। त्यहाँ अप्रिल १८ मा यात्राकै अन्तिम कन्सर्ट हुनेछ।
टोरन्टोमा धेरै पहिले टिकट समाप्त भएका कारण त्यहाँ छुटाएका दर्शक लण्डन कन्सर्टमा सहभागी हुने विश्वास आयोजकले लिएका छन्।
यी कन्सर्टका लागि व्यवस्थापक नेपालय ले अनलाइन टिकट खरिदको व्यवस्था मिलाएको छ। इच्छुक दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
