सानो सहर भए पनि दर्शकको भव्य उपस्थितिबीच सांगीतिक प्रस्तुति दिँदै नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ।
अग्रणी लोकरक ब्यान्ड नेपथ्यले दुई साता लामो यात्राको अन्तिम कन्सर्ट शनिबार ओन्टारियो प्रान्तको लन्डनस्थित ‘लन्डन म्युजिक हल’मा गरेको हो।
बाहिरबाट हेर्दा युरोपेली पुरानो थिएटरको झल्को दिने उक्त हलमा बेलुकी ७ बजे ढोका खुला गरिएको थियो। आधुनिक कन्सर्टका लागि तयार पारिएको भित्री हल त्यसबेलासम्म दर्शकले भरिभराउ भइसकेको थियो। विशाल पर्दामा ‘सा कर्णाली’ गुन्जिनासाथ उत्साहित दर्शकको ऊर्जा कार्यक्रमभरि निरन्तर बढ्दै गएको देखिन्थ्यो।
हलमा उपस्थित दर्शक केवल लन्डन सहरका मात्र थिएनन्। ओटावाबाट सात घण्टाको मोटर यात्रापछि आइपुगेका सुदन गुरूङ परिवारसहित कन्सर्टमा सहभागी भएका थिए। उनीसँग आमा, श्रीमती, बहिनीहरू र भतिजीहरू पनि थिए।
झापा दमकबाट १५ वर्षअघि क्यानडा पुगेका मानसिक रोग परामर्शदाता सुदनले नेपथ्यको प्रस्तुति हेर्ने इच्छा यसपटक पूरा भएको बताए। 'जीवनमा एकपटक नेपथ्य अनुभव छुटाउनु हुँदैन भन्ने सुन्दै आएको थिएँ, यसपटक बल्ल संयोग जुर्यो,' उनले भने, 'दुई घण्टासम्म सबै दर्शकलाई बाँधेर राख्ने यो शोका कारण परिवारका लागि उत्सवमय सप्ताहान्त बन्यो।'
कन्सर्ट अवधिभर गायक अमृत गुरूङले विदेशमा रहेका नेपालीलाई मिलेर बस्न र स्वदेश नबिर्सन आग्रह गरेका थिए।
अर्का दर्शक मधुसूदन थापाले नेपथ्य आफ्नो बाल्यकालदेखि नै जीवनसँग मिसिएको स्वादजस्तो बनेको बताए। 'क्यानडामा बसेर पनि घर पुगेजस्तो अनुभूति भयो,‘ उनले भने, ‘यति धेरै चिनिएका मानिसबीच बसेर कन्सर्ट हेर्नु मेरो क्यानडा बसाइकै उत्कृष्ट क्षण बन्यो।'
टोयोटा कम्पनीका पार्टपुर्जा बनाउने कारखानामा कार्यरत मधुसूदनका अनुसार त्यहाँ ६ सय कामदारमध्ये आधाजति नेपालीभाषी छन्। कन्सर्टमा नेपाली मात्र होइन, अन्य समुदायका दर्शकको पनि उपस्थिति थियो। एक घण्टा टाढाको स्ट्राटफोर्डबाट पत्नीसहित आएका एरिक प्राउडलभले फरक संस्कृति अनुभव गर्न कन्सर्टमा आएको बताए।
ऊर्जा उपकरण बनाउने कारखानाका गुणस्तर नियन्त्रक एरिकले नेपाली सहकर्मीबाट कन्सर्टबारे जानकारी पाएपछि सहभागी भएको बताए। 'यति स्तरीय ब्यान्डले यो सानो बसोबास क्षेत्रलाई पनि माया गरेर आउनु प्रभावशाली लाग्यो,' उनले भने।
६० वर्षीय एरिकका अनुसार कन्सर्टको संगीत, दर्शकको लगाव र मञ्चमा प्रस्तोताहरूको तालमेल विशेष आकर्षक थियो। नेपथ्यको विदेश यात्रामा भुटानबाट पुनर्वास गराइएका नेपालीभाषी समुदायको उल्लेख्य उपस्थिति देखिने गरेको छ। नातिनीसँग कन्सर्टमा आएकी ७७ वर्षीया धनमाया तामाङका लागि यो जीवनकै पहिलो रक कन्सर्ट अनुभव थियो।
'कस्तो रमाइलो! उहिले हलमा गएर सिनेमा हेरेजस्तो लाग्यो,' उनले भनिन्।
धनमायाले आफू ४५ वर्षको उमेरमा भुटानबाट नेपाल आउनुपरेको र त्यसपछि १८ वर्ष नेपाल बसेर क्यानडा पुगेको सुनाइन्। कार्यक्रममा पर्दामा देखाइएका पुराना गहनाले आफूलाई विगत सम्झाएको उनले बताइन्।
कन्सर्ट हेर्न आएका अर्का ७५ वर्षीय चित्र प्रधानको पनि भुटानसँग सम्बन्ध रहेको छ। भुटानमा पहिलोपटक पाठ्यक्रम तय गरिँदा निर्देशक रहेका प्रधान विगत ३५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका छन्।
'गीतले मात्र होइन, गायक अमृतको धीर स्वभाव, सरल भाषा र एकताको सन्देशले पनि धेरै प्रभाव पार्दो रहेछ,' उनले भने।
मञ्चमा अमृत गुरूङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
स्थानीय आयोजक टोलीका दीक्षान्त खड्गीले यति सानो सहरमा नेपथ्यलाई ल्याउन सक्नु नै ठूलो सफलता भएको बताए। 'कार्यक्रम हेरेर फर्किएका दर्शकबाट धन्यवादका सन्देश आइरहेका छन्, यसले बेग्लै आनन्द दिएको छ,' उनले भने।
यस वर्ष क्यानडाको सदबरीबाट सुरू भएको नेपथ्यको यात्रा टोरन्टो हुँदै ओन्टारियोको लन्डनमा सम्पन्न भएको हो। अन्तिम शो सकिएसँगै कलाकार, प्राविधिक र व्यवस्थापनसहित १४ सदस्यीय टोली स्वदेश फर्किएको छ।
क्यानडाको प्रस्तुति सकेपछि नेपथ्यले आगामी महिना प्रशान्त महासागरबीच रहेको न्युजिल्यान्ड भ्रमण गर्ने जनाएको छ।

