एलिना चौहानको स्वरमा नयाँ गीत 'मेरो बैंशैले' सार्वजनिक गरिएको छ।
आइटम शैलीको यो गीतको भिडिओमा मोडल सब्रिना ढकालले मोडलिङ गरेकी छन्। अस्ट्रियामा जन्मिएकी तथा नेपालमा विवाह गरेकी सब्रिनाले यो गीतमार्फत नेपाली संगीत क्षेत्रमा पहिलो पटक कदम राखेकी हुन्।
सब्रिनाले यसअघि बलिउडमा समेत केही काम गरिसकेकी छन्। उनले ‘मेरा नाम’ लगायतका हिन्दी गीतमा मोडलिङ गरेकी छन्।
सार्वजनिक ‘मेरो बैंशैले’ गीतमा शब्द, संगीत र एरेन्ज बादल थापाको छ भने मिक्सिङ र मास्टरिङको काम रवि सुनारले गरेका हुन्।
भिडिओमा सब्रिनाका साथमा ओमप्रकाश ढकाल र रवि गिरी लगायतको पनि अभिनय छ। कथानक, ग्ल्यामर र नृत्य प्रस्तुति मिसाइएको भिडिओले दर्शकलाई मनोरञ्जन दिने उद्देश्य राखेको देखिन्छ।
जेरी भण्डारीको कथा, कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।
मोडल सब्रिनाले अब हरेक वर्ष दुईदेखि तीनवटा म्युजिक भिडिओमा काम गर्ने योजना बनाएकी छन्।
'मेरो बैंशैले' गीत ब्लोसम म्युजिक नेपालले प्रस्तुत गरेको हो। यसको भिडिओ 'ब्लोसम वीरेन्द्र ढकाल' युट्युब च्यानलमा हेर्न सकिन्छ।