न्युजिल्यान्ड आइपुगेको भोलिपल्टै आदिवासी माहुरे समुदायले नेपथ्य ब्यान्डलाई आफ्नो परम्परागत ‘पाउहिरी’ शैलीमा स्वागत गरेको थियो।
समुदायको 'कापा हाका ग्रुप' ले पाहुनालाई आफ्नो परिवेशमा सांगीतिक निमन्त्रणा गर्दा आध्यात्मिक संवाद प्रयोग गरेको थियो। लगत्तै आइतबार बेलुकी अकल्यान्डस्थित ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’ मा नेपथ्य प्रस्तुत भयो। त्यहीँ दुई हजारभन्दा बढी दर्शकको भीडमा थिइन् इलिन तुरागां।
'आजसम्म मैले सहभागिता जनाएको नेपाली कार्यक्रममध्ये यो कन्सर्ट सर्वोत्कृष्ट रह्यो,' आठ वर्षदेखि नेपाली तन्नेरीका साथ जीवन बिताउँदै आएकी माहुरे आमाकी सन्तान इलिन भन्दै थिइन्, 'संगीत मात्र होइन, स्टेजमा गाउने गायकको प्रभावशाली विनम्रता र दर्शकले उनीप्रति देखाएको सम्मानको संयोजनले मलाई गज्जब लाग्यो।'
उनका अनुसार कुनै पनि कन्सर्टमा कलाकार र दर्शकबीच यत्तिको भावनात्मक सम्बन्ध आफूले पहिले कहिल्यै देखेकी थिइनन्। उनी कन्सर्ट हेर्न नेपाली साथीसँग हेमिल्टनबाट डेढ घण्टा मोटर यात्रा गरेर अकल्यान्ड आइपुगेकी थिइन्।
पृथ्वीको दक्षिणी भूभागमा पर्ने न्युजिल्यान्डमा नेपथ्यले झन्डै एक दशकपछि दोस्रोपटक प्रस्तुति दिएको हो। अकल्यान्डमा आयोजित उक्त कन्सर्ट नेपाली समुदायको अहिलेसम्मकै ठूलो जमघटमध्ये एक बनेको थियो। बेलुकी नपर्दै दर्शकको भीड हलतर्फ जुट्न थालेको थियो भने कार्यक्रम सुरु हुन आधा घण्टा बाँकी रहँदै हल भरिभराउ भइसकेको थियो।
कन्सर्टको पहिलो प्रस्तुति 'कोशीको पानी यो जिन्दगानी' रहेको थियो।
'तपाईंहरू माया गर्नुहुन्छ र हामी आइपुग्छौं,' गाउँदागाउँदै बीचैमा गायक अमृतले यसो भनिदिँदा दर्शक अझ जोडले चिच्याउँथे।
'पहिल्यैदेखि सुन्दै आएका नेपथ्यका गीतहरूबारे त के भन्नु!,' कन्सर्ट हेरेपछि भावुक दीपक पाण्डे भनिरहेका थिए, 'एकैछिन भए पनि भर्खरै स्वदेश पुगेर फर्केजस्तो अनुभूति भइरहेको छ।'
१५ वर्षदेखि न्युजिल्यान्डलाई कर्मथलो बनाउँदै आएका दीपक कन्सर्टकै लागि डेढ घण्टाको हवाईयात्रा गर्दै अर्को सहर क्राइस्टचर्चदेखि अकल्यान्ड आइपुगेका थिए।
नेपाली लोकधुनलाई विश्वव्यापी रक संगीतसँग संयोजन गर्दै आएका नेपथ्यले आफ्ना प्रस्तुतिमा आधुनिक उपकरण र प्राविधिक व्यवस्थापनमा विशेष ध्यान दिने गरेको छ। विदेशमा हुने कार्यक्रमहरूमा यसको मूल्याङ्कन स्थानीय प्राविधिकहरूले समेत गर्ने गरेका छन्।
अकल्यान्डस्थित कार्यक्रमस्थलमै उपस्थित न्युजिल्यान्डको प्रोडक्सन कम्पनी ‘एभिएल ल्याब’मा आबद्ध ग्रान्ट सिभिलिचले नेपथ्यको प्रस्तुति निकै व्यावसायिक रहेको प्रतिक्रिया दिए।
'आवाजको नोटदेखि प्रकाश व्यवस्थापन र पृष्ठभूमिमा देखाइएका भिडियोसम्म सबैको संयोजनले सिंगो प्रस्तुतिलाई प्रभावशाली बनाएको थियो,' कन्सर्टपछि उनले भने, 'नेपथ्यसँग काम गर्दा निकै रमाइलो अनुभव भयो।'
कन्सर्ट हेर्न सपत्नी पुगेका न्युजिल्यान्डमै बसोबास गर्दै आएका बैंकर वेदेन्द्र अधिकारीका लागि यो दोस्रो नेपथ्य अनुभव थियो।
'गाउँदागाउँदै हामी दुवैको घाँटी सुक्यो, नाच्दानाच्दै खुट्टा गले,' २६ वर्षदेखि न्युजिल्यान्डमा बस्दै आएका उनले भने, 'नेपथ्य कन्सर्टको विशेषता भनेकै हरेकपटक अपेक्षाभन्दा बढी रमाइलो हुनु हो।'
कन्सर्टमा १३ र १६ वर्षका दुई छोराछोरी तथा श्रीमतीसहित आएका राज महर्जनले आफ्ना सन्तान पनि आफूजत्तिकै रमाएको बताए।
न्युजिल्यान्डस्थित निवर्तमान मानार्थ महावाणिज्यदूत दिनेश खड्काले पनि आफ्ना लागि यो कन्सर्ट जीवनकै महत्त्वपूर्ण अनुभव बन्न पुगेको बताए।
अकल्यान्ड कन्सर्टका लागि फ्लोर (उभिएर हेर्ने) टिकट केही दिन अगावै सकिएको थियो भने सीमित सिट मात्र अन्तिम क्षणका लागि बचेको थियो।
'नेपथ्यलाई यस रूपमा उतार्न हामीले महिनौँको तयारी गरेका थियौं,' स्थानीय आयोजक लाखे इभेन्ट्सका रोजन भट्टराईले भने, 'आफ्नो पहिलो नेपथ्य अनुभव भएकाले दर्शकका रूपमा पनि उत्तिकै आनन्द लिँदा मेहनतको फल पाएको अनुभूति भइरहेको छ।'
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
यसपटकको न्युजिल्यान्ड यात्रा अन्तर्गत आयोजित एकमात्र कन्सर्ट सम्पन्न गरेपछि नेपथ्य स्वदेश फर्कने तयारीमा लागेको छ। अब नेपथ्यले जुन १ मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुति दिने घोषणा गरिसकेको छ। उक्त कन्सर्टका लागि पनि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिदको व्यवस्था मिलाएको जनाएको छ।
नेपथ्यको वेबसाइटबाट दर्शकले आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
तस्बिरहरूः सिनेक्राफ्ट प्रोडकसन्/नेपालय


