'लाल्टिन बालेर' बोलको गीत सार्वजनिक भएको छ।
बसन्त थापा र देवी घर्ती मगरको स्वर रहेको यो गीतलाई कमल शिशिरले प्रस्तुत गरेका हुन्।
समसामयिक राजनीतिक विषय, कविता, मुक्तक र गजलमा कलम चलाउँदै आएका शिशिर ‘लाल्टिन बालेर’ मार्फत गीत लेखनमा पनि प्रवेश गरेका हुन्। गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा नन्दु परियारले संगीत भरेका छन्। दिनेश पराजुलीको समूहले निर्माण गरेको म्युजिक भिडिओमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन्।
भिडिओको छायांकन पनि दिनेश पराजुलीको समूहले गरेको हो भने सम्पादन सुजन कोइरालाले गरेका हुन्। भिडिओको कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीको हो।
गीतकार शिशिरका अनुसार गीतमार्फत गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने गुरूङ र मगर समुदायको जीवनशैलीलाई प्रस्तुत गरिएको छ। रोधीमार्फत जोडिने प्रेम सम्बन्ध र रैथाने लोकलयको संरक्षण गर्ने उद्देश्यले गीत तयार गरिएको उनले बताए।
‘जतिबेला ग्रामीण क्षेत्रमा विद्युतीकरण भएको थिएन, त्यतिबेला हामीले दैनिक जीवनमा अँध्यारो हटाउन लाल्टिन, टुकी, सल्लाको दियालो र राँको वा मसाल बालेर काम चलाउँथ्यौं। गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने गुरूङ र मगर समुदायमा दिनभरको मेलापात सकेपछि साँझ रोधी बस्ने चलन थियो। त्यही परिवेशलाई आधार बनाएर मैले गीत लेखेको हुँ,' गीतकार शिशिरले भने।
उनले गीतप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको पनि बताए। गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटका शिशिरले यसअघि गजल, कविता, मुक्तक लगायतका विधामा लेखन गर्दै आएका थिए। उनले राजनीतिक तथा समसामयिक विषयमा अखबार र अनलाइनमा लेख लेख्दै आएका थिए। गीत लेखन आफ्नो नयाँ प्रयास भएको उनले बताए।
भिडिओः