नयाँ लोकगीत 'यानीमाया' सार्वजनिक भएको छ। राम गगनको प्रस्तुति रहेको गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ।
भिडिओमा प्रकाश सपुत र लक्ष्मी पुन मगरको अभिनय देख्न सकिन्छ। गीतको शब्द तथा संगीत राम गगनको हो भने संगीत संयोजक एचबिएन किस्मत हुन्।
गीतले प्रेम, भावना र मौलिक सांस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेको छ। ग्रामीण परिवेशमा रहेर गीत तयार गरिएको छ।
गायक तथा सर्जक राम गगन ‘यानीमाया’ नेपाली मौलिक संगीतलाई नयाँ पुस्तामाझ अझ नजिक ल्याउने उद्देश्यले तयार पारिएको बताउँछन्।
लोक शैलीमा आधारित यो गीतले नेपाली संगीत क्षेत्रमा मौलिकता र आधुनिक प्रस्तुतिको संयोजन गर्ने प्रयास गरेको देखिन्छ।
गीतको भिडिओ सुनिल बिकको निर्देशनमा बनेको हो। रोशन विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन रहेको भिडिओमा प्रविन भट्टको सम्पादन छ।
केही दिनअघि युट्युबमा सार्वजनिक गीतले स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ।