सन् १९९२ मा स्थापना भएको चर्चित नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हार्ट तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ।
फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको 'मंगोलियन हार्ट युरोप मिनी टुर २०२६' अन्तर्गत ब्यान्डले युरोपका चार देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ। आठ सदस्यीय टोली यही सेप्टेम्बर २४ (असोज ८) मा नेपालबाट युरोप प्रस्थान गर्ने तयारीमा छ।
टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गिटारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापा मगर, बास गिटारिस्ट पवन कपाली, लिड गिटारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन र साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित छन्।
कार्यक्रम तालिकाअनुसार ब्यान्डले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा प्रस्तुति दिनेछ।
यो भ्रमणलाई ब्यान्डले सांगीतिक यात्रामा मात्र सीमित नराखी सामाजिक सेवासँग पनि जोडेको छ। रसुवा बाढीबाट प्रभावित परिवारको सहयोगका लागि भ्रमणबाट प्राप्त रकमको केही हिस्सा छुट्याउने निर्णय गरिएको गायक राजु लामाले बताएका छन्।
'हामी संगीत लिएर युरोप जाँदैछौं, तर हाम्रो यात्रा मनोरञ्जनमा मात्र सीमित छैन। रसुवालगायत विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो पनि जिम्मेवारी छ। त्यसैले यस यात्राबाट प्राप्त रकमको केही हिस्सा उहाँहरूको सहयोगका लागि प्रयोग गर्नेछौं,' लामाले भने।
ब्यान्ड म्यानेजर बोबी लामाले सामाजिक उद्देश्यसमेत जोडिएको यस यात्रामा युरोपमा रहेका नेपाली समुदाय तथा संगीतप्रेमीलाई सहभागी हुन आग्रह गरेका छन्।
'आउनुहोस्, भेटौं, गाऔं, नाचौं र मंगोलियन हार्टसँगै नेपाली संगीतको उत्सव मनाऔं। साथै, सकेको सहयोगमार्फत रसुवा बाढीपीडितको दुःखमा मल्हम लगाऔं,' उनले भने।